काठमाडौं। काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले १२ दिनको म्याद दिएको छ।
शुक्रबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न म्याद थप गरेको हो।
प्रसाईं र खड्कालाई शुक्रबार बिहान काकडभिट्टाबाट नियन्त्रणमा लिएर प्रहरीले काठमाडौं ल्याएको थियो।
शुक्रबार नै उनलाई अदालत उपस्थित गराइएको हो
चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन प्रसाईंकै नेतृत्वमा भएको थियो।
प्रदर्शनमा दुई जना मारिएका थिए। दर्जन बढी भवन र सवारी साधनमा तोडफोड र आगजनी भएको थियो।
प्रसाईं सोही दिनदेखि फरार थिए। उनले सामाजिक सञ्जालबाट भिडिओ सार्वजनिक गर्दै आफू काठमाडौंमै रहेको बताउँदै आएका थिए।
सोही घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरामामाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान गरिरहेको छ।