६ बैशाख २०८२, शनिबार

विविध कार्यक्रमका साथ साहित्य दिवस सम्पन्न

– माधव घिमिरे ‘अटल’

काठमाडौं । साहित्य सम्वर्द्वन केन्द्र नेपालको आयोजनामा साहित्य दिवस भव्य समारोहबीच मनाइएको छ । स्थानीय भानु मा.वि.को प्राङ्गणबाट सुरू भएको प्रभातफेरीमा अभिनव साहित्य समाज, मनोहरा साहित्य समाज, लोमश वाङ्मय प्रतिष्ठान, सुरभि साहित्य प्रतिष्ठान, अनुपम साहित्य प्रतिष्ठान, कर्मदा सिर्जना मञ्च, आनन्द आश्रम ज्ञान केन्द्र, हाम्रो लघुकथा केन्द्र, मुक्तिनाथ दर्शन साहित्य समाज, कथा यात्रा काठमाडौँ, नव प्रज्ञापन साहित्यिक पत्रिका लगायत डेढ दर्जन साहित्यिक सङ्घ, संस्थाको सहभागिता रहेको थियो । उक्त प्रभातफेरी टुँडिखेल परिक्रमा गरेर नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राङ्गणमा समापन भएको थियो । त्यहाँ आयोजित सङ्क्षिप्त कार्यक्रममा सहभागी सङ्घ, संस्थालाई प्रमाण-पत्र अर्पण थियो ।

सो कार्यक्रमका प्रमुख अभ्यागत पूर्व जापानी राजदूत तथा विद्वत व्यक्तित्व डा.विष्णुहरि नेपालले जनताको समृद्धिका निम्ति जीवन समर्पण गर्ने तमाम कलमजीवी लगायत सम्मानित व्यक्तित्वहरूप्रति आभार प्रकट गरे । उनले नयाँ वर्षलाई राज्यले साहित्य दिवस घोषणा गरोस् भन्ने जोडदार माग गरे । संस्कृतका विभिन्न हरफहरू उच्चारण गर्दै उनले उपस्थित सम्पूर्ण स्रष्टा र साहित्यानुरागीहरूको त्याग, निष्ठा र समर्पणको मुक्तकण्ठले सराहना गरे ।

कार्यक्रममा प्रा.डा. विद्यानाथ कोइरालाको ‘ऋग्वेद’, डा. धनपति कोइरालाको ‘अतृप्ति’, सुधा शर्माको ‘नेपाली निबन्धमा दर्शन’, नारायण कैलाश सिग्देलको ‘देश डुल्ने पाइला’, नवराज रिजालको ‘लौ भन्नोस् त’, आर्या घिमिरेको ‘आफ्नै देश राम्रो’ शीर्षकीय कृतिहरूको लोकार्पण गरियो ।

त्यसरी नै उक्त कार्यक्रमको अर्को चरणमा विभिन्न मूर्धन्य साहित्यकारहरूलाई सम्मान अर्पण गरिएको थियो । यसै सिलसिलामा हरिहर शास्त्री सावित्रीदेवी साहित्य पुरस्कार ध्रुवचन्द्र गौतमलाई रू ६०,०००/- नगद सहित सम्मान-पत्र, प्रा.डा.सीताराम अधिकारीलाई वसन्त-राधा पद्यकाव्य पुरस्कार नगद रु ५०,०००/- सहितसम्मान-पत्र, हेमकुमारी-दिवाकर समाज सेवा सम्मान निसहाय सेवा सदनका प्रेमप्रसाद उप्रेतीलाई रू २५,५००/- नगद सहित सम्मान-पत्र, साहित्य सम्वर्द्वन द्रष्टा सम्मान लक्ष्मणप्रसाद गौतमलाई ११,०००/- नगद सहित सम्मान-पत्र अर्पण गरिएको छ ।

त्यसैगरी विश्वज्योति सेवा सम्मान, रत्न परियारलाई नगद रू ४०,०००/- सहित सम्मान-पत्र, शारदादेवी सिर्जना पुरस्कार जलेश्वरी श्रेष्ठलाई नगद रू २१०००/- सहित सम्मान-पत्र, जम्बकुमारी-टीकावल्लभ साहित्य सम्मान सागरमणि थापालाई नगद रू १५०००/- सहित सम्मान पत्र, गुरु रामप्रसाद श्रेष्ठ साहित्य सम्मान पूर्व प्रअ गीता शिवाकोटी खरेललाई नगद रू १५०००/- सम्मान पत्र पनि प्रदान गरिएको छ ।

त्यसरी नै निर्मला-प्रेम बालसाहित्य सम्मान प्रा.डा. ध्रुब घिमिरेलाई नगद रू १५०००/- सहित सम्मान-पत्र, पुण्य तिलस्मी सरह दर्शन साहित्य सम्मान नगद रु १५०००/- तथा सम्मान-पत्र सहित विज्ञान दीक्षितलाई अर्पण गरिएको छ। ठिक त्यसैगरी नन्द आनन्द टुल्की साहित्य सम्मान नगद रु १५०००/- तथा सम्मान-पत्र सहित नवराज रिजाललाई, आमोई पद्याख्यान पुरस्कार नगद रू २५,०००/- र सम्मान-पत्र सहित नारायण पोखरेललाई, अभिजित-पृथा सङ्गीत कला सम्मान कान्छाकुमार कर्माचार्यलाई नगद रू २१०००/- सहित सम्मानपत्र, सुहंसा अनुवाद साहित्य सम्मान रामबहादुर पहाडीलाई नगद रू ५१०००/- तथा तिलकुमारी साहित्य पुरस्कार घनश्याम राजकर्णिकारलाई नगद रू १५०००/- र,सम्मान-पत्र सहित अर्पण गरिएको छ ।

कार्यक्रमलाई छोट्याउने सिलसिलामा सबैका कृतिहरूको सङ्क्षिप्त चिरफार गरिएको सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलले गरेका थिए भने सहजीकरण पूर्व शिक्षक तथा स्रष्टा मधुसूदन लामीछानेले गरेका थिए ।