१६ पुष २०८२, बुधबार

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको श्री कुम्भेश्वरी आधारभूत विद्यालयका १६५ जना विद्यार्थीलाई न्यानो ट्रयाक सुट वितरण

सिन्धुपाल्चोक। – बागमती प्रदेशका सांसद तथा पूर्व मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको श्री कुम्भेश्वरी आधारभूत विद्यालयका १६५ जना विद्यार्थीलाई न्यानो ट्रयाक सुट वितरण गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चार्ज महेन्द्र घोरासैनी, काभ्रेका विष्णु गौतम, बाराका विनोद प्रसाद गुप्ता तथा धर्मसागर ढकाल को सहयोगमा विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरिएको हो ।

एक विशेष कार्यक्रमबीच विद्यार्थीहरूलाई न्यानो कपडा हस्तान्तरण गर्दै पुर्व मन्त्री दुलालले दुर्गम क्षेत्रमा शिक्षा हासिल गरिरहेका बालबालिकाको आवश्यकता बुझेर यो सहयोग गरिएको बताउनु भयो । सांसद दुलालले भन्नुभयो “चिसोले गर्दा कुनै पनि बालबालिकाको पढाइ रोकिनु हुँदैन,यदि कसैलाई विद्यालय जान समस्या छ भने हामी अभिभावकको भूमिकामा साथ दिन तयार छौं।” उहाँले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन आग्रह गर्दै गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

दुलालले विगतमा आफू सामाजिक विकास मन्त्री हुँदा गाँउपालिकाकै नमुना विद्यालयका लागि जग्गा प्राप्तिदेखि पूर्वाधार निर्माण, बजेट व्यवस्थापन र विद्यालय बसको व्यवस्था गरिएको स्मरण गराउँदै शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन निरन्तर लागिरहने प्रतिबद्धता जनाउनु भयो ।

विद्यालय प्रशासनले यस सहयोगले विद्यार्थीको नियमित उपस्थिती र अध्ययनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा वडा अध्यक्ष काले गोले, अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।
जाडोको चिसोबीच न्यानो कपडासँगै आएको यो सहकार्यले गुन्साका बालबालिकामा खुशि थपेको छ ।
आवश्यकता अनुसार यस्ता सहयोगहरु नियमित गर्दे जाने नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चार्ज महेन्द्र घोरासैनीले बताउनु भएको छ ।