३ चैत्र २०८१, आईतवार

केदारनाथ श्रेष्ठ र लिलादेवी श्रेष्ठको “ प्रेम,समर्पण र त्याग” समेटिएको पुस्तकको दोश्रो संस्करण बिमोचन

काठमाडौं । राष्ट्रको लागि लामो समय शैक्षिक क्षेत्रमा योगदान पुर्याउनु भएका समाजसेवी तथा सर्जक केदारनाथ श्रेष्ठ र साहित्यकार एवं समाजसेवी लिलादेवी श्रेष्ठको ६० औं बैबाहिक बर्षगाँठ(हिरक महोत्सव)को अवसरमा सुचक प्रकाशनको संयोजकत्वमा भएको एक बृहत कार्यक्रम बिच एघारवटा संस्थाको तर्फबाट “शिखर अभिनन्दन” गरिएको छ ।
गुन्जन(नारी साहित्य संस्था),शब्दयात्रा प्रकाशन,दियो पाउण्डेशन,नारी साहित्य प्रतिष्ठान,लोमश वाङ्मय प्रतिष्ठान,सलान फाउण्डेशन नेपाल,क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार कोष,विश्व साहित्य प्रकाशन संघ,माईण्ड प्लस,श्रष्टा पदयात्रा नेपालले संयुक्त रुपमा श्रेष्ठ दम्पतीलाई “ शिखर अभिनन्दन ” गरेको हो ।
श्रेष्ठ दम्पितीको ६० औं बैवाहिक बर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा श्रेष्ठ दम्पतीकै जीवनीमा आधारित बुलु मुकारुङले लेख्नु भएको “ प्रेम, समर्पण र त्याग ” पुस्तकको दोश्रो संस्करणको लोकार्पण समेत गरिएको थियो ।
“ शिखर अभिनन्दन ” कार्यक्रममा सहभागि ११ वटै संस्थाका अध्यक्ष,प्रमुख वा प्रतिनिधिहरुले संयुक्तरुपमा पुस्तक बिमोचन गर्नु भएको थियो ।
“ शिखर अभिनन्दन ”,पुस्तक विमोचन तथा श्रेष्ठ दम्पतीको ६० औं बैवाहिक बर्षगाँठको बिषयमा प्रा. डा. गोविन्द सिंह कार्की,बुलु मुकारुङ र दिलिप श्रेष्ठले आफ्ना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा उपस्थित सबैले श्रेष्ठ दम्पती लाई खादा माला लगाएर तथा दोसल्ला ओढाएर हार्दिक बधाई तथा शुभकामना दिनु भएको थियो भने मिडियाकर्मी,साहित्यकार तथा सर्जकहरु एवं संस्थागत सहकार्य गर्ने संस्थाका अध्यक्ष तथा प्रतिनिधिहलाई श्रेष्ठ दम्पतीले खादा लगाएर सम्मान प्रदान गर्नु भएको थियो ।
कार्यक्रम सुचक प्रकाशनका अध्यक्ष दिपक भेटवाल (दिपसागर) संचालन तथा संयोजन गर्नु भएको थियो ।
श्रेष्ठ दम्पतीकै जीवनीमा आधारित बुलु मुकारुङले लेख्नु भएको “ प्रेम, समर्पण र त्याग ” पुस्तकको दोश्रो संस्करण सुचक प्रकाशनले प्रकाशन गरेको हो ।
कार्यक्रम संचालनका क्रममा सुचक प्रकाशनका अध्यक्ष दिपक भेटवाल (दिपसागर)ले यस्तो जिउँदो ईतिहास बोकेको व्यक्तित्वको पुस्तक प्रकाशन गर्ने अवसर पाउनु आफ्नो भाग्यको कुरा भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै समाजसेवी तथा सर्जक केदारनाथ श्रेष्ठले आफु तिन पटक सम्म मृत्युको मुखमा पुगेर फर्केको अवगत गराउँदै हरेक पटक नयाँ जीवन दिन श्रीमतिकै महत्वपुर्ण योगदान रहेको भन्दै भावुक हुनु भयो ।
केहि बर्ष अगाडी केदारनाथ श्रेष्ठको मिर्गौलाले काम गर्न छाडेपछि आफ्नै श्रीमतीले मिर्गौला दान गरेर बाँच्नु भएको हो ।
कार्यक्रममा आफुहरुलाई हौसला दिन आउनु भएका सबैलाई श्रेष्ठ दम्पतीले हार्दिक आभार समेत प्रकट गर्नु भएको छ ।