११ श्रावण २०८१, शनिबार

पार्टी स्कूलिङ सँगै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल आगामी एकता महाधिवेशनको तयारीमा

काठमाडौं ।पार्टी स्कूलिङको सुरुवातसँगै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल आगामी एकता महाधिवेशनको तयारीमा जुटेको छ ।

आगामी महाधिवेशनको तयारीलाई विचार, राजनीति, संगठन र संघर्षका दृष्टिले पार्टीलाई नयाँ उचाईमा उठाउने उद्देश्यले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टी स्कूलिङको सुरुवात गरेको हो ।

पहिलो चरणमा एकसाथ प्रदेश नं ३ को भौगोलिक क्षेत्रमा कार्यरत पार्टीका आयोजक समिति सदस्यहरु र गैर–भौगोलिक क्षेत्र, जवस–मोर्चा तथा विभाग र प्रवास “ख”मा कार्यरत आयोजक समिति सदस्यहरुका लागि पाँच दिने स्कूलिङ कार्यक्रमको आइतबार उद्घाटन गरिएको थियाे । गैर–भौगोलिक क्षेत्र, जवस–मोर्चा तथा विभाग र प्रवास “ख”मा कार्यरत आयोजक समिति सदस्यहरुका लागि पार्टी कार्यालय कुपण्डोलमा र प्रदेश नं ३ को भौगोलिक क्षेत्रमा कार्यरत पार्टीका आयोजक समिति सदस्यहरुका लागि नगरकोटमा कात्तिक १२ देखि १७ गतेसम्म सञ्चालन हुने गरी स्कूलिङको उद्घाटन गरिएको हो ।

पार्टीको कार्यालय सदस्य तथा स्कूलिङ विभागका प्रमुख समेत रहेका नेता रामसिंह श्रीसको प्रमुख आतिथ्यतामा कुपण्डोलमा शनिवार उद्घाटन गरियो । स्कूलिङ उद्घाटन कार्यक्रमको अध्यक्षता कार्यालय सदस्य इन्द्रमोहन सिग्देल बसन्तले गरेका थिए भने सञ्चालन पार्टीका सचिवालय सदस्य लालबहादुर बिसी गरेका थिय । कार्यक्रममा प्रमुख अतिथि, पार्टीका कार्यालय सदस्य प्रतीक लगायतका नेताहरुले स्कूलिङको आवश्यकता र महत्वका बारेमा प्रकाश पारेका थिय।

आइतबारै नगरकोटमा पार्टीको कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनको अध्यक्षता तथा प्रमुख आतिथ्यतामा स्कूलिङ कार्यक्रमको उद्घाटन गरियो । पार्टीका सचिवालय सदस्य प्रा.डा. जगदीशचन्द्र भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि लगायत पार्टीका कार्यालय सदस्यहरु परि थापा, सिताराम तामाङ लगायतका नेताहरुले स्कुलिङको महत्व बारे प्रष्ट पारेका थिय ।

त्यसैगरी कात्तिक १९ देखि २४ गतेसम्म तीनओटा टिमका बीचमा स्कूलिङ कार्यक्रम गर्ने समय तालिका बनाइएको छ । प्रदेश नं १ र प्रदेश नं २ मा कार्यरत आयोजक समितिका सदस्यहरु, प्रदेश नं ४ र प्रदेश नं ५ मा कार्यरत आयोजक समितिका सदस्यहरु र प्रदेश ६, प्रदेश ७ र प्रवास “क” मा कार्यरत आयोजक समितिका सदस्यहरुको छुट्टा छुट्टै टिमलाई फरक फरक स्थानमा एकैसाथ स्कुलिङ कार्यक्रम सञ्चालन गरिने सम्बद्ध स्रोतले जनाएको छ ।

जवस–मोर्चा तथा विभागमा कार्यरत आयोजक समितिका सदस्यहरुले काठमाडौं बाहेक अन्य स्थानमा आयोजित स्कुलिङ कार्यक्रममा पनि सहभागी हुन सक्ने पनि स्रोतले जानकारी दिएको छ । यसैबीच, क्रान्तिकारी कम्युनिस्ट पार्टीले महाधिवेशनलाई लक्षित गर्दै संघर्षका कार्यक्रमहरु समेत तय गरेको छ । हालै सम्पन्न आयोजक समितिको बैठकको स्प्रिट अनुसार पार्टीको कार्यालय बैठकले स्थानीय मुद्दाहरु उठाएर प्रदेश पार्टीको नेतृत्वका जिल्ला, नगर, गाउँ समितिहरुले संघर्षका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय स्तरमा जनताका मुद्दाहरुलाई लिएर संघर्ष गर्ने, स्थानीय कार्यक्रमहरुमा संसदीय व्यवस्थाको भण्डाफोर, राष्ट्रघाती एमसीसी, भ्रष्टाचार, महंगी, मिटरब्याजी शोषण, बेरोजगारी, लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता लगायत नेपाली भूभागमा गरिएको भारतीय हस्तक्षेप जस्ता मुद्दाहरु उठाउने निर्णय गरेको छ । त्यसैगरी संसदीय व्यवस्थाको भण्डाफोर गर्दा खाद्य सम्प्रभुता, मल, बीउ, कृषि बजारको सुनिश्चितता, सुलभ मूल्यको व्यवस्था, महँगी भ्रष्टाचार, कालोवजारी, मानव बेचबिखन, नक्कली शरणार्थी, राष्ट्रिय उद्योग बन्द, नदीनाला बेचबिखन, राष्ट्रिय पुँजीको संरक्षण, वित्तीय लुटपाट, बैङ्कहरूको सुदखोरीलगायतका विषय सहित पुँजीवादी उत्पादन सम्बन्धको भण्डाफोर गर्ने पनि स्रोतले जनाएको छ । कार्यक्रममा नेपाली संस्कृतिमाथिको साम्राज्यवादी÷विस्तारवादी हस्तक्षेपको पनि विरोध गर्ने बताइएको छ ।
मंसिर मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने टाइमलाइन बनाएको क्रान्तिकारी कम्युनिस्ट पार्टीले कात्तिक १२ देखि २४ सम्म पार्टी स्कूलिङ कार्यक्रम सञ्चालन गर्दैछ ।
बैठकले सबै जिल्ला सदरमुकामहरुमा प्रदर्शन, अन्तरक्रिया, छलफल कार्यक्रमहरु गर्ने, राष्ट्रघाती एमसीसी विरुद्ध प्रतिरोध कार्यक्रमहरु गर्ने पनि निर्णय गरेको छ ।पहिलो चरणको संघर्षको कार्यक्रम अन्तर्गत कात्तिक भरि प्रचारात्मक कार्यक्रम गर्ने -भित्ते लेखन, पर्चा वितरण, पोष्टर टाँस्ने र मंसिर १ देखि पुस १५ सम्म अन्तरक्रियात्मक, प्रचारात्मक, प्रतिरोधात्मक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशहरुमा अन्तरक्रियात्मक कार्यक्रमहरुको समय तालिका समेत ठोस गरेको छ । जसमा मंसिर १ अन्तरक्रिया प्रदेश १, मंसिर ५ अन्तरक्रिया प्रदेश २, मंसिर ८ अन्तरक्रिया प्रदेश ३, मंसिर १४ अन्तरक्रिया प्रदेश ४, मंसिर १८ अन्तरक्रिया प्रदेश ५, मंसिर २१ अन्तरक्रिया प्रदेश ६ र मंसिर २५ अन्तरक्रिया प्रदेश ७ को समय ठोस गरिएको छ ।

बैठकले पुुस १ देखि पुस १५ सम्मको अवधिलाई एमसीसी विरुद्धको प्रतिरोधमा लैजाने निर्णय गरेको छ । साथै, पुस १० गते माओ दिवस भव्य रुपमा काठमाडौमा मनाउने जसमा युवाहरुको नेतृत्वमा हजारौ युवाहरुको प्रदर्शन गर्ने समेत बताइयकाे छ।