११ श्रावण २०८१, शनिबार

भुकम्पले अभिभावक गुमाए पछि, एक्लि प्रेम कलालाई नेता “सुदर्शन”ले भेटेर राहत हस्तान्तरण गरे

जाजरकोट :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले जाजरकोटको नलगाड नगरपालिकाकाे चिउरी गाउँमा  पुगेर अभिभावक विहिन प्रेमकला विकलाई भेटी राहत हस्तान्तरण गरेका छन्।भुकम्पमा अभिभावक गुमाएकी ९ वर्षीया प्रेमकला विकको तस्बिर सामाजिक संजालमा भाइरल भएको थियो । तिनै प्रेमकला विकको लागि काठमाडाैँ दशरथ रंगशालाका खेलाडिहरुले पठाएको राहत स्वरुपको नगद रकम नेता सुदर्शनले प्रेमकलालाई मंगलबार हस्तान्तरण गरेका हुन् ।“दिलिप स्मृति प्रतिष्ठान”का अध्यक्ष एवम् प्रशिक्षक राजेन्द्र खत्रीका स्वर्गीय छोरा दिलिप खत्रीको सम्झनामा स्थापना गरिएको आवद्ध ३८ जना खेलाडिहरुले उठाएको रकम प्रेमकलालाई हस्तान्तरण गरिएको हो । स्वर्गीय दिलिप खत्रीका बुवा राजेन्द्रले क्रान्तिकारी कम्युनिस्ट पार्टीका ३ नम्बर प्रदेश कार्यालयका सहायक सचिव झनक श्रेष्ठ ‘प्रज्वल’लाई हस्तान्तरण गरेको उक्त रकम पार्टीको ३ नम्बर प्रदेश संयोजक चन्द्रहरी सुवेदी ‘अटल’ मार्फत जाजरकोट पठाइएको थियो । उक्त राहत स्वरुपको रकम सुदर्शनले प्रेमकलालाई हस्तान्तरण गरेका हुन् ।जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गत कार्तिक १७ गते राती ११:४७ बजे गएको भुकम्पमा परि जाजरकोटको नलगाड नगरपालिका चिउरीमा एउटै गाउँका १४ जनाको मृत्यु हुँदा प्रेमकला विककी आमा चन्द्रकली विक, बुबा हिरे विक, दाजुहरु विमल विक र सुनिल विकको मृत्यु हुँदा प्रेमकला परिवार विहिन भएकी थिइन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको टोलीले अभिभावक गुमाएकी प्रेमकलालाई राहत हस्तान्तरण गर्ने कार्यक्रममा उनका आमाबुबा र दुई दाजुसहित जाजरकोट भुकम्पमा परि ज्यान गुमाउनेहरुप्रती श्रद्धान्जली व्यक्त गरेको थियो । मृतक प्रति श्रद्धान्जली र भुकम्प पिडितलाई राहत हस्तान्तरण गर्ने कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जाजरकोट इन्चार्ज प्रेम बहादुर चलाउने ‘अनन्त’, रुकुम इन्चार्ज शेरकुमार खड्का ‘गति’, सल्यान इन्चार्ज मोतिराम खड्का, चिउरीका वडा अध्यक्ष धर्मेन्द्र महर लगायतको उपस्थिति रहेको थियो ।