२४ जेष्ठ २०८२, शनिबार

सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृत्यु, २ घाइते

काठमाडौं । सर्लाहीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा दुवै जना चालकको मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार दुई जना घाइते भएका छन्।

 

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार मंगलबार ४ बजे बागमती नगरपालिका-४ जिरायत बजार स्थित भित्री सडक खण्डमा पुतली चोकबाट सोल्टी बजार तर्फ जाँदै गरेको प्र.३-०२-००६प ७८६८ र विपरीत दिशाबाट आउँदै गरेको बा५६प ५२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।

 

दुर्घटनामा बा५६प ५२६ नम्बरको मोटरसाइकल चालक रौतहटको बिसुनपुर्वा गाउँपालिकाका ३३ वर्षीय नागेन्द्र साह सोनार र प्र.३-०२-००६प ७८६८ नम्बरको मोटरसाइकल चालक काठमाडौं महानगरपालिका -२३ बसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धरको मृत्यु भएको छ ।

 

दुवै जनालाई उपचारका लागि चन्द्रनिगाहपुरअस्पताल लगिएको भए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।

 

यस्तै प्र.३-०२-००६प ७८६८ मा पछाडि सवार भारत बिहार राज्य बकुलिया बस्ने ३४ की मुनीदेवी साह र रौतहट बिसुनपुर्वा गाउँपालिका -४ का ३२ की चञ्चल देवी साह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनालाई थप उपचारका लागि वीरगञ्ज लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।