उत्तरकाशी, भारत – नयाँ वर्षको अवसर पारेर आफन्त भेट्न भारतको उत्तरकाशी पुगेकी एक नेपाली महिला खोलामा परेकी छन्। तर घटनापछि २४ घण्टाभन्दा बढी समय बितिसक्दा पनि कुनै औपचारिक खोजी कार्य सुरु नभएको भन्दै परिवार र आफन्तहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
बेपत्ता भएकी महिला जाजरकोट जिल्ला, कुसे गाउँपालिका–२ टालेगाउँ लाम्पाटकी ३५ वर्षीया बिन्दा शाही हुन्। हाल काठमाडौंमा बस्दै आएकी शाही नयाँ वर्ष मनाउन आफ्नी छोरीसहित उत्तरकाशी गएकी थिइन्, जहाँ उनीहरूका केही आफन्तहरू र अन्य नेपालीहरू पनि बसोबास गर्छन्।
परिवारका अनुसार, बिहीबार दिउँसो करिब ३ बजे बिन्दा शाही एक स्थानीय खोलामा अचानक परेकी थिइन्। उक्त घटना भिडियोमा पनि कैद भएको छ, तर यति ठूला प्रमाण हुँदाहुँदै पनि हालसम्म खोजी कार्य थालिएको छैन।
बिन्दा शाही विवाहित हुन्। उनका श्रीमान् पूर्ण बहादुर शाहीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै खोजी कार्यमा ढिलाइ हुनु अत्यन्तै लज्जास्पद भएको बताए। उनका अनुसार, घटनास्थल नजिकै अन्य नेपालीहरू पनि बसोबास गर्छन्, जसले तत्काल जानकारी दिए पनि प्रशासनबाट चासो नदिइएको गुनासो गरेका छन्।
पीडित परिवारले नेपाल सरकार तथा सम्बन्धित निकायसँग छिटो भन्दा छिटो पहल गर्न र खोजी कार्य अगाडि बढाउन माग गरेका छन् |