१० असार २०८२, मंगलवार

प्रा. डा. दयाराम श्रेष्ठलाई लीलाध्वज थापा साहित्य सम्मान प्रदान गरिने

जयराम बिडारी

नेपाली उपन्यासमा सर्वप्रथम मदनपुरस्कार प्राप्त गर्नुभएका यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापना भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा यस वर्ष प्रदान गरिने ‘ लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार ‘ नेपाली भाषामा वि. सं. २०३० सालदेखि नै प्राध्यापन, अनुसन्धान तथा नेपाली भाषाको उन्नयन र विकासमा विभिन्न ओहदामा रहेर उल्लेखनीय सेवा गर्दै आउनुभएका प्रा . डा . दयाराम श्रेष्ठज्यूलाई प्रदान गरिने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा जानकारी गराइएको छ ।

धनकुटा जिल्लाको सिरान बजार हाल बल्खु काठमाडौमा बस्नुहुने श्री दयाराम श्रेष्ठज्यूले २०२७ सालमा त्रि. वि. वि.बाट नेपालीमा एम.ए. गर्नुभइ २०३९ मा त्रि. वि.वि.बाटै विद्यावारिधि गर्नुभइ प्राध्यापक, अतिथि प्राध्यापक हुँदै विभिन्न समिति ,आयोगमा रहनुभइ विभिन्न अनुसन्धान कार्यमा समेत संलग्न रहेर नेपाली शिक्षा र भाषाको विकासमा उल्लेखनीय योगदान पुराउनुभएको छ । उहाँले ‘ क ‘ श्रेणीको महेन्द्र विद्याभूषण, मदन पुरस्कार लगाएत ४४ भन्दा बढी सम्मान पुरस्कार प्राप्त गर्नुका साथै २६ जना शोधकर्तालाई निर्देशन गरी विद्यावारिधि गराइसक्नुभएको छ ।

उहाँको १३ पुस्तक, ९ सम्पादन र १ सहलेखनमा कृतिप्रकाशन भएका छन् । यस प्रकारले नेपाली भाषा साहित्यको क्षेत्रको श्रीवृद्धिमा यथेष्ट योगदान पुर्याएकोले सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी गराइएको छ । उक्त सम्मान तथा रु. पच्चीस हजार राशीको पुरस्कार यही २०८२ आषाढ २१ गते एक समारोहको आयोजना गरी प्रदान गरिने जानकारी गराइएको छ ।

प्रतिष्ठानबाट हरेक वर्ष प्रदान गरिने लीलाध्वज थापा साहित्य सम्मान पुरस्कार यसभन्दा पहिले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, प्रा डा वासुदेव त्रिपाठी, प्रा डा तारानाथ शर्मा ,वरिष्ठ कवि तुलसी दिवस, प्रा गोपीकृष्ण शर्मा, परिष्ठ इतिहासविद् श्री ज्ञानमणि नेपाल र श्री गीता केशरीलाई प्रदान गरिएकोसमेत अध्यक्ष थापाद्वारा जानकारी गराइएको छ ।