२३ भाद्र २०८१, आईतवार

श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे २४ बुद्धे समसामयिक प्रस्ताव

महान् जनयुद्ध, एकीकृत जनक्रान्ति तथा विभिन्न जनसङ्घर्षमा सहादत प्राप्त गर्ने सहिदहरूमा हार्दिक श्रद्धाञ्जलीसहित सहिद तथा बेपत्ता परिवार, घाइते योद्धा, जेलबन्दी एवम् यातनापीडित सबैमा उच्च सम्मानसहित हार्दिक अभिवादन व्यक्त गर्दै श्रमिक कम्युनिस्ट पार्टी नेपालको विशेष भेला निम्न प्रस्ताव पारित गर्दछ :१. विशेष भेला महान् जनयुद्ध, एकीकृत जनक्रान्ति एवम् न्यायपूर्ण सबै सङ्घर्षमा सहादत प्राप्त गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै अमर सहिदले देखाउनुभएको परिवर्तन र मुक्तिको बाटोमा निरन्तर अघि बढिरहने प्रतिबद्धता जाहेर गर्दछ ।

२. यो भेला तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र तत्कालीन नेकपा (बहुमत) बीचको एकता असफल र भङ्ग भएको घोषणा गर्दै अकर्मण्यतावादी, मिहिन तथा छद्म संशोधनवादी, सारसङ्ग्रहवादी एवम् रूढिवादी कार्यदिशाका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट विभिन्न समयमा विभिन्न जिम्मेवारीमा रहेका कमरेडहरूको विद्रोहलाई ऐतिहासिक, वस्तुवादी र सही क्रान्तिकारी निर्णय भएको ठहर गर्दछ ।

३. यो भेला प्यालेस्टिनी भूमि र जनतामाथिको इजरायली बर्बर नरसंहारको तीव्र विरोध र भर्त्सना गर्दछ । प्यालेस्टिनी जनताको सार्वभौम अधिकार र जीवनरक्षाको सम्मान एवम् ग्यारेन्टीका लागि आवाज बुलन्द गर्न विश्वसमुदायलाई अपिल गर्दछ । प्यालेस्टिनीहरूको ‘फ्री प्यालेस्टाइन’ को मागमा यो भेला ऐक्यबद्धता व्यक्त गर्दछ । पछिल्लो समयमा आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टिनलाई स्वतन्त्र राज्यका रूपमा औपचारिक मान्यता दिने गरेको घोषणालाई यो भेला हार्दिक स्वागत गर्दछ ।

४. अमेरिकी साम्राज्यवादको युद्ध उन्माद तथा उसको साना राष्ट्रहरूमाथिको निरन्तर सामरिक तथा सांस्कृतिक हस्तक्षेपको तीव्र विरोध गर्दछ । अमेरिकी छायायुद्धका रूपमा अघि बढिरहेको युक्रेन युद्ध तुरुन्त बन्द गर्न माग गर्दै यो भेला नेटोद्वारा रुसमाथिको सशस्त्र घेराबन्दी तत्काल हटाउन माग गर्दछ ।

५. भारतीय साम्राज्यवादद्वारा नेपाली भूमिमाथि भइरहेको अतिक्रमणको विरोध गर्दछ । भारतसितको सन् १९५० लगायत सम्पूर्ण असमान सन्धि-सम्झौताहरू खारेज गरी अतिक्रमित नेपाली भूमि तत्काल फिर्ताको जोडदार माग गर्दै यो भेला कालापानी, लिपुलेक लिम्पियाधुरालगायत नेपाली भूमि रक्षाका लागि सदैव सङ्घर्षरत रहने प्रण गर्दछ ।

नेपाल सरकार र अमेरिकाबीच भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना सम्झौता नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनताप्रतिकूल भएकाले तत्काल उक्त सम्झौता खारेजीको माग गर्दछ । एमसीसी कार्यान्वयनका नाममा देशका विभिन्न भागमा जनताको बस्ती उठाउन गरेको सरकारी हर्कतका विरुद्ध प्रतिरोध गर्न यो भेला आह्वान गर्दछ ।

७. यो भेला जनयुद्ध, जनक्रान्तिलगायत विभिन्न आन्दोलनमा घाइते एवम् अङ्गभङ्ग भएका योद्धाहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था गर्न, राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरूको अवस्था तत्काल सार्वजनिक गर्न तथा उनीहरूको सम्मानजनक तथा आवश्यकताअनुरूप जीवन निर्वाहको व्यवस्था गर्न जोडदार माग गर्दछ ।

८. वित्तीय कर्पोरेट पुँजीवादले उत्पन्न गरेको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र मानवीय स‌ङ्कटविरुद्ध भारत, ल्याटिन अमेरिका, अफ्रिका, एसिया, युरोपलगायत देशहरूका जनताको सङ्घर्ष एवम् तिनका अभियानहरूप्रति समर्थन व्यक्त गर्दै यो भेला एक ध्रुवीय भूमण्डलीकृत वित्तीय पुँजीवादका विरुद्ध दृढतापूर्वक उभिने सङ्कल्प गर्दछ ।

९. वित्तीय एकाधिकारवादी भूमण्डलीकृत पुँजीवादका दलालका रूपमा रहेका बहुराष्ट्रिय कम्पनीहरूले मल, बीउबिजन, पेस्टिसाइटसँगै वितरण र बजारमा आधिपत्य कायम गरेका कारण मारमा परेका विश्वभरिका किसानहरूको आन्दोलनप्रति समर्थन जनाउँदै कृषिक्षेत्रमा पुँजीवादी एकाधिकारवादको सशक्त विरोध गर्दछ ।

१०. महिलामाथिका हत्या, हिंसा, बलात्कारलगायत सबैखाले जघन्य अपराध र विभेदको भर्त्सना गर्दै सबैखाले हिंसा बन्द गर्न यो भेला विशेष आह्वान गर्दछ । साथै दलित समुदायमाथिका विभेद र उत्पीडनको घोर भर्त्सना गर्दै वर्णाश्रम व्यवस्थामा आधारित छुवाछूतजन्य जातीय भेदभावलाई समूल अन्त्यका लागि तत्काल प्रभावकारी कदम चाल्न यो भेला विशेष आग्रह गर्दछ ।

११. युगौँदेखि जोतभोग गर्दै आए पनि जमिनमा स्वामित्व कायम हुन नसकेका लाखौँ सुकुमबासी, स्वबासी, अव्यवस्थित बसोबासी र भूमिहीन जनताको स्थायी जीविकोपार्जनको ग्यारेन्टी गर्न जोडदार माग गर्दछ । नवऔपनिवेशिक पुँजीवादी दलाल सत्ताका ठेकेदारहरूद्वारा लालपुर्जा वितरणका नाममा भइरहेको चरम बेथितिको अन्त्य गर्न यो भेला माग गर्दछ ।

१२. महँगी, भ्रष्टाचार कालोबजारीलगायत उपभोक्ता एवम् उत्पादनका क्षेत्रमा विद्यमान बिचौलियाको बिगबिगी तत्काल रोक्न तथा जनतालाई सुलभ र स्वाभाविक जीवनयापन गर्ने वातावरण सिर्जना गरी भ्रष्टाचार र बिचौलियामुक्त वातावरण सिर्जना गर्न यो भेला सरकारसँग विशेष माग गर्दछ ।

१३. नेपाली युवाहरूको ठूलो सङ्ख्या बिदेसिने प्रवृत्तिप्रति यो भेला गम्भीर चिन्ता व्यक्त गर्दछ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको आवत-जावतलाई सहज बनाउन, रेमिट्यान्सबाट प्राप्त रकम आयमूलक काममा लगानी गर्न, वैदेशिक रोजगारीमा जाने श्रमिकको सीप-क्षमता विकास गर्न र स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारसमक्ष यो भेला जोडदार माग गर्दछ ।

१४. भूकम्पबाट पीडित जाजरकोट, पश्चिम-रुकुम, बझाङलगायत जिल्लाका जनताको आवास, स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्दै पुनर्निर्माणलगायत विशेष कार्यक्रम ल्याउन माग गर्दछ । प्राकृतिक प्रकोपको पूर्वव्यवस्थापनका लागि राज्यलाई छुट्टै संयन्त्र तत्काल गठन गर्न यो भेला विशेष माग गर्दछ ।

१५. जनताको रगत पसिनद्वारा सिर्जित महान् आदर्श र कलाबिम्बहरूको विद्रुपीकररण तत्काल रोक्न, सबैखाले अश्लील, विकृत, छाडा, उपभोक्तावादी साहित्य र संस्कृतिलाई निषेध गरी जनवादी र वैज्ञानिक कलासाहित्य र संस्कृतिको विकासमा जोड दिन यो भेला विशेष आह्वान गर्दछ ।

१६. जनताको वाक्रस्वतन्त्रताको रक्षा गर्न, सञ्चार संयन्त्रलाई मर्यादित बनाउन, सम्पूर्ण झूट्टा मुद्दा खारेज गर्न, राजबन्दीहरूलाई तत्काल रिहा गर्न यो भेला माग गर्दछ । क्रान्तिकारीहरूलाई उत्तेजित बनाउन गरिएका पक्राउ पुर्जी जारी गर्नेलगायत फासिवादी सत्ताको श्वेतआतङ्क बन्द गर्न माग गर्दछ।

१७. भ्रष्टाचारी, तस्करी, मिटरब्याजी, सहकारी वित्तीय अपराधीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन यो भेला विशेष माग गर्दछ । दोषीलाई कारबाहीको दायरामा ल्याउन यो भेला जोडदार माग गर्दछ । फुटपाथलगायत विभिन्न स्थानका ससाना उद्यमी, व्यवसायीहरूको हितको रक्षा गर्न यो भेला विशेष माग गर्दछ ।

१८. भारतीय साम्राज्यवादी सरकारले भारतीय माओवादीहरूमाथि गरिरहेको क्रूर दमन तथा जनहत्याको यो भेला क्षोभ व्यक्त गर्दछ । नक्सल अर्बानका नाममा गिरफ्तार गरिएका बौद्धिक एवम् वैचारिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको यो भेला तत्काल रिहाइको माग पनि गर्दछ ।

१९. यो भेला इजरायलमा मारिएका विद्यार्थीहरू तथा युक्रेनमा मारिएका युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै इजरायलमा बेपत्ता पारिएका विद्यार्थी विपीन जोशी तथा युक्रेन युद्धमा बन्धक बनाइएका सयौँ युवाहरूलाई मुक्त गरी तिनलाई सकुशल स्वदेश फिर्तीका लागि विशेष पहल गर्न सराकारलगायत सबै पक्षसित आग्रह गर्दछ ।

२०. देशका विभिन्न भागमा डढेलोका कारण आगलागी भई भएको धनजन क्षतिको यथाशीघ्र उचित क्षतिपूर्तिको व्यवस्था गर्न यो भेला नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

२१. नेपालमा केही वर्षदेखि विभिन्न आवरणमा डरलाग्दो ढङ्गबाट भइरहेको धर्मान्तरणको कार्यप्रति यो भेला विशेष चिन्ता व्यक्त गर्दछ । धर्मको आवरणमा राष्ट्रिय हितविपरीत भइरहेका सबैखाले गतिविधि तत्काल अन्त्य गर्न यो भेला सरकारसित जोडदार माग गर्दछ ।

२२. श्रमिकको सेवा, सुविधा, वेतनलगायत उचित ज्याला उपलब्ध गराई सम्मानजनक बाँच्न पाउने अधिकारको सुनिश्चितताको माग गर्दछ । साथै यो भेला श्रम शोषणमुक्त नेपालको घोषणाको माग पनि गर्दछ ।

२३. नेपालको वर्तमान दलाल फासिवादी पुँजीवादी व्यवस्था औपचारिक रूपमै विघटनको सँघारमा उभिएको यति बेला सम्पूर्ण देशभक्त, प्रगतिशील तथा जनतान्त्रिक शक्तिहरू एकताबद्ध भई दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न यो भेला हार्दिक आह्वान गर्दछ ।

२४. श्रमिक कम्युनिस्ट पार्टीको विशेष भेला भव्यता र ऐतिहासिकताका साथ सफल पार्न आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने सम्पूर्ण कमरेडहरू, स्वयम्सेवक, कलाकार तथा पत्रकार एवम् सहयोगी सबैलाई यो भेला हार्दिक आभार व्यक्त गर्दछ ।