काठमाडौँ । काठमाडौँमा सुरु भएको पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन— २०८१मा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल र नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा महासंघको तर्फबाट अध्यक्ष ठुलोबाबु श्रेष्ठले गरेका छन् ।
सम्मेलनका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र महासंघ बिच निजि, समुदाय साझेदारीमा ग्रील तथा स्टील फेब्रिकेटर्स क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरूलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्रमा हस्ताक्षर समेत सम्पन्न भएको हो । यसले रोजगारी र श्रमिकहरूको अभिवृद्धिका लागि सरकार र नेपालको निजी क्षेत्र समन्वयात्मक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।
यसलाई सरकारको हरेक कदममा निजी क्षेत्रलाई समेत सहभागी गराई अघि बढ्ने संकल्पको रूपमा महासंघले लिएको जनाएको छ । सम्मेलनमा अध्यक्ष श्रेष्ठले ग्रील तथा स्टील उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझावहरू समेत दिएका छन् ।
अध्यक्ष श्रेष्ठले नेपालमा रोजगारीको स्थिति, विदेशमा बसाइसराइ, विदेशमा बढ्दो बसाइ सराइले पारेका प्रभावहरू, नेपाली विद्यार्थीहरूले अन्य मुलुकहरूमा जानका लागि गरिरहेको प्रयास र त्यसबाट देशमा परेको प्रभाव, रोजगारीका चुनौतीहरू, नेपालको ग्रील तथा स्टील क्षेत्रले राजश्व मार्फत देशको अर्थतन्त्रमा दिएको योगदान, ग्रील तथा स्टील क्षेत्रले दिने रोजगारीमा देखिएका चुनौतीहरू, नीतिगत सिफारिस र तत्कालै गर्नु पर्ने पहलहरूका विषयमा तथ्याङ्कगत आधारहरु दिएका थिए ।
उक्त सम्मेलनमा महासंघको तर्फबाट उपाध्यक्ष रुपेन्द्र बानियाँ , महासचिव बिवेकदास श्रेष्ठको उपस्थिति रहेको थियो ।