७ पुष २०८१, आईतवार

चक्रपथ सरसफाई महाअभियानको ४०२ हप्ता पुरा

काठमाडौं । बागमती सफाइ महाअभियानबाट प्रेरित भई फोहरको श्रोतबाटै न्युनिकरण गर्न सके खोलानाला सम्म फोहर पुग्दैन भन्ने अभिप्रायले २०७४ साल बैसाख २ गते बाट शुरु गरिएको चक्रपथ सरसफाई महाअभियानको ४०२ हप्ताको नियमित सफाई कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी ,बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु,रोटरी ब्लब अफ काठमाडौं डाउनटाउन,यती हेल्थ साईन्स् एकेडमी तथा स्वतन्त्र सफाइ अभियन्ताहरुको उपस्थितिमा आजको सरसफाई अभियान सम्पन्न भएको थियो ।
सरसफाई कार्यक्रममा नेप्सेम्याक सेवा प्रा.लि.का सफाई कर्मचारी तथा ग्रिनसिटी हस्पिटलका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा संचारकर्मी संग कुराकानी गर्दै चक्रपथ सरसफाइ महाअभियानका संयोजक लोक बहादुर टण्डनले सामुहिक प्रयास बाट मात्र स्वच्छ समाज निर्माण हुन सक्ने बताउनु भयो ।
यो अभियानले बाटोमा रहेका फोहर संकलन तथा व्यवस्थापन गर्नुको साथै त्यस क्षेत्रका नागरिकहरुलाई सचेतना जगाउने कार्य समेत गरिरहेको सकृय अभियन्ता जित बहादुर हमालले बताउनु भयो । अब फोहर टिपेर बस्ने भन्दा पनि सम्बन्धित घर धनी वा व्यवसायीहरुलाई आफ्नो कार्यस्थल मा सफा गर्न चेतना फैेलाउने तथा त्यस क्षेत्रमा व्यवसायीक रुपमा फोहर संकलन र व्यवस्थापन गरिरहेका कम्पनि वा संस्थाहरुलाई उत्तरदायी बनाउन सके यस्ता अभियानहरुले फोहर उठाउँदै हिड्नु नपर्ने उहाँको भनाई छ ।
यस अभियानको ४०० औं हप्तामा गरिएको रक्तदान बाट प्राप्त रु १५,१००÷ रकमलाई आज ग्रीनसिटी हस्पिटलको गाईबाच्छा संरक्षणको लागि स्थापना गरिएको दान बाकसमा राखेर अभियान शुरु गरिएको थियो ।
यस अभियानको संपुर्ण व्यवस्थापनको जिम्मा लिएको ग्रीनसिटी हस्पिटलले माक्स पन्जा पोलेथिन लगायतका आवश्यक सामाग्रीहरु उपलब्ध गराउँदै आईरहेको छ ।
उपस्थित अभियन्ताहरुले स्थानीय सरकार र स्थानिय संघ संस्थाहरुलाई अभियानमा जोड्न नसक्दा अभियान सोचेजति प्रभावकारी हुन नसकेको स्विकार गरेका छन् ।
अबका दिनहरुमा अभियानले फोहर टिपेर मात्र नबस्ने संबन्धित सरोकारवालाहरुलाई सचेत गराउँदै काबार्हिको प्रकृयामा लैजान समेत पहलगर्ने भएको छ ।
टेन्डर प्रकृया बाट वा करार गरेर फोहर व्यवस्थापनको व्यवसायीक कार्य गरिरहेका कम्पनि वा संस्थाको समेत चरम लापर्वाही देखिएको ठाउँहरुमा त्यस क्षेत्रको स्थानिय सरकार र वातावरण बिभागमा समेत उजुरी हालेर कार्वाहि प्रकृया अगाडी बढाउन केहि अभियन्ताहरुको टोली गठन गर्ने समेत निर्णय भएको अभियन्ताहरुले बताएका छन् ।
वातावरण प्रदुषण गर्ने जो कोहिलाई पनि राज्यको कानुन बमोजिम कार्बाहि गर्नु पर्ने अभियन्ताहरुको माग रहेको छ ।