२३ भाद्र २०८१, आईतवार

भ्रष्टाचार आराेपमा पुर्व डिआईजि शाहलाई ३ बर्ष जेल सजाय

काठमाडौं :विशेष अदालतले पूर्वडीआईजी महेश विक्रम शाहलाई ३ वर्ष जेल सजाय सुनाएको छ ।

बुधबार विशेष भ्रष्टाचार आरोपमा शाहलाई तीन वर्ष जेल सजाय सुनाएको हो ।शाहलगायतविरुद्ध १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले शाहसहित पूर्वसई दिपेन्द्रप्रसाद पनेरुलाई जनही तीन वर्ष कैद सजाय सुनाएको हो ।

११ पुसमा विशेष अदालतले शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । शाहसहित प्रहरीका पूर्वसई पनेरुलाई क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा तलब भत्ता प्रकरणमा दोषी ठहर गरेको थियो ।

अख्तियारले २० फागुन २०७६ मा यो मुद्दा विशेष अदालतमा दायर गरेको थियो । यो मुद्दाका आरोपित प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशंखेले भने सफाइ पाएका थिए ।

पूर्वडीआईजी शाह मदन पुरस्कार विजेता साहित्यकार हुन् ।उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’ र भुइँखाटु कथा सङ्ग्रह प्रकाशित छन् । उनको कथा सङ्ग्रह ‘छापामारको छोरो’को लागि उनले विसं २०६३ को मदन पुरस्कार पाएका थिए ।