– सुशान्त न्यौपाने
सुशासन र शून्य बेरूजुमा आफूलाई अग्र पङ्क्तिमा उभ्याउन सफल धादिङको बेनीघाट रोराङ गाउँपालिकाले स्थानीय प्रज्ञाप्रतिष्ठान गठनको अभ्यास आरम्भ गरेको छ । त्यसैका निम्ति यही असार ६ गते स्थानीय साहित्यकार तथा लब्ध प्रतिष्ठित अन्य साहित्यकारहरूलाई आमन्त्रण गरी यस्तो अभ्यासको थालनी गरेको हो । उसले पारिजात संरक्षण अभियानलाई सशक्त बनाउनको निम्ति यसै वर्ष देशभरका प्रतिनिधि स्रष्टालाई आमन्त्रित गरी प्रचारप्रसार गर्ने निधो पनि गरेको छ ।
गापा अध्यक्ष कृष्णबहादुर थपलिया(विवेक)ले अध्यक्षता गरेको उक्त कार्यक्रममा उनले सभ्यता नै विकासको सूचक हुने हुनाले भौतिक पूर्वाधार विकाससँगै कला साहित्यको विकासमा पनि कला, साहित्य र संस्कृतिको उत्थानको कडीलाई यसैसँग जोड्ने प्रतिबद्धता दोहोर्याए । उनले चेपाङ, चिउरी र चमेरोको मानक बनेको यो भूगोललाई साहित्योत्थानको परिचायक बनाउने घोषणा गरे ।
नीलकण्ठ नपा प्रज्ञाप्रतिष्ठानका अध्यक्ष बद्री दाहाल, चर्चित साहित्यकार नवीनबन्धु पहाडी, वागमती प्रदेशको उत्कृष्ट प्रअ पुरस्कारबाट सम्मानित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेल, लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ लगायतले प्रज्ञाप्रतिष्ठानलाई कसरी कामयावी र सिर्जनशील बनाउन सकिन्छ भन्नेबारे आआफ्ना अभिमत अभिव्यक्त गरेका थिए ।
पालिकाका शिक्षा एकाइ प्रमुख बोधराज त्रिपाठीले सहजीकरण गरेको सो कार्यक्रममा चर्चित गायिका मधु रसाइली लगायतका गायकहरूले समारोहको माहोल तताएका थिए । कार्यक्रममा डा. नवीनबन्धु पहाडी, बद्री दाहाल, जगदीश्वर पोखरेल, नवीन पल्लव, सत्या अधिकारीलगायत तीन दर्जन स्रष्टाहरूले आआफ्ना सिर्जना वाचन गरे ।
उता त्यसैको छेक पारेर वागेश्वरी मा.वि., मलेखुले माध्यमिक तहको अन्तर-विद्यालय ‘ठाउँको ठाउँ कविता लेखन तथा वाचन प्रतियोगिता’ आयोजना गर्यो ।
लोमश वाङ्मय प्रतिष्ठान तथा जरा फाउन्डेसनले सहकार्य तथा प्रायोजन गरेको सो प्रतियोगितात्मक कार्यक्रममा छिमेकी सातवटा विद्यालयका डेढ दर्जन छात्रछात्राले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा आधा दर्जन अप्रतियोगी सिर्जना पनि वाचन गरिए । प्रतियोगी छात्रछात्रामध्ये सर्वोकृष्ट सिर्जनाका सर्जक राजीव भट्टलाई तीन हजार नगद पुरस्कार, प्रमाणपत्र सहित पुस्तकहरू, द्वितीय स्थान हासिल गर्ने अर्पण कँडेललाई नगद दुई हजार, प्रमाणपत्र सहित पुस्तकहरू तथा तृतीय हुने गीता चेपाङलाई नगद एक हजार रूपैयाँ, प्रमाणपत्र र पुस्तकहरू प्रदान गरिएको थियो । त्यसरी नै सम्पूर्ण सहभागीहरूलाई साहित्यका अमूल्य कृतिहरू अर्पण गरिएको थियो ।
कार्यक्रम प्रायोजक संस्थामध्येका एक लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ले यस्ता कार्यक्रमले विद्यालयीय छात्रछात्राको प्रतिभा प्रस्फुटन गर्न टेवा पुग्ने दाबी गरे । आफ्नो प्रतिष्ठान र जरा फाउन्डेसनले सहकार्य गरी आगामी दिनमा पनि थप उन्नत कार्यक्रम आयोजना गर्न सघाउने वाचा गरे ।
विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रमका अध्यक्ष वेदप्रसाद ढकालले आफूहरूले यो अवसर पाएकोमा लोमश र जरालाई धन्यवाद ज्ञापन गर्दै भावी दिनमा अझ बढि विद्यालयलाई समेट्ने र कार्यक्रमको दायरा थप फराकिलो बनाउने प्रतिबद्धता जाहेर गरे ।