९ बैशाख २०८१, आईतवार

“दशैँ”आदिम साम्यवाद युगमा महिलाले कृषिकर्म गर्दा सुरु गरियकाे चालचलन हाे: माेहन वैद्य ( किरण)

दशैँको अध्ययन गर्ने विविध पक्ष छन् :-
पहिलो त,परम्परागत रूपमा चलेको धार्मिक पर्व हो दशैँ । हिन्दु धर्मको मान्यता अनुसार,आसुरी शक्तिमाथि देवताहरूले विजय प्राप्त गरेको भन्ने गरिन्छ । खासगरी देवताहरूले नसकेर देवीहरूलाई गुहारेर राक्षसहरूलाई संहार गरेको हुनाले त्यही अवसरलाई दसैँ मानियो भन्ने कथा पाइन्छ ।

अझ अगाडि जानुहुन्छ भने तान्त्रिक मान्यताअनुसार, आदिम साम्यवादको जमानामा कृषिको सुरुवात गर्ने सिलसिलामा महिलाहरूले अनुसन्धान गरेको पर्व हो यो । यसमा जमरा लगाउने, घट स्थापना गर्ने भनेको पुरानो तान्त्रिक परम्परा हो भन्ने पनि मानिन्छ ।

तन्त्रको सुरुवात धेरै अगाडि भएको हो । पहिले आदिम साम्यवादी समाज थियो । त्यो बेलाको विचारधारा टोटेमवाद थियो, शोषण थिएन, अन्याय–अत्याचार थिएन । प्रकृति र समाजलाई बुझ्ने सिलसिलामा पूरै वैज्ञानिक विचार विकसित भएको थिएन । आधा भौतिकवादी आधा आदर्शवादी शैलीका विचारधारा थिए ।

त्यतिबेला मानिसहरू रहस्यमयतामा विश्वास गर्थे । बादल गर्जनु, पानी पर्नुको विज्ञान र व्याख्या मानिससँग थिएन । पानी परेन भने मानिसले तान्त्रिक कृत्य गर्थे । मान्छे बिरामी हुँदा वा दुर्घटनामा पर्दा जादुटुना, झारफुक गर्न थाले । यसरी तान्त्रिक परम्पराको विकास भयो । पहिले मातृसत्ता भएकाले महिला नै समाजमा जान्ने–बुझ्ने थिए । पहिले महिलाहरू पुरोहित थिए । पछि पितृसत्ता सुरु भएपछि महिलालाई बोक्सी भन्न थाले । आदिम साम्यवादी समाजमा महिलाहरू पुरोहित थिए भनेर मैले ‘संस्कृति’ भन्ने पुस्तकमा लेखेको छु । त्यतिबेला महिलाहरू शासक नै नभनौँ समाजमा प्रभावशाली हिस्सा थिए, सम्मानित पनि थिए ।

हिन्दु धर्मको मान्यता अनुसार, आसुरी शक्तिमाथि देवताहरूले विजय प्राप्त गरेको भन्ने गरिन्छ । खासगरी देवताहरूले नसकेर देवीहरूलाई गुहारेर राक्षसहरूलाई संहार गरेको हुनाले त्यही अवसरलाई दसैँ मानियो भन्ने कथा पाइन्छ ।
पछि आएर पितृसत्तात्मक समाजलाई प्रश्रय दिने शैव धर्म, वैष्णव धर्म आए । महिलालाई प्रश्रय दिने धर्म अथवा तन्त्र शाक्त हो । यसमा महिलालाई परम माहेश्वरी, आदि ईश्वरी भनेर चिनिन्छ । शाक्त धर्ममा महिलालाई शक्तिका रूपमा मानिन्छ । यता शैव धर्ममा आउँदा शिव परमेश्वर भए । वैष्णवमा विष्णु भगवान् सबैभन्दा पहिलेका भए ।

बौद्ध धर्ममा बज्रयान सम्प्रदाय छ । नेपाल कसरी बन्यो भनी खोज्दा नेमुनि ऋषिको चर्चा सुनिन्छ । यहाँको आदिम परम्पराले बज्रयोगिनी आदिम महिला मान्छ । इतिहासतिर फर्कंदा तन्त्र, धर्म, धर्मशास्त्र कताकता जोडिएर आएका छन् । यिनको संश्लेषण गरेर द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दृष्टिकोणका आधारबाट संश्लेषण गर्दा सही चिज पत्ता लगाउन सकिन्छ ।

तन्त्रभित्र कतिपय कुरा विज्ञानसम्मत होलान् । यसमा भौतिकवादका कैयौँ तत्व छन्, व्याख्या गर्दै जाँदा यो देखिन्छ तर ती सबै रहस्यले गाँजिएका छन् । तन्त्रबारे अध्ययन गरी त्यहाँभित्रका राम्रा चिज खोज्न सकिन्छ । यद्यपि तन्त्र, मन्त्र र पूजापाठ गरेर केही हुनेवाला छैन ।

दसैँ शास्त्र, तन्त्र आदिसँग जोडिएर आएको छ, पुराना परम्पराहरू यस्तै छन् । पर्वहरू धार्मिक, तान्त्रिक र पौराणिक आधारका छन् । यसको विश्लेषण र संश्लेषण गरेर कुन प्रकारले कुन बेला के कसरी पर्वहरू बने भनी एउटा निष्कर्षमा जानुपर्ने हुन्छ । इतिहासको अध्ययन गर्ने प्रक्रियामा, विगतको अध्ययन गर्ने प्रक्रियामा विश्लेषण गरिनुपर्छ तर त्यो बेलाका मान्छेले बनाए ती बदमास हुन् भन्न हुँदैन ।

समाजले बनाएर विशेष परिस्थितिमा चाडपर्व जन्मिएका छन् । पछिल्लो कालमा आएर सत्ताधारी वर्गले मानिसलाई धार्मिक अन्धविश्वास, तान्त्रिक अन्धविश्वासको भुलभुलैयामा पारेर शोषण गर्ने र आफ्नो स्वार्थसिद्धि गर्ने गरे । आजका पढेलेखेका मानिसलाई थाहा छ — आजको वैज्ञानिक जमानामा ईश्वर छ, पुराना कथाले भनेका देवीदेवता यथार्थ हुन्, तिनै ईश्वरले हामीलाई जन्माएको हो भन्नु गलत हो । तैपनि कतिपय यसैको पक्षधर छन् किनभने यसो गर्दा पुरानो सत्तालाई बचाउन सकिन्छ ।

देवीदेवता जे भने पनि मानव नै हुन् । हिजोका देवीहरूले दैत्यहरूलाई संहार गरे र यो पर्व मनाए भन्ने हो भने आजका नयाँ देवी तथा देवताहरूले गलत तत्व, बदमास, दलालहरूलाई सिध्याएर जनताको राज्य बनाउँछन् भने यस अवसरमा नयाँ पर्वहरू मनाउनै पर्‍यो ।

हिजो एउटा विजयको उत्सवका रूपमा दशैँ मानियो भन्ने कथालाई मान्ने हो भने नयाँ अवसरमा नयाँ विजयको उत्सवमा नयाँ पर्व मनाउन पनि सकिन्छ । पर्व त सरकारले बनाएर हुने हो । जस्तो सरकार आयो, त्यस्तै पर्व मानिन्छ । हामीले क्रान्ति गरेर आएपछि नयाँ पर्व मनाउने हो भने, सहिदहरूको सम्मानमा मनाउन सकिन्छ । यत्तिका छुट्टी दिइन्छ, सहिदकै सम्मानमा छुट्टी दिए भइहाल्यो ।

तन्त्रभित्र कतिपय कुरा विज्ञानसम्मत होलान् । यसमा भौतिकवादका कैयौँ तत्व छन्, व्याख्या गर्दै जाँदा यो देखिन्छ तर ती सबै रहस्यले गाँजिएका छन् । तन्त्रबारे अध्ययन गरी त्यहाँभित्रका राम्रा चिज खोज्न सकिन्छ । यद्यपि तन्त्र, मन्त्र र पूजापाठ गरेर केही हुनेवाला छैन ।

सामाजिक पर्व:पछिल्लो समय दसैँ सामाजिक पर्वका रूपमा स्थापित छ । घर–परिवारका सदस्य र आफन्त भेटघाट हुने गर्छन्, त्यसैले यसलाई सामाजिक पर्वका रूपमा पनि लिइन्छ । सामाजिक हिसाबले यो राष्ट्रिय पर्व हो तर सबै (अन्य धर्म समुदाय)का पर्वलाई राष्ट्रिय पर्व भन्नुपर्छ ।

सामाजिक पर्वहरूको लामो ऐतिहासिक पृष्ठभूमि हुन्छ । जनताले मनाउँदै आएका छन् भने जनताको भावनामाथि चोट पार्न भएन । विभिन्न धर्म मान्ने विविध जातजातिका जनता छन्, उनीहरू सबैको सम्मान हुने खालको कस्तो राष्ट्रिय पर्व मनाउने भन्नेबारे आम रूपमा छलफल गर्न सकिन्छ । यसका लागि परिवर्तनकामी सरकार चाहिन्छ । पुरानो राज्यसत्ता र पुरानो व्यवस्थामा नयाँको अपेक्षा गर्न सकिँदैन । नयाँ बनाउनलाई नयाँ व्यवस्था हुनुपर्छ ।

चाडपर्वका पिँधमा रहेका कथाहरूको त्यति सान्दर्भिकता छैन । यद्यपि यसमा जनताको भावना जोडिएका पनि छन् । त्यसैले सरकार र जनता सबै मिलेर एउटा रूपान्तरण गर्नुपर्छ भन्ने चेतना जनतालाई दिनुपर्छ र सोही अनुसारका नयाँ पर्वहरू बनाइनुपर्छ । मैले भनिहालेँ — जुन सत्ता र व्यवस्था छ, त्यहाँ विचार र संस्कृतिमा उसकै प्रभुत्व हुन्छ । अर्को विचार, अर्को संस्कृति हुने हो भने अर्कैको प्रभुत्व हुन्छ, पुरानो असान्दर्भिक हुन्छ भने सान्दर्भिक नयाँ पर्वहरू निर्माण गरिन्छ ।

सांस्कृतिक क्रान्ति:माक्र्सले धर्मलाई अफिम भने । यो अफिम हो, यसलाई ग्रहण गरेपछि झुम्म पार्छ । एकछिनका लागि झुम्म पारे पनि मुक्ति दिँदैन । संसारका सबै धर्म एउटा खास जमानामा जन्मिए । जन्मिसकेपछि एउटा अवस्थामा त्यो ठिकै पनि थियो । सुरुको धर्मको अर्थ यस्तो होइन, धर्म भनेको गुणजस्तै हो । पानीको धर्म के भने चिसो हुने हो । आगोको धर्म तातो हुने हो । मान्छेको स्वभाव हो धर्म । त्यसलाई बिगार्दै लगेपछि अर्कै बन्यो धर्म । त्यसकारण समाज विकास हुँदै गएपछि नयाँ विचार र मान्यता पनि विकास हुन्छ । एकैचोटि नयाँ विचार आएन भन्न पनि हुन्न । विकासको प्रक्रियामा नयाँ विचार आउने हुन् ।

नयाँ विचारको विकास भइसकेपछि समाजमा धार्मिक मूल्य–मान्यताले प्रश्रय पाउँदैनन् । नयाँ विचार र विश्व दृष्टिकोणले सम्पन्न भएको नयाँ पिँढीसँगै नयाँ संस्कार र संस्कृति जन्मन्छ । अनि समाज सांस्कृतिक क्रान्तिको दिशातिर उन्मुख हुुन्छ । सांस्कृतिक क्रान्ति गर्ने भनेको जनतालाई बुझाउने र रूपान्तरण गर्ने प्रक्रिया हो ।

पुराना विचार, आनीबानी, व्यहोरा, रीतिरिवाज, यी सबैलाई छाडेर एउटा आमूल परिवर्तन गर्नु नै सांस्कृतिक क्रान्ति हो । एक हिसाबले भन्ने हो भने पुराना मान्यता र विचारलाई छाडेर नयाँ मान्यता र विचारलाई अवलम्बन गर्नु नै सांस्कृतिक क्रान्ति हो ।

सांस्कृतिक क्रान्तिलाई एकोहोरो रटेर मात्रै हुँदैन । सांस्कृतिक क्रान्तिले राजनीतिक र आर्थिक क्रान्तिका निम्ति आधार तयार पार्छ । राजनीतिक र आर्थिक क्रान्तिले सांस्कृतिक क्रान्तिलाई सुदृढ बनाउनका निम्ति महत्त्वपूर्ण भूमिका खेल्छ । हामीले जनयुद्धका बेला र त्यसअघि पनि प्रगतिशील गीत–संगीतका सांस्कृतिक कार्यक्रम गथ्र्यौं । लेख–रचना पनि पुराना मूल्य–मान्यताको विरोध गर्दै नयाँ मूल्य–मान्यता स्थापित गर्ने खालका हुनुपर्छ भन्थ्यौँ । राजनीतिक क्रान्तिपछि सांस्कृतिक क्रान्तिलाई अझ नवीनतम किसिमले उठाइएन ।

सांस्कृतिक क्रान्ति निकै लामो समयसम्म चल्ने प्रक्रिया हो तर राजनीति क्रान्ति अलि छिटो हुन्छ । सांस्कृतिक क्रान्तिको तुलनामा आर्थिक क्रान्ति पनि छिटो हुन्छ । राजनीतिक, सांस्कृतिक र आर्थिक क्रान्ति परस्पर जोडिएका छन् ।

जनयुद्धमा सांस्कृतिक क्रान्ति सुरुवात गरियो । जातपात र छुवाछुत मान्नुहुँदैन, विवाह परम्पराको जुन चलन छ, त्यसलाई नयाँ ढंगले प्रेम विवाहका आधारमा गर्नुपर्छ भन्नेमा जोड दियौँ । दलितहरू र गैरदलितका बीचमा विवाह पनि भए । नयाँ मान्यता, नयाँ विचार, नयाँ संस्कृतिको जग बसाल्नुपर्छ भनेर सुरुवात गरियो । तर सांस्कृतिक आन्दोलन, सांस्कृतिक क्रान्ति एकै झट्कामा हुने होइन, लामो समय लाग्छ । किनभने यो एउटा विचारधाराको कुरा हो । यसमा आफू पनि बदलिने र समाजलाई पनि बदल्नुपर्छ ।

समाजलाई बदल्ने कानुन र दण्ड सजायले होइन । छलफल र बहसबाट विचारधारात्मक परिवर्तनतिर जानुपर्ने हुन्छ । जबर्जस्तीले हुँदैन । नयाँ विचार, नयाँ मान्यता स्थापित गर्दै सबैले बुझ्दै बुझाउँदै नयाँ परिवर्तन गरिनुपर्छ ।

चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति भयो । सम्पूर्ण पुराना विचारका विरुद्ध, गलत तत्त्व र प्रवृत्तिका विरुद्ध सांस्कृतिक क्रान्ति गर्दै गएपछि समाजवादलाई स्थापित गर्दै साम्यवादमा पुगिन्छ भनेर सांस्कृतिक क्रान्ति सुरु गरिएको थियो । चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई लिएर यहाँ पनि सांस्कृतिक क्रान्ति भन्ने गरिन्छ, तर सांस्कृतिक क्रान्तिको वास्तविक मान्यता र मर्मलाई बुझ्न र बुझाउन सकिएको छैन । सांस्कृतिक क्रान्ति भनेको आमूल परिवर्तनको कुरा हो ।

परिवर्तनका निम्ति, देशका निम्ति त्याग बलिदान गर्ने सहिदहरूको सम्मानमा यस्ता राष्ट्रिय पर्व मनाउनुपर्ने हुन्छ । यसरी पनि रूपान्तरण गर्न सकिन्छ । भविष्यमा गएर जस्ता सरकार र सामाजिक व्यवस्था आउँछ, त्यही अनुसार राष्ट्रिय पर्वहरू बन्दै जान्छन्, सधैँभरि उही (पुरानै) रहन्छ भन्ने हुँदैन । त्यसैले पर्वहरूलाई अलिकति नवीकरण गर्दै जाने काम हुन्छ ।

माओवादी आन्दोलन सांस्कृतिक क्रान्तिमा कहाँनेर चुक्यो भन्ने यहाँको जुन प्रश्न छ, सांस्कृतिक क्रान्तिमा मात्रै चुक्यो नभनौँ । धेरै पक्षमा कमी–कमजोरी र विचलन आए । नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवाद र साम्यवादतर्फ जाने भनेर दशवर्षे जनयुद्ध सुरु गरेको हो । आज आएर उही संसदीय व्यवस्था मानियो । दशवर्षे जनयुद्धमा केही नभएको होइन — गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता आयो । यसलाई ठूलै परिवर्तन मान्नुपर्छ तर यति मात्रैका लागि जनयुद्ध गरिएको थिएन । हाम्रो यात्रा त वैज्ञानिक समाजवादतर्फ थियो, यो प्रक्रियामा नेतृत्वको एउटा हिस्सा चुक्यो । अर्को हिस्साले आन्दोलनलाई जसरी अगाडि बढाउनुपर्ने हो, त्यसो गर्न सकिएन ।

हामीले भनिरहेको वैज्ञानिक समाजवाद भनेको के हो भन्ने यहाँको जुन प्रश्न छ, अहिलेको सत्ता र व्यवस्थामा दलाल पुँजीपति, नोकरशाह पुँजीपति, बचेखुचेका सामन्तहरूको हालिमुहाली छ । वैज्ञानिक समाजवादमा के हुन्छ भने सर्वहारा वर्ग, उत्पीडित जनताको हालिमुहाली हुन्छ । सत्तामा उनीहरू पुग्छन् र विद्यमान व्यवस्थालाई उल्ट्याइदिन्छन् ।

अहिले धनी र गरिबबीच भारी पर्खाल छ, यसलाई मेट्नुपर्छ । सम्पत्ति, शिक्षा र स्वास्थ्यको राष्ट्रियकरण गर्नुपर्छ । अहिले राज्यले चलाएका अस्पतालको हालत दयनीय छ तर निजीहरू सप्रेका छन् । निजीकरणले नै धनी र गरिबको पर्खाल झनै बढाएर लैजान्छ । त्यसकारण समाजवाद आउँदा सर्वहारा वर्गको नेतृत्वमा राज्यसत्ता चल्छ र सम्पत्तिको राष्ट्रियकरण भइसकेपछि शोषण, अन्याय, अत्याचार हुन्न, देश समानताको दिशातिर जान्छ ।

(कुराकानीमा आधारित) राताे पाटी