११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचार बिरुद्ध संघर्षका कार्यक्रम गर्ने

काठमाडौं । माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिसट पार्टी, नेपालले भ्रष्टाचारका विरुद्ध देशव्यापी संघर्ष चर्काउने निर्णय गरेको छ ।शुक्रबार जेठ ५ मा बसेको  पार्टीको केन्द्रीय कार्यालयको बैठकले जेठ ७ देखि १७ सम्म भ्रष्टाचारका विरुद्ध देशव्यापी संघर्ष गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष मोहन वैद्य किरणको अध्यक्षतामा बसेको बैठकले जेठ ७ गते काठमाण्डुको सम्वाद डबलीमा पार्टीको आयोजनामा अन्तक्र्रिया कार्यक्रम गर्ने, त्यसै गरी जेठ ८ र ९ गते विद्यार्थीले र जेठ १० र ११ गते मजदुुरले काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टी हेडक्वार्टरले जनाएको छ ।

प्राप्त जानकारी अनुसार जेठ ११ गतेभित्र आफ्नो अनुकूलतामा पार्टीले प्रदेश राजधानीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचारको विरोध तथा भण्डाफोर गर्ने, पार्टीको आयोजना र पार्टी तथा जवस मोर्चाहरुको सक्रिय सहभागीतामा १२ गते पोखरा, १३ गते बुटवल, १४ गते हेटौंडा र धनगढी, १५ गते जनकपूर वा सर्लाही, १६ गते विराटनगर वा इटहरी र १७ गते सुर्खेत भण्डाफोर तथा विरोध सभा सम्पन्न गर्ने कार्यक्रम तय गरिएको छ ।

पार्टी हेडक्वार्टरका अनुसार कार्यालयको बैठकले गरेका निर्णयहरु प्रभावकारी कार्यान्वयनका लागि सबै पार्टी तथा जनवर्गीय संगठनहरुमा सर्कुलर समेत गरिसकिएको छ ।
सम्भव भएसम्म जिल्लाहरुमा समेत भ्रष्टाचारका विरुद्ध विरोध प्रदर्शनसहितका कार्यक्रम गर्ने बताइएको छ ।

यसअघि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल)ले भ्रष्टाचार र राष्ट्रघाती नागरिकताका विरुद्ध देशव्यापी विरोध प्रदर्शनका कार्यक्रमको आयोजना गरेका थिए । बैशाख ३० गते काठमाडौं, १ गते पोखरा, २ गते बुटवल र हेटौंडा, ३ गते सुर्खेत, ४ गते धनगढी र विराटनगर र ५ गते जनकपुरमा विरोध प्रदर्शनसहितको सभाको आयोजना गरेको थियो ।

भुटानी शरणार्थी प्रकरणमा संलग्न ठूला र मुख्य भ्रष्टाचारी र योजनाकारहरुलाई बचाउने र पक्राउ परेका मानवतस्करहरुलाई समेत उन्मुक्ति दिने गरी अनुसन्धान प्रक्रियालाई कमजोर बनाउने तीव्र चलखेल भइरहेको बेला क्रान्तिकारी कम्युनिस्ट पार्टीले सडकबाट खबरदारी र राज्यलाई दबाब दिन संघर्षका कार्यक्रम दिएको पनि सम्बद्ध स्रोतले जनाएको छ ।