७ माघ २०८१, सोमबार

बढ्दो खराब कर्जाले बैंकिङ क्षेत्रमै दबाब

काठमाडौं । पुस मसान्त नजिकिँदै गर्दा नै बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा वृद्धि भएर धेरैको पाँच प्रतिशतमाथि पुग्ने प्रक्षेपण बैंकरहरूले गर्दै आएका थिए। सोमबारसम्म अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।   यसले पनि यो क्षेत्रमा खराब कर्जा बढ्ने क्रममा वृद्धि नै भइरहेको देखाएको छ। गत आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्ममा ४५ बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा औसत ४.७२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यस्तो अनुपात बढेर ७.०७ प्रतिशत पुगेको छ।   दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा औसत ३.२७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष २०८१–८२ मा औसत ४.३३ प्रतिशत पुगेको छ।   १६ मध्ये वित्तीय विवरण प्रकाशित गरेका १२ विकास बैंकहरूको औसत खराब कर्जा ५.६ प्रतिशतबाट बढेर अहिले ८.५२ प्रतिशत पुगेको छ। त्यस्तै, वित्त कम्पनीहरूको औसत खराब कर्जा ६.१५ प्रतिशत रहेकोमा बढेर ९.७७ प्रतिशत पुगेको छ। बढ्दो खराब कर्जाले बैंकहरूको नाफा नै घट्ने अवस्था समेत देखियो। बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो हिस्सा राख्ने वाणिज्य बैंकहरूको नाफा औसतमा ४.६६ प्रतिशतले घटेर २७ अर्ब ३६ करोडमा सीमित भएको छ।     धेरै वित्त कम्पनीहरूमा पनि सुधार देखिन सकेको छैन। समग्र विकास बैंकहरूको नाफा भने २१ प्रतिशतले बढेर दुई अर्ब ६२ करोड रूपैयाँ पुगेको छ। खराब कर्जा बढ्ने र संस्थागत सुशासनमा समस्या समेत देखिएको कारण हालै मात्र राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त नै घोषणा गरेर व्यवस्थापन सम्हाल्यो। केही वित्त कम्पनीहरूमा निगरानी समेत बढाएको छ। तर, बाहिर जस्तो भाष्य निर्माण भएको छ त्यही अनुसार वित्त कम्पनीहरूमा समस्या नरहेको नेपाल वित्तीय संस्था संघका अध्यक्ष तथा आइसिएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त बताउँछन्।     ‘अहिले समग्र बैंकिङ प्रणाली नै खराब कर्जाको कारण दबाबमा छ,’ पन्तले भने, ‘वित्त कम्पनीहरू जसमा समस्या देखिए तिनमा संस्थागत सुशासन नभएको भन्ने कुरा पनि आएको छ, त्यसैले खराब कर्जाकै कारण संस्थाहरू समस्याग्रस्त भइरहेका भने होइनन्।’ अर्थतन्त्रमा सुधार नदेखिँदा र कर्जा असुली हुन नसक्दा बैंकहरूमा खराब कर्जा बढिरहेको हो। त्यसबाहेक खराब कर्जामा परेका मुद्दा मामिलाका कारण ती गैर बैंकिङ सम्पत्तिमा आएका छैनन्। यसले गर्दा यस्ता सम्पत्ति बिक्री गर्न पाइएको छैन। धितो बिक्री गरेर उठाउन नसकिएकोले पनि खराब कर्जा बढिरहेको पन्तले बताए।