२ चैत्र २०८१, शनिबार

६ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अवरुद्ध

काठमाडौँ । काठमाडौं उपत्यकाका ६ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया अवरुद्ध बनेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार नेपाल ल, पद्यमकन्या, शंकरदेव, सरस्वती, विश्वभाषा र आयुर्वेद क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो ।

 

त्रिभुवन विश्वविद्यालय अर्न्तगतका आंगिक, सामुदायिक र निजी क्याम्पसमा मंगलबार निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम थियो ।

 

काठमाडौं उपत्यका २२ क्याम्पस मध्ये ६ वटामा उम्मेदवारी दर्ताका प्रक्रिया अघि बढ्न नसकेको समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए । मतदाता संख्यामा विवाद देखिएकाले प्रक्रिया अवरुद्ध बनेको क्याम्पसहरुले जनाएका छन् । अन्य क्याम्पसमा भने उम्मेदवारी मनोनयन भइरहेको छ ।

 

चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकिएको छ । यसअघि २०७९ मा पनि सबै क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । निर्वाचनमा भाग लिन केन्द्रीय निर्वाचन समितिमा २५ विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराएका छन् । देशभरका अधिकांश क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।