१० असार २०८१, सोमबार

वैद्य र शन्त बहादुर नेपालीको पार्टी बिच एकता, पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने

काठमाडौं : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र शन्त बहादुर नेपाली नेतृत्वको नेकपा मशाल बिच पार्टी एकता सम्पन्न भयकाे छ । बुधबार मई १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन काठमाडौंमा दुई पार्टी बिच एकता भई पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने घाेषणा गरियकाे छ।

एकता अधिवेशनबाट पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन र विधान पारित गरिएको छ । पार्टीको नेतृत्वमा संयोजक र सहसंयोजक रहने प्रणाली बनाएको छ । एकता अधिवेशनले नव गठित पार्टीको संयोजकमा मोहन वैद्य किरण, बरिष्ठ नेतामा सिपी गजुरेल र सहसंयोजकमा सन्तबहादुर नेपाली र धर्मेन्द्र बास्तोला रहने सहमतिलाई पनि पारित गरेको छ ।

एकता अधिवेशनले २५ जनाको कार्यालय सदस्य , १०८ जनाको सचिवालय र ३१९ जनाको एकता महाधिवेशन आयोजक समिति बनाएको छ भने कार्यालय सदस्यहरुबाट सात जना रहेको ‘कार्य सम्पादन मण्डल’ पनि बनाएको छ ।

अधिवेशनमा बाेल्दै नेताहरुले नेपालमा छरिएर रहेका सबै क्रान्तिकारीहरुलाई एकताबद्ध तुल्याएर नयाँ जनवादी क्रान्ति पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिय।

पारित राजनीतिक प्रतिवेदनमा दुवै पार्टीबिच ८ वटा आधारमा पार्टी एकता गरिएको स्पष्ट पारिएको छ । प्रतिवेदनमा भनिएको छ, “२०७९ कार्तिक २२ गते तत्कालीन पार्टीहरु नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) सहित पार्टी एकता संयोजन समिति गठन भएको थियो । त्यसक्रमका वार्ता र छलफलहरुमा एकता सम्बन्धी सहमति र असहमतिका विषयहरुलाई बुँदागतरुपमा छुट्याउने काम समेत भएको थियो । तर, २०७९ चैत्र २१ को एकता संयोजन समिति बैठकमा तीन पार्टीहरु बीच छलफल हुँदा नेकपा (मशाल)को तर्फबाट कतिपय मतभेदहरु समाधान हुन नसकेपछि वार्ता स्थगित भएको थियो । त्यसपछि दुई पार्टीहरु ः नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच एकता सम्पन्न भयो । तथापि, नेकपा (मशाल)बीच एकता वार्ताको प्रक्रिया निरन्तर कायम रह्यो । त्यसकै आधारभूत पृष्ठभूमिमा र निरन्तरतामा रहेर पुनः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बीच एकताका लागि थप पहल गरियो । परिणामस्वरुप २०८० पौष १९ गते दुई पार्टीका वार्ता समितिहरु पुनर्गठन भए । तत्पश्चात् चरणबद्ध वार्ताहरु सम्पन्न भए । दुबै पार्टीको तर्फबाट गरिएका सार्थक प्रयास पश्चात् एकताका लागि ठोस प्रकारले विचारधारात्मक, राजनीतिक तथा संगठनात्मक आधार तयार पार्ने काम भयो ।”

पार्टी एकताका विचारधारात्मक, राजनीतिक तथा सांगठनिक आधार मूलतः यसप्रकार रहेका छन् : १– मार्क्सवाद–लेनिनवाद–माओवाद÷विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्ने, २– नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्ने, ३– नयाँ जनवादलाई आम र वैज्ञानिक समाजवादलाई आधारभूत कार्यक्रमका रूपमा अंगीकार गर्ने, ४– क्रान्तिमा बलप्रयोगको भूमिकालाई स्वीकार गर्ने र त्यससम्बन्धी मान्यतालाई विकसित तुल्याउने, ५– सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्तलाई अवलम्बन गर्ने र महान सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्दै जाने, ६– सर्वहारा अन्तराष्ट्रियतावादलाई स्वीकार गर्ने, ७– जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार संगठन परिचालन गर्ने, ८– पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल राख्ने ।

प्रतिवेदनमा पार्टी एकता प्रक्रिया र आधार तयार पार्ने क्रममा महत्वपूर्ण विधि निर्धारण गरेको उल्लेख गरिएको छ । भनिएको छ, “पहिलो विधि भौतिकवादी द्वन्द्ववादको विधि हो, त्यो एकता–संघर्ष र रुपान्तरणमा आधारित छ । दोस्रो विधि सहमतीय विधि हो । पार्टी एकता प्रक्रियामा यस विधिको विशेष महत्व छ । तेस्रो विधि भनेको जनवादी केन्द्रीयताको विधि हो । यी तीन विधि मध्ये सहमतीय विधिमा नै हामीले जोड दिँदै आएका छौं ।”

पार्टीको  नीति तथा कार्यक्रम र कार्यदिशाबारे पारित प्रतिवेदनमा भनिएको छ:-

“१) नेपाल अहिले सामाजिक तथा आर्थिक रुपमा अर्ध–औपनिवेशिक तथा अर्ध–सामन्ती विशेषता सहित नव–औपनिवेशिक अवस्थामा रहेको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा क्षेत्रीय विविधताले युक्त मुलुक हो । नेपाली समाज विविध वर्ण तथा जात र वर्गहरुमा विभाजित रहिआएको छ । वर्गीय दृष्टिकोण अनुसार नेपाली क्रान्तिको मुख्य दुश्मन नोकरशाही पुँजीवाद तथा सामन्तवाद सहितको दलाल पुँजीवाद रहेको छ । मजदूर, किसान, सुकुम्बासी, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपति वर्तमान क्रान्तिका मित्र शक्ति हुन् । सर्वहारावर्ग क्रान्तिको नेतृत्वदायी, सबैभन्दा क्रान्तिकारी तथा निर्णायक शक्ति हो । बाह्यरुपमा साम्राज्यवाद ÷ विस्तारवाद क्रान्तिका दुश्मन हुन् भने विश्व सर्वहारा वर्ग तथा श्रमिक जनसमुदाय क्रान्तिका मित्र शक्ति हुन् ।

२) माथि उल्लेख गरिए अनुसारका सामाजिक तथा आर्थिक विशेषता र अन्तर्विरोधहरूमा आधारित रहिआएको वर्तमान नेपालका सन्दर्भमा हाम्रो पार्टीको आम कार्यक्रम नयाँ जनवाद हो, आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद हो, अन्तिम लक्ष्य तथा अभीष्ट साम्यवाद हो । यसप्रकारका कार्यक्रमहरुको प्राप्तिका लागि परिस्थिति अनुसार विभिन्न नीति, रणनीति तथा कार्यनीति अवलम्बन गर्दै जानुपर्दछ । सर्वहारा वर्गको नेतृत्व र समग्र उत्पीडित जनसमुदायको संयुक्त अधिनायकत्वमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्नु हाम्रो अहिलेको रणनीति हो । वर्तमान अवस्थामा नेपाली क्रान्तिकारी कम्युनिस्टहरूको राजनीतिक कार्यदिशाको पहिलो खुड्किलोमा जनताको जनवादी अधिनायकत्व सहितको नयाँ जनवादी क्रान्ति पार गर्दै वैज्ञानिक समाजवादमा पुग्नु हुनेछ ।
३)सामान्यतः विश्वव्यापी तथा विशेषतः नेपाली समाजको अर्थ–सामाजिक अवस्थालाई ध्यानमा राखेर राज्यसत्ता सम्बन्धी बल प्रयोगको सार्वभौम माक्र्सवादी मान्यतालाई आत्मसात गर्दै सशस्त्र सङ्घर्षद्वारा राज्यसत्ता कब्जा गर्ने दीर्घकालीन जनयुद्ध र आम सशस्त्र विद्रोहका आधारभूत मान्यताहरुलाई नेपाली विशेषतामा एकअर्काको परिपूरक बनाएर परिचालन गर्नु नेपाली सर्वहारा सैन्य कार्यदिशाको मुख्य रणनीति हुनेछ । यो रणनीतिलाई लागु गर्न उपयुक्त कार्यनीतिहरुको विकास गर्दै जनसङ्घर्ष, जनप्रतिरोध सङ्घर्ष र जनविद्रोहको श्रृङ्खला अन्तर्गत शुरुदेखि नै क्रान्तिकारी पार्टी, क्रान्तिकारी जनाधार र क्रान्तिकारी सेना निर्माणको कामलाई सचेत र योजनाबद्ध रुपमा लागु गर्नु नेपाली सैन्य कार्यदिशाको सार हो ।

४)नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगर्ने बित्तिकै हामी वैज्ञानिक समाजवादमा प्रदेश गर्ने छौं । सर्वहारा वर्गको नेतृत्व र सर्वहारावर्गकै अधिनायकत्वको स्थापना गर्नु नै वैज्ञानिक समाजवादको मूल रणनीति हो । सर्वहारा अधिनायकत्व स्थापना गरे पश्चात् समाजवादी सार्वजनिक स्वामित्वमा आधारित उत्पादन सम्बन्धको निर्माण तथा विकास गरिने छ । समाजवादको अवधिमा वर्ग, वर्गसंघर्ष, वर्गीय अन्तर्विरोध र समाजवादी बाटो तथा पुजीवाद बाटोका बीच दीर्घकालीन सङ्घर्र्ष चल्नेछ । सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सैद्धान्तिक मान्यता र तदनुसार व्यवहारमा संलग्न रही महान सर्वहारा सांस्कृतिक क्रान्तिका बीचबाट वर्गसङ्घर्ष र वर्गीय अन्तर्विरोधहरूको समाधान गर्दै साम्यवाद तर्फ अगाडि बढ्नु नै हाम्रो लक्ष्य हो ।”