प्रारम्भ -मानव सभ्यताको विकासक्रम बिगत बाट आजसम्म आइपुग्न लामो इतिहास पार गरेको छ। आजको मानव सभ्यता सिकारी र कन्दमूल बटुल्ने समाजबाट पशुपालक , कृषि हुँदै औद्योगिक युगसम्म आइपुगेको हो।आफ्ना आवश्यकताहरु सहजतम बनाउन आगो र गुफाको प्रयोगदेखि न्यानोको लागि छालाको प्रयोग, माटो र काठ्का भाँडाको निर्माण, सिकार कन्दमूलदेखि पशुपालन र पशुपालनदेखि कृषि र कृषिमा हलोको आविष्कार र फलामको प्रयोग हुँदै आज विज्ञान प्रविधिको युगसम्म आइपुगेको हो।
आफूले बाँचेको भौतिक परिवेशबीच जब मानिसले जिउँदो मानिस र मरेको मानिस मा फरक देख्यो, प्राकृतिक विपत्ति र महामारी देख्यो । कारण बुझ्ने खुबी उसँग भएन। यी सबै कुरा बाह्य शक्तिले गरायो भन्ने बुझ्यो र अलौकिक शक्तिको परिकल्पना गर्यो । निर्धारित भौगोलिक परिवेशमा उसले श्रम र साधना गर्दै जाँदा विभिन्न नियम उपनियम बसाल्यो। ती नियम उप नियमलाई कतिपय सन्दर्भमा अलौकिक शक्तिसँग जोड्यो। तसर्थ सामाजिक यथार्थताका कतिपय पर्वहरु अलौकिक रूपमा समाजमा स्थापित हुन पुगे। अलौकिक रुपमा यिनको ऐतिहासिक टिप्पणी गरिएता पनि संस्कृति मानवद्वारा नै निर्माण भएको हुन्छ। संस्कृति अन्तर्गत यी चाडपर्व पर्ने गर्दछन्। यी चाडपर्वहरूले निश्चित वा निर्धारित समयको समाज व्यवस्था र संस्कृतिको बिम्बात्मक अर्थ राख्दछन्। तिनीहरु समयअनुसार भने परिवर्तित हुँदै जान्छन ।
तीज हिन्दू धर्म भित्रको धार्मिक तथा सांस्कृतिक पर्वको शास्त्रीय मान्यता रहे पनि आज तीज नेपालीहरूको सामाजिक पर्वको रुपमा स्थापित भइसकेको छ। सामाजिक पर्वको रुपमा आज तीजमा चेलीहरुलाई दर खुवाउनु , त्यही अवसरमा घरमा भोकेका दुःख पीडालाई मा बिसाउनु र मन हलुङ्गो बनाएर फेरि घर फर्काउनु हो। यो पर्व महिलाहरुलाई त्यतिकै प्यारो भएको होइन । विगतको समयमा चरम पितृसतात्मक मूल्य मान्यता भित्र महिलाहरूको सानैमा हुने विबाह,सौता, बुढो लोग्ने,चाँडै विधुवा हुनुपर्ने , घरको दुर्व्यवहार , खान लगाउन नपाउनु , परिवारका अन्य सदस्यहरुबाट कुटपिट एवम दमन हुने गर्दथ्यो। कृषि युग भएको कारणले गर्दा कृषि बाट थकित महिलाहरू केही दिनका लागि भएपनि माइत गई विश्राम गर्ने पर्व तीज हो। यसै सन्दर्भमा घरमा आएकी चेलीलाई सम्भव भएसम्म मिठो मसिनो खुवाउने प्रचलन तीजको हो। खोलानाला बाढी र चोरीडकैती बाट सुरक्षाका लागि माइतबाट बाबु दाजुभाइ वा मामा भएपनि लिन जाने चलन तीजको हो । एक दुई छाक मिठो मसिनो खाने र माइतीको दैलो टेक्ने लालसाको विरह लाग्दो भाका तीजको गीतमा सुन्न पाइन्छ । यी पक्षहरुले तत्कालीन समयमा नारीहरूको अवस्था कति दयनीय थियो भनेर सहजै अनुमान गर्न सकिन्छ । यी गीतहरूले त्यो बेलाको महिलामाथि हुने गरेका दमन उपेक्षाको फेरिहस्ती लगाउँछ । कहिलेकाहीँ यी गीतहरूले तत्कालीन समाज प्रथाका विरुद्ध आवाज समेत समेत उठाउँछन । तीज यीनै वेदना सार्वजनिककरण गर्ने पर्व पनि हो। बालापनमै माइतीबाट बिदा भएका बालिकाहरुका लागि जन्मघर माइती पुग्नु नै खुसीको कुरा हुनु स्वाभाबिकै हो । काममा जोतिएका नारीहरू यही तीजमै मात्रै माइत जान पाउँथे। एकजोर कपडा यहिबेला मात्र पाइन्थ्यो । दाजुभाई लिन आउने र लैजाने खुशी र उमङ्गका गीत साथसाथै हुन्छन् माइती लिन नआउँदाका पीडा पनि त्यत्तिकै दुःखदायी हुने तीजका गीतहरूमा सुन्न पाइन्छ। बाल्यकालमै घर छोडेकी चेलीले श्रीमान सासु ससुरा रिझाउनु पर्ने र आफै सम्हालिन नसक्ने बालापनमै घाँसपात पधेरा दाउरा वनजङ्गल जातो ढिकी भोकभोकै मेलापात गर्नुपर्ने त्यसमाथि सौता सहनुपर्ने सन्दर्भका गीत तत्कालीन नेपाली समाजका विशेषताको प्रतिनिधित्व गर्दछन् । ती गीतहरु तत्कालीन नेपाली समाजका बिम्ब हुन्। तीज तिनै विशेषता सहितको पर्व हो । यो केवल वेदनाको पर्व मात्र होइन यो विद्रोहको पर्व पनि हो। आफूलाई घरमा दुख दिने ,खान लगाउन नदिने,त्यस्तो घर बिबाह गरिदिने आफ्नै बाबुआमालाई गीतबाटै प्रश्न गर्ने पर्व पनि हो। आफ्ना घरपरिवारले दिएका पीडाको सार्वजनिकरण गर्ने पर्व हो। आज पनि समाजभित्रका हत्या हिंसा बलात्कार दाइजो छुवाछुत घरपरिवारले नारीमाथि गर्ने दमन आदि विषयवस्तु बनाएर गीत गाइने पर्वको रुपमा तीज बनेको छ । त्यति मात्र होइन खराब राजनीतिक परिपाटि,भ्रष्टाचार, विभेध, अन्याय र अत्याचारका विषयवस्तु मा तीजका स्रष्टा वा गायकहरू जति अरु गायकहरु बोलेका छन । तसर्थ तीज धार्मिक पर्वभन्दा पनि सामाजिक पर्वको रुपमा स्थापित भएको छ। पश्चिमी नारीवादीहरूले गरेको संघर्षको इतिहास भन्दा कैयौं गुना अगाडि तीज पर्वको विद्रोह छ भन्ने कुरा त्यसमा उजागृत भएका गीतका विषयवस्तुले प्रष्ट पार्ने गर्दछन् ।
आजको संसार पूँजीवादी नाफामुखी प्रणाली भित्र जेलिएको संसार हो। यो संयन्त्रको मुख्य लक्ष्य नाफाको लागि बजार खोजी हो। जसले भूगोलमा मात्र होइन संस्कृतिभित्रमा पनि व्यापार गर्न खोज्दछ। तसर्थ आज चाडबाडहरुमा पनि निर्मम व्यापार भैइरहेछ । नारीको पीडा र भावनामा यसले व्यापार जगाइरहेको छ। तसर्थ तीज आज एकसरो ज्यान ढाक्न कपडा पाउ भन्दै दुखेसो पोख्ने पर्व होइन महँगो साडी र गरगहना प्रदर्शन गर्ने मञ्च बन्न पुगेको छ। दुःख सुखमा घरैको मिठो मसिनो परिवारका दाजुभाइ दिदीबहिनी मिलेर खाने पर्व महिनौ अघिदेखि पार्टी प्यालेस होटलमा मासु मदिरा र बियरको बनेको छ । यो आत्मीयताको पर्वभन्दा पनि भड्किलो र देखासिखी को पर्व बनेको छ । यो मौलिकताको बिकृत स्वरूप हो। यही कारणले नै गीत संगीत क्षेत्रपनि मुनाफाकेन्द्रित बनेको छ। छाडा अश्लिल कामोत्तेजक गीतहरूको बजारमा बोलबाला रहेको छ। ऐतिहासिक मर्म र सन्देशभन्दा पनि तीजको बहानामा बजारको व्यापारीकरण भइरहेको छ । पर्व समेत नाफाखोरहरूको कब्जामा छ। हाम्रा चाडपर्व उत्ताउलो विकृत र विद्रुपिकरण बनिरहेका छन् । यो नाफामुखी संस्कृतिको कारणले हो। जसले सामाजिक सम्बन्ध र सस्कृतिमाथीनै नाफा खोज्न प्रयत्नरत रहने गर्दछ ।
कुनै पनि देश वा समाजको अस्तित्वको लागि उसको मौलिक पहिचान हुनु आवश्यक छ। मौलिक पहिचान बिना व्यक्तिको अस्तित्व सम्भव हुँदैन। विश्व जगतमा हामी नेपालीलाई अलग्गै पहिचान गराउन हाम्रो संस्कृति पनि एक हो। वसुधैव कुटुम्बकम र पारस्परिक सहयोग, एकता र भरपर्दा नाता प्रणाली बीच को गहिरो आत्मियता र सहयोगको ठाउमा आज व्यक्तिब्यक्तिलाई विभाजन गर्ने संस्कृति हावी हुनाले हाम्रो सामाजिक सम्बन्ध एवं संस्कृति नै जोखिममा परेको छ। हामी विश्वमा धनी नभए पनि खुसी चाहिँ जरुर थियौ । यही एकताको भावले हामी शक्तिशाली मुलुक सामु पनि विगतमा नजुकेको इतिहास हो । आज कतिपय शक्तिहरुले हामीलाई एक आपसमा जोड्ने हाम्रो संस्कृति तथा पर्वहरु भत्काएर हामीलाई कमजोर बनाइरहेका छन् । यो कुराबाट सचेत रहँदै हामीले हाम्रो संस्कृति बचाउने प्रयास गर्नु आवश्यक छ । आपसी एकतामा बाँध्न यी पर्व र संस्कृतिको निरन्तर संरक्षण गर्नु हाम्रो दायित्व हो।
लेखक :बस्याल – श्रमिक कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य हुन।