११ श्रावण २०८१, शनिबार

माओ दिवसका दिन हजारौ क्रान्तिकारी युवाहरुले मार्चपास प्रदर्शन गर्ने

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पौष १० गते अर्थात् डिसेम्बर २६ माओ दिवसको सन्दर्भ पारेर हजारौं क्रान्तिकारी युवाहरुको सहभागितामा विशाल मार्चपास प्रदर्शनको तयारी गरेको छ ।

रातो टोपी, ज्याकेट, झण्डा र ब्यानरसहित मार्चपासमा उत्रने व्यापक तयारीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी सम्बद्ध युवा संगठनसहित सबै जवस मोर्चाका नेताहरु जुटेका छन् । सहरका विभिन्न चोकबाट निकालिने युवाहरुको मार्चपासलाई रत्नपार्क स्थित खुल्लामञ्चमा केन्द्रित गरेर केन्द्रित मार्चपास निकाल्ने र मार्चपासले नगर परिक्रमा गर्ने कार्यक्रम रहेको सम्बद्ध स्रोतले जनाएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अस्थायी संयुक्त सरकार’को तात्कालिक कार्यनीति अगाडि सार्दै आएको छ । पार्टीको सहायक संगठनद्वारा आयाेजित मार्चपास कार्यक्रमलाई पार्टी अध्यक्ष मोहन वैद्य किरणले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको क्रान्तिकारी युवा संगठनले जानकारी दिएको छ ।राष्ट्रियता, जनतन्त्र र जनजीविकाका तमाम समस्याहरुको विषयमा सडकमा उत्रिएर सशक्त आवाज बुलन्द गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आफूलाई अग्रगामी तथा क्रान्तिकारी वैकिल्पक राजनीतिक शक्तिको रुपमा अगाडि उभ्याउँदै आएको छ ।

मुलुकमा पुराना र नयाँ संसदवादी राजनीतिक शक्तिहरु र संसदीय व्यवस्थाका भ्रमबाट मुक्त भएका र नयाँ अग्रगामी विकल्पको खोजि गरिरहेका आम जनताले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अगाडि सारेका सर्वपक्षीय राजनीतिक सम्मेलन, क्रान्तिकारी शक्तिहरुबीचको संयुक्त मोर्चा निर्माण, संयुक्त संघर्ष, अस्थायी संयुक्त सरकार, जनसंविधान लेखन लगायतका कार्यनीतिक श्रीङ्खलाहरुलाई नजिकबाट निहालिरहेका छन् ।

वर्तमान राज्यव्यवस्थाको विकल्प खोजिरहेका जनता संसदवादीहरु र पुनरुत्थानवादीहरुको भ्रमबाट मुक्त हुँदै गएका छन् र अब क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको ‘संघीय जनगणतन्त्र’को नाराको वरिपरि गोलबन्द हुँदै जान थालेका छन् । यही पृष्ठभूमिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पौष १० गते माओदिवसको सन्दर्भ पारेर प्रदर्शन गर्न लागेको विशाल युवा मार्चपासलाई विशेष रुपमा हेरिएको छ । जनयुद्ध र जनआन्दोलन, अन्तरसंघर्ष र वर्गसंघर्षबाट खारिएर आएको असल, निष्ठावान, त्यागी नेतृत्वहरुको टिमले नेतृत्व गरेको यो पार्टीलाई आम श्रमजीवि वर्ग र समुदायले विशेष आशाको नजरले हेरिरहेको छ

यसैबीच, युवा मार्चपासको व्यापक तयारीका लागि मंगलबार पार्टी कार्यालय कुपण्डोलमा पार्टीको जनवर्गीय तथा मोर्चा संगठनका केन्द्रीय नेतृत्वहरुको उपस्थितिमा विशेष बैठक बस्यो । बैठकले मार्चपासको समग्र तयारीका लागि ठोस ठोस कार्यविभाजन गरेको छ । पार्टीका कार्यालय सदस्य तथा सचिव इन्द्रमोहन सिग्देलले समन्वय गरेको बैठकमा नेताहरु दिनेश शर्मा सागर, युवा नेता उदयबहादुर चलाउने दिपक, सुरेश श्रेष्ठ, शरदचन्द्र रसाइली लगायत जनवर्गीय तथा मोर्चा संगठनका नेताहरुको उपस्थिति रहेको थियो । युवा मार्चपासलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सबैले आआफ्नो ठाउँबाट पहल गर्नु पर्ने सुझाव सबैकाे रहेको थियाे ।