५ माघ २०८१, शनिबार

रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी नदिने भएको छ। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता चलिरहेको छ। रास्वपाले मेयर र दुइटै वडाध्यक्षमा उम्मेदवारी नदिने भएको हो। रास्वपाबाट कीर्तिपुरको मेयरमा जयराम कार्कीको नाम सिफारिस भएको थियो। वडा नम्बर ४ मा सुशील बाँस्कोटाको नाम सिफारिस भएको थियो भने वडा नम्बर १ मा उम्मेदवार नै सिफारिस भएको थिएन। मेयर र वडाध्यक्षहरूमा रास्वपाले उम्मेदवारी नदिने प्रतिनिधि सभा सांसदसमेत रहेका रास्वपा नेता शिशिर खनालले सेतोपाटीलाई जानकारी दिए। खनाल बागमतीको निर्वाचन परिचालन समितिका संयोजक पनि हुन्। ‘हामीले कीर्तिपुरको मेयर र दुइटै वडाध्यक्षमा उम्मेदवारी नदिने तयारी गरेका छौं, स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्नेबारे कुराकानी भइरहेको छ, कसलाई समर्थन गर्ने भनेर निर्णय गरिसकेको छैन,’ उनले भने।