३ श्रावण २०८१, शुक्रबार

“पोलिटिक्स इज डर्टी गेम”

लेखक : उदय बहादुर चलाउने (दिपक)

ड्याडी आज मलाई स्विमिङ कस्ट्युम चाहियो–चाहियो । कस्ट्युम नभए म स्कुल जाँदिनँ । सर–म्यामहरूले गाली गर्नुहन्छ, साथीहरूले जिस्क्याउँछन् ।’
‘ममीलाई भन न ।’

मेरो जबाफलाई प्रतिकार गर्दै छोराले भन्यो, ‘ममीले तपाईंलाई भन भन्नुहुन्छ । तपाईं ममीलाई भन भन्नुहुन्छ । जसले ल्याइदिए पनि मलाई कस्ट्युम चाहियो । आजै चाहियो, अहिल्यै चाहियो ।’

त्यही बीचमा नजिकैको कोठाबाट आवाज आयो– ‘मैले तपाईंलाई कतिपटक भनिसके, यसपटकको शुक्रवार छोरालाई पौडी खेल्ने बेला लगाउने कपडा अनिवार्य चाहिन्छ भनेर ? कसलाई चाहिया हो, कसले किन्नुपर्ने हो ? आफैँ–आफैँले विचार गर । मलाई कसैले तनाव नदेउ।’
मैले छोराको अनुहारतिर हेरे। जबाफको प्रतीक्षामा ऊ मलाई नै हेरिरहेको थियो । अब जबाफ के दिने हो ? म अकर्मण्य र निरुत्तर भावमा अलमलिएको देखेर उसले नै मौनतालाई तोडेर भन्यो– ‘ड्याडी, तपाईंले राजनीति गर्छु भन्नुभा’ होइन र ? अनि तपाईंले गरेको राजनीतिबाट पैसा नआउने भए किन त्यो पार्टीमा लागिराख्नुपर्यो ? हामी स्कुलमा ‘पोलिटिक्स इज डर्टी गेम’ भन्ने खेल खेल्छौँं । हाम्रो खेलमा त नेताहरूले धेरै पैसा कमाउँछन् । ठुल्ठूला घर बनाउँछन् । बैङ्कमा पैसा राख्छन् । विदेश घुम्न जान्छन् । हाम्रो त घर पनि सानो छ । तपाईंले हामीलाई कहिल्यै घुमाउन पनि लग्नुभएको छैन । बैङ्कमा पैसा भए निकालौँ न, आज मेरो कस्ट्युम किनौँला, भोलि शनिबार घुम्न जाऊँला !

भोलि त घुम्न जाने हुर्रे ! पोलिटिक्स इज डर्टी गेम ! हाहा ! हुर्रे !’

छोरो बतासिँदै कता गयो कुन्नि ? मेरो दिमाग रनन्न भयो । उफ् ! आजको समय, मेरो देश ! जुन देशका बच्चा–बच्चीहरूले ‘पोलिटिक्स इज डर्टी गेम’ को खेल खेल्छन् । म एउटा राजनीतिकर्मी । मेरो छोरो पनि त्यसमा जोडदार सहभागी हुन्छ । उसको भूमिका केमा हुन्छ कुन्नि ? तर उसले आफ्ना साथीभाइहरूका बीचमा कराइरहेको हुन्छ– पोलिटिक्स इज डर्टी गेम ! छोराको त्यो आवाजमार्फत मेरो समाजले नेता र राजनीतिबारे बनाएको ‘इमेज’ सम्झेर म क्षुब्ध भएँ । राजनीतिमा सक्रियतापूर्वक सहभागी भएको झन्डै तीस वर्ष पुग्दैछ । मभन्दा कैयौँ अघिल्लो पुस्ताका साथीहरू हुनुहुन्छ चार–पाँच–छ–सात दशकसम्म ब्यतित गरेका ! उहाँहरूका परिवारको अन्तरमनले के के भन्छ होला कुन्नि ? उता कथित ‘मूल धार’ को बर्को ओढेका साथीहरू हुनुहुन्छ । उहाँहरूको पनि दशकौँ बितेको छ राजनीतिमा । यो समयसम्म आइपुग्दा नेपाली जनताले प्रजातन्त्रको लडाइँ लडेको ७३ वर्ष पूरा भैसकेको छ । गणतन्त्रको लडाइँ लडेको पनि १७ वर्ष पुगिसक्यो । जनयुद्ध लडेको हाम्रो पुस्ताका दुई–तीन दशक प्रायः सबैका बितेका छन् । तर निकै विडम्बना के भयो भने आज हाम्रो देशका सम्पूर्ण वालबच्चाहरूले खेल्ने राष्ट्रिय खेलको नाम बनेको छ– पोलिटिक्स इज डर्टी गेम !

जब म कहिलेकहीँ गहिरो एकान्तमा हुन्छु, मलाई त्यो दिनको सम्झनाले निकै तर्साउँछ, सताउछ र अलिअलि गलाउन कोसिस गर्छ । जुन उद्देश्य र सपना बोकेर मैले राजनीतिको सक्रिय जीवन आरम्भ गरेको थिएँ, मेरो पुस्ता राजनीतिप्रति निकै आशावादी थियो । त्यो बेला राजनीति देश निर्माण र समाज परिवर्तनको एउटा अचुक अस्त्र थियो । जनयुद्धको भयानक समय त्यति सजिलै परास्त भएको होइन । चरम दमन, कठोर यातना र छिनछिनको बलिदानी उति सजिलै शमन भएको होइन । क्रान्तिको भविष्यप्रतिको विश्वास, देश र जनताप्रतिको समर्पण चानचुने थिएन । समग्रमा त्यो नेतृत्व र राजनीतिप्रतिको समर्पण एवम् विश्वास थियो । त्यसैले नै त्यो बेला नालापानी र देउथलका वलिदानीहरूले हामीलाई सशक्त ऊर्जा दिन्थे । चीन र भियतनामका कथाहरूले हराभरा र उत्साहित बनाउँथे । फ्रान्सेली र अमेरिकी क्रान्तिहरूले आत्मविश्वासी र रोमाञ्चक बनाउँथे तर आज नेपालको भाबी पुस्ता आफ्नो भविष्यप्रति निराश मात्र होइन, अति निराश बनेको छ । हुन पनि पछिल्लो समयको राजनीतिक यात्रामा निकै भद्दा प्रहसनहरू भइरहेका छन् । संसद्वादलाई स्वीकार गर्नेहरू होऊन् वा विरोध गर्नेहरू, राजतन्त्रलाई मान्नेहरू होऊन् वा नमान्नेहरू, सबै–सबै राजनीतिको न्यूनतम आदर्श र मूल्यबाट निकै विचलित र स्खलित भएका घटना–परिघटनाहरू बढिरहेका छन् । यसले प्रत्येक पार्टीका इमानदार कार्यकर्ताहरू र सर्वसाधारण जनतालाईसमेत लज्जित बनाइरहेको छ । मैले राजनीतिलाई अर्थोपार्जनको साधन बनाऊँ वा नबनाऊँ, मैले अनुसरण गरेको राजनीतिक सिद्धान्तले त्यसलाई घृणा गरोस् वा नगरोस्, मेरा कैयौँ सहकर्मीहरूले त्यसो गरून् वा नगरून् तर वर्तमानको तितो सत्य यही हो– नेपाली राजनीति अर्थोपार्जन गर्ने एउटा गजबको काइदा भएको छ । राजनीति आफ्नो मूल्यबाट नराम्ररी च्यूत भएको छ । राजनीतिक नेतृत्वहरू जनता र कार्यकर्तापङ्क्तिबाट बहिष्कृत भएका छन् । समाजले राजनीतिलाई असाध्यै तिरस्कारको दृष्टिले हेरिरहेको छ ।

सामाजिक क्रान्तिको अर्थराजनीतिक परिभाषा भनेको उत्पादनका साधनहरू (विशेषतः औजार÷प्रविधि) को निरन्तर विकास र त्यसले मानिसहरूका बीचमा पैदा गर्ने जबर्जस्त हलचल वा प्रभाव हो । मानव शैशवकालको आरम्भमा कामको सरलताका लागि बनाइएका हतियारहरू त्यसपछिको सम्पूर्ण समयमा तीव्र नाफा आर्जन गर्न तथा आफ्ना विरोधीहरूलाई मार्न (तह लगाउन) निरन्तर विकसित भइरहेका छन् । उत्पादन प्रविधिमा भएको यो निरन्तरको विकास र त्यसले उत्पादकत्वमा ल्याउने निरन्तरको वृद्धि एवम् उत्पादनको स्वामित्वमाथि हुने लुछाचुँडी नै सामाजिक क्रान्तिको आन्तरिक प्रेरक तत्व हो । समाजको एउटा तप्का, जसले विभिन्न नियम, कानुन र हतियारको बलमा परम्परादेखि नै उत्पादनका साधनहरूमाथि कब्जा जमाएर बसेको हुन्छ । उसले श्रमिक वर्गलाई कमभन्दा कम हिस्सा दिएर आफ्नो भाग बचाउन भरमग्दुर कोसिस गर्दछ । त्यसको ठीक विपरीत श्रमिक वर्गले आफ्नो पसिनाको मूल्य जति सक्दो ज्यादा पाउनुपर्ने जिकिर गर्दछ । यो जिकिर र लुटबीच कहिले साधारण त कहिले असाधारण सङ्घर्ष भइरहन्छ, हुँदै आएको छ । सङ्घर्षको यो निरन्तर प्रक्रियामा जब एउटा असाधारण परिस्थितिको निर्माण हुन्छ तब त्यो एक निकै ठूलो विस्फोटमा रूपान्तरण हुन्छ र क्रान्तिमा अभिव्यक्त हुन्छ ।

आजको विश्वमा हाम्रो देश मात्र नभएर विश्वव्यापी रूपमा उत्पादनका साधनहरू (सम्पत्ति) माथिको अति एकाधिकार (स्वामित्व) वारे ब्यापक बहस मात्र होईन तिब्र संघर्ष भईरहेको छ । एकातिर, श्रमिक वर्ग छ जसको हातमा उत्पादकत्वको अति सानो अंश मात्र हात लागेको छ । अर्कोतिर पुँजीपति वर्ग छ जसले उत्पादकत्वको निकै ठूलो हिस्सा हडप गर्दछ । सार्वजनिक तथ्याङ्कहरूका आधारमा मात्रै भन्ने हो भने पनि आज संसारका १ प्रतिशत धनी मानिसहरूको हातमा त्यति सम्पत्तिको थुप्रो लागेको छ जति ९९ प्रतिशत अरू मानिसहरूको सम्पत्ति रहेको छ । नेपालको मात्रै कुरा गर्ने हो भने पनि करिब १०० जना ठूला व्यवसायीहरूको हातमा बाँकी सम्पूर्ण नेपालीहरूबराबरको सम्पत्ति थुप्रो लागेको छ । हो, आजको नेपाल र विश्वराजनीतिकै चुनौती यही हो । सम्पत्ति (उत्पादनका साधनहरू) माथिको यो भयङ्कर असमानताको परिणाम एकातिर, आममानिसहरूका लागि आफ्ना बालबच्चाको सामान्यभन्दा सामान्य माग पूरा गर्नु निकै कठिन कार्य भइरहेको छ भने अर्कोतिर सीमित मानिसहरूले तिनै श्रमिकहरूको पसिनामाथि चरम सुखभोग गरिरहेका छन् । प्रश्न यत्तिमै सीमित रहँदैन, आजको राजनीतिले तिनै सम्पत्तिवाल मानिसहरूको इसारामा नियम र कानुनको दफा तयार गर्दछ र डन्डा चलाइरहेको छ । विश्वब्यापी रूपमा श्रमजीवी तप्काले भोगेको आजको वास्तविकता हो– राजनीतिको व्यापारीकरण÷व्यवसायीकरण र व्यवसाय÷व्यापारको राजनीतीकरण, अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण । अतः आजको राजनीति पुँजीको लाइसेन्स पेपर (अनुमतिपत्र) हो भने राजनीतिज्ञ पुँजीपति वर्गको केवल कारिन्दा मात्र !

अतः जुनसुकै नामका ‘नयाँ पार्टी’ बनाए पनि, जतिसुकै ‘नयाँ भाष्य’ तयार गरे पनि वा जादुको छडी चलाएझैँ ‘पवित्र मानिस’ तयार गरे पनि जबसम्म यो आधारभूत अन्तरविरोधको अग्रगामी समाधान हुँदैन तबसम्म आमश्रमिक वर्गले पुँजीवादका अनेकन प्रताडनाहरू झेलिरहनुपर्ने तथा एक सामान्य एवम् इमानदार राजनीतिज्ञले समेत ‘चोर, भ्रष्ट र अपराधी’ नेताको पदवी धारण गरिरहनु बाध्यता रहिरहनेछ किनकि सामान्यतः मानिसहरू (आम) को चेतनालाई उनीहरूको भौतिक परिवेश (उत्पादन पद्धति) ले निर्धारण गर्दछ । हाम्रो उत्पादन सम्बन्ध चौमुखे पिलोजस्तै छ जसलाई सामन्तवादले कटमिरो पारेर दलाल पुँजीवादले पकाएको छ । अतः जति बेलासम्म बाबुको सम्पत्तिमा बाँच्ने छोरा, श्रीमान्को सम्पत्तिमा बाँच्ने श्रीमती र विदेशीका कामदार जन्म दिने आमा–बाबाहरू हाम्रो समाजमा उत्पादन भइरहन्छन् तबसम्म नेपाली समाजको प्रगति अर्थात् सुख, शान्ति र समृद्धि असम्भव छ ।

एउटा आमसत्य के हो भने कुनै पनि मानिस खराब काम गर्न त्यति सजिलै इच्छुक हुदैन । तर खराब कार्य हो भन्ने थाहा हुँदाहुँदै पनि हाम्रा न्यायाधीशहरूले पैसाको तौलका आधारमा न्याय सम्पादन गर्दछन् । हाम्रा अस्पतालहरूले पैसाकै तौलका आधारमा स्वास्थ्य सेवा उपलब्ध गर्छन् । हाम्रा विद्यालयहरूले पैसाकै वजनका आधारमा शिक्षाको अवसर प्रदान गर्दछन् । नेताले कार्यकर्तामाथि पैसाकै सम्बन्धका आधारमा सम्बन्ध बनाउछन् । श्रीमान र श्रीमती, बाबु र छोराको समेत सम्पत्तिकै आधारमा सम्बन्ध निर्धारण हुन्छ । अतः पैसा हुनेहरूले मात्रै उपचार पाउँछन् र बाँच्छन् । पैसा हुनेहरूले मात्रै राम्रो शिक्षा आर्जन गर्न पाउँछन् र भविष्य सुनिश्चित गर्छन् । पैसा हुनेहरूले मात्रै सन्तुलित भोजनको सुविधा पाउँछन् र भौतिक तथा मानसिक रूपले तन्दुरुस्त हुन्छन् ।

सबैले समान अवसर पाउनसक्ने हामीसँग राज्यप्रणाली छैन । त्यसप्रकारको जनउत्तरदायी न राज्य न जनपक्षीय नीति नै छ । वर्तमान राज्यप्रणालीले भन्छ– सक्नेले गर, नसक्ने मर । परिणामतः किसानहरू बिचौलियाहरूसँग लड्न सक्दैनन् र उनीहरू मर्न बाध्य हुन्छन् । मजदुरहरू उद्योगपतिसँग लड्न सक्दैनन् र उनीहरू मर्न बाध्य हुन्छन् । श्रमिकहरू लघुवित्त, मिटरब्याजीहरूसँग लड्न सक्दैनन् र उनीहरू मर्न बाध्य हुन्छन् । व्यवसायीहरू बैङ्कसँग लड्न सक्दैनन् र उनीहरू मर्न बाध्य हुन्छन् । हुनुपर्ने भनेको : बिचौलियारूसँग लडेर राज्यले किसानलाई बचाउनुपर्ने हो । लघुवित्त र मिटरब्याजीहरूसँग लडेर राज्यले काम गरिखाने जनतालाई बचाउनुपर्ने हो । उद्योगपतिहरूसँग लडेर राज्यले मजदुरलाई बचाउनुपर्ने हो । निजी बैङ्कहरूसँग लडेर राज्यले व्यवसायीहरूलाई बचाउनुपर्ने हो ।

आजको सर्वाधिक आवश्यकता हो– जनतालाई वास्तविक अधिकार सम्पन्न बनाउनु, उनीहरूलाई आफ्नो सम्पत्तिका वास्तविक मालिक बनाउनु । त्यसका लागि यही प्रणालीभित्रै रहेर जुनसुकै प्रकारको पार्टी, मोर्चा वा गठबन्धन बनाउनुले बीसको उन्नाईस पनि हुनेवाला छैन ।

यसर्थ प्रत्येक पार्टीका इमानदार नेता–कार्यकर्ताहरूले समयमै सोच्न जरुरी छ । सम्पूर्ण नेपाली जनता र विशेषतः युवाहरूले सोच्न जरुरी छ । अतः अबको अभियान तथा कार्यक्रम हो– भ्रष्ट नेता र कर्मचारीको सम्पत्ति राष्ट्रियकरण गरौँ, देश निर्माणको नयाँ अभियान थालनी गरौँ ! तब आउँदो पुस्ताले खेल खेल्नेछ : पोलिटिक्स इज बेस्ट गेम टु बिकम स्टेट एन्ड हिमसेल्फ बेटर !

८ असार, २०८०