जाजरकोट :जाजरकोटमा तीज विशेष कार्यक्रममा फाेटा खिचिरहेका पत्रकारमाथि प्रहरीले दमन गरेका छन ।
मंगलबार राति करिब १० बजे खलंगामा रहेकाे नेपाल बैंक अगाडि तीज विशेष नाचगान कार्यक्रम चलिरहेको थियो । सोही क्रममा पत्रकार बालकुमार शर्मा, शिक्षक कमल चन्द लगायत अन्य व्यक्तिहरू पनि कार्यक्रममा उपस्थित थिए ।
शर्मा सामाजिक सञ्जालमा लाइभ गर्दै तस्बिर र भिडियो खिचिरहेका बेला प्रहरी निरीक्षक सन्ताेष चन्द र अर्का प्रहरी कर्मचारीले उनलाई नजिकै बोलाई मोबाइलमा रहेका तस्बिर डिलिट गर्न धम्कीपूर्ण शैलीमा दबाब दिएको पत्रकार शर्माले बताए ।
“तपाईंले फोटो खिच्नु भएको छ भने डिलिट गर्नुपर्छ भन्ने निर्देशन दिइयो । सार्वजनिक स्थलमा खिचिएको फोटो के आधारमा मेटाउन लगाइयो भन्ने प्रश्न छ,” शर्मा आक्रोशित हुँदै भन्छन्, “पत्रकार आचारसंहिता र कानुनबारे मलाई प्रष्ट थाहा छ । तर रातिको समयमा प्रहरी प्रशासनले पत्रकारलाई मनोबल गिराउनेगरी गरेको यो निगरानी निन्दनीय छ ।”
उनका अनुसार सो समयमा जिल्ला प्रहरी कार्यालयका डिएसपी समेत स्थलमा उपस्थित थिए । “सेतो टोपी लगाएको मान्छेले फोटो खिचेको भनेर मलाई संकेत गर्दै प्रहरीहरूले थिचोमिचो गरे । यो द्वन्द्वकालीन शैलीको व्यवहार हो,” उनले भने ।
पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष समेत रहेका शर्मा भन्छन् “यो शैलीले जिल्लामा स्वतन्त्र पत्रकारिता गर्नै कठिन बन्दै गएको छ । यदि यस्तै दमनकारी व्यवहार दोहोरिरह्यो भने पत्रकारिता छोड्नु पर्ने अवस्था आउन सक्छ ।”
यस घटनाले जिल्लामा प्रहरी प्रशासनले प्रेस स्वतन्त्रतामाथि गरेको हस्तक्षेप र निगरानीप्रति गम्भीर प्रश्न उठाएको छ । स्थानीय पत्रकारहरूले पनि प्रहरीको यस्तो व्यवहारलाई निन्दा गर्दै तत्काल सुधार गर्न आग्रह गरेका छन् ।