२८ पुष २०८१, आईतवार

नेपालकाे उत्तरी भाग चिन सिमाक्षेत्रमा ७.१म्याग्निच्युडकाे भुकम्प ९ जना चिनिया नागरिकको मृत्यु थप विवरण आउन बाकि

काठमाडौं :नेपाल–चीन सीमा क्षेत्रमा आज  बिहान नेपाली समय अनुसार ६ :५०मा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्पमा परि चिनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।

केही घरहरु भत्किएका छन् ।चीनको सरकारी टेलिभिजन च्यान सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ ।

भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७.१म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् ।

नेपालका भूगर्भविदहरुका अनुसार लोबुचे हिमालबाट ९३ किलोमिटर उत्तरतिर र तिब्बतको सिगात्सेबाट २८ किलोमिटर दुरीमा भूकम्पको इपिसेन्टर छ ।

यससँग नेपालका नजिकका जिल्ला सोलुखुम्बु, संखुवासभा, दोलखा र ताप्लेजुङ पर्दछन् । ती जिल्लाका अधिकारीहरुले भूकम्पको कडा धक्का महसुस भएको र क्षति भए/नभएकोबारे बुझ्ने काम भइरहेको जनाएका छन् । स्थानीय तह र प्रहरी फौज रहेको स्थानहरुमा बुझ्दा अहिलेसम्म क्षतिको विवरण भने नआएको उनीहरुले बताएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भूकम्पले क्षति भयो कि भएन भनेर सबै स्थानीय तह र प्रहरी इकाइमा सम्पर्क गर्ने काम जारी रहेको बताए । सम्पर्क भएका स्थानमा भने अहिलेसम्म क्षतिको जानकारी नभएको उनले बताए ।

संखुवासभाका प्रहरी प्रमुख दक्ष कुमार बस्नेतले पनि जिल्लामा क्षतिको विवरण प्राप्त नभएको बताए । सूचनाको पहुँच भएको क्षेत्रसम्म बुझ्दा क्षतिको जानकारी नभएको उनले बताए । ‘जिल्लामा सञ्चार सम्पर्क नहुने क्षेत्र पनि छन्, ती क्षेत्रको अवस्थाको जानकारी त छैन, तर जहाँ–जहाँ सम्पर्क भएको छ, त्यहाँ भने क्षतिको जानकारी छैन,’ डिएसपी बस्नेतले बताए ।

यसैगरी दोलखा प्रहरीका प्रवक्ता दाताराम अधिकारीले पनि क्षतिको विवरण प्राप्त नभएको बताए । उनका अनुसार दोलखामा च्छोरोल्पा हिमताल र लामाबगर अति जोखिमयुक्त क्षेत्र मानिन्छन् । ती स्थानमा अहिलेसम्म भूकम्पले क्षति भएको जानकारी नआएको अधिकारीले बताए । ‘च्छोरोल्पा हिमताल फुट्ने र लामाबगर क्षेत्रमा सुक्खा पहिरो खस्ने जोखिम रहन्छ । तर प्रहरी फौज भएको स्थानसम्म बुझ्दा अहिलेसम्म क्षतिको जानकारी छैन,’ अधिकारीले भने ।

नेपाल–चीन सीमा क्षेत्रमा रहेका हिमतालहरु जोखिमयुक्त मानिन्छन् । यदि ती विष्फोट भएमा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्ने विज्ञहरु बताउँछन् । त्यस्ता सम्भावित जोखिमका क्षेत्रमा थप सूचना संकलन र अलर्ट रहन मातहतका प्रहरीलाई भनिएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

सोलुखुम्बुका प्रहरीका प्रवक्ता लक्ष्मण गिरीले अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको अनलाइनखबरलाई बताए । ‘बुझ्ने काम जारी छ, तर अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन,’ उनले भने ।

भूकम्पले राजधानी काठमाडौंमा पनि कडा धक्का महसुस भएको थियो । एकाबिहानै भूकम्प गएपछि काठमाडौंबासी घर बाहिर निस्किएर खुला ठाउँमा गएका थिए । काठमाडौंमा पनि क्षतिको विवरण प्राप्त नभएको नेपाल प्रहरीको कन्ट्रोल रुमका कर्मचारीहरुको भनाइ छ ।