२ चैत्र २०८१, शनिबार

रुस–युक्रेन युद्धमा मारिएका पूर्ववडाध्यक्षको किरिया गर्दै वृद्ध बुवा

काठमाडौँ । रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका तिर्खबहादुर बुढाथोकी (तिलक)को रुस र युक्रेनबिचको युद्धमा मृत्यु भएपछि ७२ वर्षीय बुवा देवीलालले काजकिरिया सुरु गरेका छन् । रुसी सेनामा २०८० सालमा भर्ती भएका बुढाथोकी यही फागुन १३ गतेदेखि नै घरपरिवारको सम्पर्कमा थिएनन् । फागुन २४ गते उनको मृत्यु भएको पुष्टि भएको थियो ।

 

मृतकका दाइ खगेन्द्र बुढाथोकीले रातोपाटीसँग भने, ‘मृत्यु भएको पुष्टि भएपछि हिजोदेखि बुवा किरिया बस्नु भएको छ,। हामी दाइ भाइ बस्न नमिल्ने रहेछ ।’ हिन्दु परम्पराअनुसार उनका बुवा १३ दिन करिया बस्ने छन् ।

 

उनको मृत्यु भएको यकिन मितिसमेत थाहा नभएको दाइ खगेन्द्रले बताए ।

 

यता, पूर्व वडाध्यक्षसमेत रहेका बुढाथोकीको मृत्युको खबरले गाउँ नै शोकमा डुबेको छ । सामाजिक सञ्जालमा धेरैले दुःख व्यक्त गरेका छन् । सुनछहरी गाउँपालिका–५ वडाध्यक्ष देवीलाल रोका मगरले मृत्यु खबरले सबैलाई दुखित तुल्याएको बताए । उनले भने, ‘उहाँ स्थानीय नेता पनि हो, त्यसमाथि युवा । विदेशका यसरी मृत्यु भएको घटनाले सबैलाई दुःखी बनाएको छ ।

 

तिर्खबहादुर २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार बने पनि पराजित भएका थिए ।