११ श्रावण २०८१, शनिबार

कर्णालीमा कांग्रेस सरकारमा गए वेदराज सिंह मन्त्री बन्ने पक्का

सुर्खेत ।कर्णाली  प्रदेशमा सत्तारूढ गठबन्धनले राजकुमार शर्मा नेतृत्वको सरकारमा मन्त्रिपरिषद विस्तारको गृहकार्य गरिरहँदा जाजरकोटका वेदराज सिंह मन्त्री बन्ने पक्का भएको बताइएको छ । जाजरकोट प्रदेश क बाट निर्वाचित सिंह मन्त्री बन्ने पक्का भएको काँग्रेस निकट स्रोतले बताएको हाे ।

कर्णालीमा नेपाली कांग्रेसभित्र मन्त्री बन्न सांसदहरूको दौडधुप बढेको छ । कांग्रेसभित्र नेता र गुट अनुसार ‘कोटा’मा मन्त्री बाँडफाँट गर्ने गृहकार्य भइरहेको भएपनि जाजरकोटबाट निर्वाचित सांसद राजिव बिक्रम शाह र बेदराज सिंह मध्य पहिलो चरणमा बेदराज सिंह मन्त्री बन्ने पक्कापक्की भएको जनाइएको छ ।

कर्णाली सरकार विस्तार गर्ने तयारी गरिरहेका बेला नेपाली काँग्रेशबाट तिन जनाको नाम तय भैरहेको बताइएको छ । स्रोतका अनुसार अन्तिम टुंगो लाग्न भने बाँकी रहेको बताइएको  छ ।

४० सदस्यीय कर्णाली प्रदेशमा सरकार बनाउन २१ सिट आवश्यक पर्छ । कांग्रेससँग १४, माओवादीसँग १३, एकीकृत समाजवादीका एक जना सांसद छन् । यस्तै एमालेसँग सभामुखसहित १०, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नयाँ नेतृत्व पाउने छ ।