२३ भाद्र २०८१, आईतवार

गाैरा पर्वकाे अवसरमा राष्ट्रपति पाैडेलद्वारा शुभकामना ब्यक्त

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
शक्ति र प्रकृतिका रुपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ लाई अर्पण गरेपछि प्रसादका रुपमा ग्रहण गरेर यो पर्व मनाउने प्रचलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस पर्वमा शिव र पार्वतीको आराधनासहित व्रत बस्ने तथा यसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको बताएका छन् ।

राष्ट्रपति पौडेलले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।