२८ माघ २०८२, बुधबार

चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड–२०८२ मा ‘खतम बनायो मलाई’ गीतबाट पवित्रा अर्याल सर्वोत्कृष्ट लोक दोहोरी भिडियो मोडल (महिला) घोषित

काठमाडौं । चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड–२०८२ मा ‘खतम बनायो मलाई’ गीतमार्फत उत्कृष्ट अभिनय प्रस्तुत गरेकी मोडल पवित्रा अर्याल सर्वोत्कृष्ट लोक दोहोरी भिडियो मोडल (महिला) को अवार्डबाट सम्मानित भएकी छन्।

नेपाली लोकदोहोरी क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी अर्यालले उक्त गीतमा प्रस्तुत गरेको भावपूर्ण अभिनय, अभिव्यक्ति र प्रस्तुतीकरणले दर्शक–स्रोताको मन जित्न सफल भएको भन्दै उनलाई यस वर्षको उत्कृष्ट महिला मोडलको रूपमा छनोट गरिएको आयोजकले जनाएको छ।

अवार्ड समारोहमा विभिन्न विधामा योगदान दिएका कलाकारहरूलाई सम्मान गरिएको थियो भने लोकदोहोरी क्षेत्रमा नयाँ ऊर्जा र उत्साह थप्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ। कार्यक्रममा सहभागी कलाकार तथा दर्शकहरूले पवित्रा अर्यालको सफलतालाई प्रशंसा गर्दै उनको आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए।

‘खतम बनायो मलाई’ गीतमार्फत प्राप्त यो उपलब्धिले पवित्रा अर्यालको मोडलिङ यात्रालाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ। उनले आगामी दिनमा पनि नेपाली लोकदोहोरी क्षेत्रमा अझ उत्कृष्ट काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।