११ श्रावण २०८१, शनिबार

नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्य गम्भीर राष्ट्रघात : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

काठमाडौं ।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएकाहरूमा हाइफ्रोफाइलवाला व्यक्तिहरूको नाम एकपछि अर्को गरी छताछुल्ल भइरहेको बेला क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले उक्त घटना गम्भीर राष्ट्रघात र जनघात भएको बताएको छ ।

नेपाल सरकारको नेतृत्व गर्दै आएका पार्टीका नेताहरू, मन्त्रीहरू तथा सरकारका उच्चपदस्थ कर्मचारीहरूसमेत यस्तो कार्यमा संलग्न भएको कुरा अहिले नेपाली सञ्चारमाध्यममा छताछुल्ल भएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यो नेपालको इतिहासमा लज्जास्पद परिघटना भएको पनि बताएको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले मङ्गलबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘आर्थिक लाभका निमित्त आफ्नो देशका नागरिकलाई अर्कै देशको शरणार्थी बनाउने र तेस्रो देशमा पठाउने काममा सरकार नै संलग्न हुनु नेपालको इतिहासमा आजसम्मकै सबैभन्दा लज्जास्पद परिघटना हो । यो आर्थिक अपराध मात्र होइन, गम्भीर राष्ट्रघात तथा जनघात पनि हो । यस घटनामा संलग्न अपराधीहरू जोकोही भए पनि तिनलाई कडाभन्दा कडा कारबाहीको भागी बनाउन हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।’

नेपालीलाई भुटानी शरणार्थी बनाएर आर्थिक लाभ लिएको घटना सम्बन्धमा पूर्वमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको र योसँगै पूर्वगृहमन्त्रीसमेत रहेका एमालेकै अर्का नेता रामबहादुर थापा, काङ्ग्रेस नेत्री आरजू राणा देउवालगायतको नाम सञ्चारमाध्यममा आइरहेको र कयौँ उच्चपदस्थ सरकारी कर्मचारी, सुरक्षाविज्ञका नाममा सरकार निकट बसेर लाभको पद लिएका व्यक्ति र पूर्वमन्त्रीका परिवारका सदस्यहरूसमेत पक्राउ परिसकेको अवस्थामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यो व्यवस्था रहेसम्म यसप्रकारका घृणित हर्कत रहिरहने भन्दै यो व्यवस्थाको कमजोरी रहेको र व्यवस्था बदल्न जरुरी भएको बताएको छ ।

पार्टी प्रवक्ता कञ्चनद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘यो परिघटना एकाध भ्रष्टाचारीहरूको आर्थिक लोभको मात्र हर्कत होइन, यो दलाल तथा नोकरशाही पुँजीवादी सत्ता तथा व्यवस्था र संसद्वादी पार्टीका नाइकेहरूको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक पतनकोे सटिक अभिव्यक्ति हो । सत्तासीनहरूको आपसी भागबन्डा नमिलेको र तिनका बीचको अन्तर्विरोध चर्केका कारण यसपालि यो घटना बाहिर आएको हो । यस्ता काण्डहरू हिजो पनि भएका थिए र यो व्यवस्था रहेसम्म भोलि पनि दोहोरिँदै जाने कुरा निश्चित छ । यसप्रकारको बेथितिबाट मुक्ति पाउने एक मात्र उपाय भनेको नोकरशाही तथा दलाल पुँजीवादी सत्ता तथा व्यवस्थाको अन्त्य र त्यसको स्थानमा नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना हो ।’

मानव तस्कर र भ्रष्टाचारीहरू सबैलाई छिटोभन्दा छिटो कारबाही गर्न माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले यस्ताखाले अपराधमा संलग्न सबैलाई कडा कारबाही गर्न मागसमेत गरेको छ ।

पार्टी प्रवक्ता कञ्चनको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘तत्कालका हिसाबले यस अपराधमा संलग्न सबै राजनीतिक माफियाहरू, नोकरशाहहरू, दलाल तथा मानव तस्करहरूमाथि कडाभन्दा कडा कारबाहीका लागि आवाज उठाउन र नेपाली जनताले भोग्दै आएका समग्र समस्याको दीर्घकालीन समाधानका लागि नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न हाम्रो पार्टी सम्पूर्ण देशभक्त, क्रान्तिकारी, वामपन्थी तथा प्रगतिशील जनतामा हार्दिक अपिल गर्दछ ।’

बिज्ञप्ति हेर्नुहास :