१३ असार २०८२, शुक्रबार

भिटोफ-नेपालले रसुवामा रोपाइँ महोत्सव गर्ने

– माधव घिमिरे ‘अटल’

‘समुन्नत नेपालको प्राथमिक आधार,पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने नाराका साथ गाउँ पर्यटन प्रवर्धन मञ्च-नेपाल (भिटोफ-नेपाल)ले ग्रामीण भेगमा पर्यटकलाई आकर्षित गर्ने आफ्नो मूल उद्देश्य बमोजिम यही असार १५ गते रसुवाको जिबजिबेमा रोपाइँ महोत्सव-२०८२ आयोजना गर्ने बताएको छ ।

महोत्सवका संयोजक तथा भिटोफ-नेपालका द्वितीय उपाध्यक्ष मनहरि दाहालका अनुसार स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले गाउँ पर्यटन प्रवर्धन मञ्च-नेपाल र कालिका गाउँपालिकाले संयुक्त रूपमा सो महोत्सवको आयोजना गर्ने छन् । उता नेपाल पर्यटन बोर्डले चाहिँ सो कार्यक्रमको प्रायोजन र प्रवर्द्धन गर्ने छ । हरेक वर्षझैँ यस वर्ष पनि रोपाइँ महोत्सव आयोजना गर्न लागेको सहर्ष जानकारी गराउँदै संयोजक दाहालले सम्पूर्ण पर्यटन सम्बद्ध व्यक्तित्वहरूलाई सहभागी भई कार्यक्रम सफल पार्न आग्रह गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रसुवा जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ई.मोहन आचार्य रहने भिटोफ-नेपालकी अध्यक्ष सकुन्तला देवकोटा पाण्डेले अवगत गराइन् । अन्य अतिथिहरूमा पर्यटन सम्बद्ध विशिष्ट व्यक्तित्वहरू रहने पाण्डेको कथन थियो ।

भिटोफ-नेपालका महासचिव चोपेन्द्रबहादुर खड्काले रोपाइँ समारोहमा सरिक हुन चाहने सम्बद्ध सबैले चप्पल, साबुन/स्याम्पु, सानो गम्छा, भित्री कपडा, गन्जी/भेस्ट, टी-शर्ट, हाफ प्यान्ट, ब्याग कभर, फर्स्ट एड किट, फोन चार्जर, इयरपिस, क्यामरा र रेनकोट जस्ता अत्यावश्यक सामग्री आआफैँले व्यवस्था गर्न आग्रह गरे ।

यसैबीच यस वर्षको रोपाइँ महोत्सव रसुवामा अवस्थित कालिका गाउँपालिका–५, जिबजिबे, गैरीगाउँमा आयोजना हुने भिटोफ-नेपालका प्रथम उपाध्यक्ष हरिशरण थपलियाले जानकारी गराए ।