११ श्रावण २०८१, शनिबार

सहकारी प्रवर्द्धन कोषको रकम परिचालन गर्न सरकारलाई महालेखाको निर्देशन

काठमाडौं ।महालेखापरीक्षकको कार्यालयले सहकारी प्रवर्द्धन कोषमा जम्मा भएको रकम प्रभावकारी तवरले परिचालन गर्न निर्देशन दिएको छ । कोषमा गत वर्ष ४ करोड ७७ लाख ६९ हजार र यो वर्ष १ करोड ८१ लाख ६४ हजार रुपैया गरी ६ करोड ५९ लाख ३३ हजार रुपैयाँ जम्मा छ।

सहकारी ऐन, २०७४ मा सहकारी प्रवर्द्धन कोषमा सहकारी संस्थाहरूको जगेडा कोषमा रहेको रकमको ०ं५ प्रतिशतले हुने रकम साधारण सभाबाट लेखापरीक्षण प्रतिवेदन अनुमोदन भएको १५ दिनभित्र सहकारी संस्थाले कोष खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ। कोषमा अधिकांश सहकारी संस्थाले रकम जम्मा नगरेको समेत महालेखाले जनाएको छ । कोषमा रकम जम्मा नगर्ने सहकारीको लगत खडा गरी आवश्यक कारबाहीको लागि विभागमा लेखी पठाउने व्यवस्था भए पनि नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

कोष सचिवालयले सहकारीहरूबाट विवरण सङ्कलन नगरी बैङ्क स्टेटमेन्टको आधारमा कोषमा एकमुष्ट आम्दानी जनाउने गरेकोले रकम दाखिला गर्ने सहकारीको विवरण एकिन नगरेकोमा समेत प्रश्न उठाएको छ ।