२ माघ २०८१, बुधबार

भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेन

 

काठमाडौं । सडक निर्माणको माग गर्दै स्थानीयले पटकपटक आन्दोलन गरे। सरकारले पटकपटक म्याद थप गरेर सहजीकरण गरे पनि काम हुने अवस्था नदेखिएपछि अन्ततः सरकारले भक्तपुर—नगरकोट—सिपाघाट सडकको ठेक्का सम्झौता रद्द गरेको छ।

भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेन।

पटकपटक म्याद थप गर्ने तर ठेकेदारबाट बारम्बार सम्झौता उल्लङ्घन हुन थालेपछि उक्त सडक स्तरोन्नति परियोजनाका लागि विकास परियोजना निर्देशनालयसँगको संयुक्त सम्झौता सरकारले रद्द गरेको हो।

निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्न यसअघि पनि पटकपटक सूचना जारी गरेको थियो। त्यसताका अन्तिममा म्याद थप हुने गरेको थियो।

सरकारले अन्तिम पटक मङ्सिर मसान्तसम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी १० औं पटक म्याद थप गरे पनि कम्पनीले सोअनुसार कुनै प्रगति गरेन। गत साता निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्नु नपर्ने कारणसहित सातदिने स्पष्टीकरण माग गरेको थियो।

निर्देशनालयका भक्तपुर नगरकोट सडक निर्माण आयोजना प्रमुख मेघराज मरासिनीले गत बुधबार सरकारका तर्फबाट ठेक्का सम्झौता रद्द गरेको जानकारी दिए।

‘भक्तपुर नगरकोट सडकको ठेक्का सम्झौता रद्द भएको छ। अब निर्माण कम्पनीले सम्झौताअनुसारको गर्नुपर्ने काम कति बाँकी छ त्यसको अनुगमन एवं मूल्याङ्कन हुनेछ। त्यसपछि निर्माण कम्पनीसँग सोही मूल्याङ्कनको आधारमा जरिवाना लगाउने र सडकको बाँकी काम कसरी गर्ने भन्नेबारेमा छलफल गरेर अगाडि बढ्छ,’ उनले भने।

एक्जिम बैङ्क इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग विसं २०७३ असार ३ गतेसम्म सम्पन्न गर्नेगरी २०७१ जेठ २२ गते सैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्नेगरी रु २७ करोडमा ठेक्का सम्झौता भएको थियो। सडकको लागत बढेर भ्याटसहित रु ३१ करोड पुर्‍याउँदा पनि निर्माण कम्पनीले विभिन्न बहाना गर्दै सडक निर्माण सम्पन्न गरेको थिएन।

 

सडक छिटो सम्पन्न गर्न माग गर्दै चाँगुनाराण नगरपालिका, नगरकोटका होटल एवं पर्यटन व्यवसायी, स्थानीयवासीलगायतले पटकपटक विरोध गर्दै आएका थिए। यता निर्माण कम्पनी एससिसिपिएल र यसको भारतीय साझेदार एआइपिएलले बिहीबार विज्ञप्ति जारी गर्दै भक्तपुर–नगरकोट–सिपाघाट सडक स्तरोन्नति परियोजनाका लागि विकास परियोजना निर्देशनालयसँगको संयुक्त उद्यम सम्झौता रद्द गरेको जनाएको छ।

कम्पनीले निर्देशनालयले गरेको बारम्बारका गल्तीहरू समाधान गर्न असफल भएको र गत विसं २०८० असोज ९ गते प्रमाणित गरिएको आइपिसी–१४ भुक्तानी अहिलेसम्म नदिइएकाले परियोजनाको वित्तीय अवस्थामा गम्भीर असर पर्न गएकाले रद्द गर्नु परेको जनाएको छ।

सडक निर्माणको ठेक्का सम्झौता रद्द भएपछि यहाँका सरोकारवाला भने खुसी भएका छन्। चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले सैलुङ कन्स्ट्रक्सनले ११ वर्ष लाग्दासमेत सडक निर्माण सम्पन्न नगरेर स्थानीयवासीलाई दुःख दिएकामा अब त्यसबाट मुक्ति पाइने आशा व्यक्त गरे। उनले यहाँका पर्यटन व्यवसायीलाई दुःख दिएको अवस्थामा ठेक्का सम्झौता रद्द भएसँगै अब थप काम गर्न बाटो खुलेको बताए।

नगरपालिकाले विसं २०८२ वैशाखदेखि चैतसम्म एकवर्षे नगरकोट महोत्सव–२०८२ को आयोजना गर्ने घोषणा गरेर सडक निर्माण छिटो सम्पन्न गर्न पटकपटक दबाब, विरोध एवं आन्दोलन गर्दा पनि बेवास्ता भएपछि महोत्सव नै सङ्कटमा पर्ने डर अब हटेको बताए।

उनले नगरकोट महोत्सवलाई दृष्टिगत गर्दै सरकारले सडकको स्तरोन्नति छिटो गर्नुपर्ने बताए।

‘चाँगुनारायण नगरपालिकाले आयोजना गर्ने नगरकोट महोत्सव सिङ्गो देशको महोत्सव हो, यहीँ सडकका कारणले महोत्सवमा समस्या आउने त्रास थियो। अब सरकारले महोत्सव अगाडि नै छिटोभन्दा छिटो सडक स्तरोन्नति गर्नुपर्छ, त्यसका लागि मन्त्रालयसँग पनि समन्वय र छलफलमा बस्छौँ,’ उनले भने।

उनले सरकारले पनि उक्त सडक निर्माणमा ढिलाइ गरे चाँगुनारायण नगरपालिका आफैँले बहुवर्षीय आयोजनाअन्तर्गत स्तरोन्नति गर्ने बताए।

चाँगुनारायण नगरपालिका–६ का अध्यक्ष धनबहादुर लामाले सडक सम्झौता रद्द हुँदा खुसी हुनुपर्ने बेला आएको भन्दै नगरकोट महोत्सवलाई सफल पार्न सरकारले सडक स्तरोन्नतिमा चासो दिनुपर्ने बताए।