३ आश्विन २०८२, शुक्रबार

जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रिया मिलेमतो गरी  लाखाैंको भ्रष्टाचार गरिएको तथ्य सार्वजनिक

जाजरकोट :जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी  लाखाैंको भ्रष्टाचार गरिएको तथ्य बाहिरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा संलग्न नगरपालिकाका कर्मचारी र ठेकेदार कम्पनी विरुद्ध विशेष अदालत काठमाडौंमा ३६ लाख २० हजार ५७८ रुपैयाँ बराबरको बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगको अनुसन्धान अनुसार आ.व. २०८०/८१ मा वडा नं ६, ९ र १० को कार्यालय भवन ठेक्का प्रक्रियामा सार्वजनिक खरिद नियमवली विपरीत बोलपत्रदाता कम्पनीहरुलाई जानीजानी अनुत्तीर्ण गरी लक्षित ठेकेदार न्यू विके / नहकुली जेभी लाई ठेक्का दिलाइएको थियो । यसरी ठेक्का पाउँदा सरकार र नगरपालिकाको सम्पत्तिमा ठूलो हिनामिना भएको अख्तियारले ठहर गरेको छ ।

मुद्दामा प्रतिवादी बनाइएका व्यक्तिहरुमा भेरी नगरपालिकाका  निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाश कुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत, जिन्सी शाखा प्रमुख  कृति बहादुर थापा रहेका छन् । त्यस्तै ठेक्का पाउने  न्यू विके विल्डर्स ए्ण्ड सप्लार्यसकी गंगा कुमारी खड्का र नहकुली निर्माणा सेवाका चित्र बहादुर बोहरा समेत मुछिएका छन् ।

आयोगले प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद सजाय, जरिवाना र बिगो असुल उपर गर्न माग गरेको छ ।

स्थानीय सरकारकै तहमा ठेक्का प्रक्रियामा मिलेमतो, बदनियत र गैरकानूनी लाभ लिने खेल अझै रोकिएको छैन भन्ने तथ्य उजागर गरेको  छ ।

यस्ताे छ अख्तियारकाे विज्ञप्ती

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टङ्गाल, काठमाडौं

मिति: २०८२।०५।१२ गते ।

प्रेस विज्ञप्ति

विषय: आरोपपत्र दायर गरिएको ।

जिल्ला जाजरकोट, भेरी नगरपालिकाले आ.व. २०८०।०८१ मा ६,९ र १० को वडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानून विपरीतको कार्य गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.व. २०८०।८१ मा भेरी नगरपालिका, जाजरकोटको ६, ९ र १० नं वडाहरूको वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद नियमावली, २०६४ विपरित साइट भिजिट नगरेको भनी Ranjit Ranjan Construction Pvt. Ltd. लाई मूल्याङ्‍कनमा अनुत्तीर्ण गराई, साइट भिजिट नगरेको कारणले हुने जोखिम बोलपत्रदाताको आफ्नो जोखिम हो भन्ने कुराको जानकारी रहँदा रहँदै बद्‍नियतपूर्ण तवरले मूल्याङ्‍कन गरेको, इ-बिडिंगमा बोलपत्र जमानतको रूपमा स्क्यान गरेको कपी पेस गर्ने र पछि कार्यालयले सक्कल माग गरेर हेर्न सक्ने प्रावधान रहेको तथा फरक परेमा सम्बन्धित बैंकसँग सोधेर स्क्यान गरिएको प्रति वा पेस भएको प्रति कुन सही हो भनी यकिन गर्नुपर्नेमा सो नगरी बद्‍नियतपूर्वक Siddhi Bahan / Y.K.J.V. लाई मूल्याङ्‍कनमा अनुत्तीर्ण गरेको, एक वर्षभन्दा पहिले नै खारेज भैसकेको प्रावधान राखी बोलपत्र आह्वान गर्नु कानून विपरीत हुन गएको देखिएको र क्रेडिट लाइन पेश नभएको भन्ने आधारमा Saikumari Engineering Consultancy Pvt. Ltd. को बोलपत्रलाई सारभूत रूपमा प्रभावग्राही नरहेको भनी जानी जानी लक्षित बोलपत्रदातालाई ठेक्का दिने नियोजित उद्देश्यले प्रतिस्पर्धामा भाग लिएका सारभूत रुपमा प्रभावग्राही देखिएका बोलपत्रदाताको प्रस्ताव मिलेमतोमा मूल्याङ्‍कनमा अनुत्तीर्ण गरी बोलपत्रमा भाग लिने ४ वटा बोलपत्रदाताहरूमध्ये ३ वटा बोलपत्रदाताहरूलाई अनुत्तीर्ण गरी प्रतिस्पर्धा सीमित गरी लक्षित बोलपत्रदाताले ठेक्का पाउने कुरा जानी जानी कानूनी ग्राह्यता, पूर्णता र प्राविधिक मूल्याङ्‍कनमा एकमात्र बोलपत्रदाता सफल हुने गरी प्रतिस्पर्धालाई सीमित बनाई गैरकानूनी लाभ लिने बद्‍नियतले New BK/Nahakuli JV सँग ठेक्का सम्झौता गरे गराएको हुँदा New BK/Nahakuli JV र प्राविधिक मूल्याङ्‍कनमा साइट भिजिट नभएको भनी असफल बनाएको सबै भन्दा न्यून कबोल गर्ने बोलपत्रदाता Ranjit Ranjan Construction Pvt. Ltd. को कबोल अंकको अन्तर रु.३६,२०,५७८।१0 नेपाल सरकार र भेरी नगरपालिकाको सम्पत्ति हिनामिना, हानिनोक्सानी एवं दुरुपयोग गरी गैरकानूनी लाभ लिने बदनियतले उक्त कार्य गर्ने गराउने देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। देहाय सि.नं. नामथर, पद र कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी 1. भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाश कुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृति बहादुर थापा जनही रु. ३६,२०,५७८।१0 भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 17 बमोजिमको कसूरमा सोही ऐनको दफा 17 ले निर्देशन गरेबमोजिम बिगो कायम गरी सोही ऐनको दफा 3 को उपदफा (१) को देहाय (छ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित)को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन साथै निजहरुबाट बिगोसमेत सोही ऐनको दफा १७ बमोजिम असूल उपर हुन मागदाबी लिइएको छ। 2. New BK/Nahakuli JV तथा उक्त जे.भी.का साझेदारहरु New BK Builders and Suppliers का प्रोप्राइटर गंगा कुमारी खड्का र Nahakuli Nirman Sewa का प्रोप्राइटर चित्र बहादुर बोहरा रु.३६,२०,५७८।१0 भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 17 बमोजिमको गरेको कसूरजन्य कार्यको नगद तथा अन्य प्रकृतिको गैरकानूनी लाभ लिने मतियार भई सोही ऐनको दफा 22 बमोजिमको कसूर भएको हुँदा मुख्य कसूरदारहरुलाई बिगो कायम गरी सोही ऐनको दफा 17 ले निर्देश गरेबमोजिम सोही ऐनको दफा 3 को उपदफा (१) को देहाय (छ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी बिगोसमेत सोही ऐनको दफा १७ बमोजिम असूल उपर हुने सजायलाई आधार मानी सोही ऐनको दफा 22 को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसूरदारहरु सरह सजाय हुन मागदाबी लिइएको छ।

सहायक प्रवक्ता :गणेश बहादुर अधिकारी