११ श्रावण २०८१, शनिबार

कुशे गाउँपालिका जाजरकोटमा मदिरा निषेध प्रभावकारी बन्दै

जाजरकोट । कुशे गाउँपालिकालाई मदिरा निषेधित बनाउने निर्णय प्रभावकारी बन्दै गएको छ । २०७९ साल असार २८ गते बसेको गाउँ सभाको वैठकले गाउँपालिकालाई मदिरा निषेध बनाउने निर्णय गरेको थियो । उक्त निर्णय प्रभावकारी रुपमा कार्यान्वयन भईरहेको स्थानीय प्रकाश सिंहले जानकारी दिए ।

‘गाउँपालिकाले निर्णय गर्नुभन्दा पहिले गाउँघरमा मदिरा सेवन गरी जथाभावी होहल्ला गर्नेको विगविगी धेरै थियो’, उनले भने, ‘अहिले त्यो शान्त भएको छ, पसलहरुमा पनि रक्सीका बोतलहरु पाउन सकिदैन् ।’ गाउँघरमा मदिरा सेवन गरी दिन विताउनेहरु अहिले आफ्नो काममा लागेको देख्दा साह्रै खुशी लागेको सिंहले बताए । गाउँपालिकाले घरेलु मदिरा सँगै ब्रान्डेट मदिरा समेत निधेष गरेको छ । गाउँपालिकाले साह्रै राम्रो निर्णय गरेको कुशे गाउँपालिका – २ का स्थानीय हरि सिंहले बताए ।
गाउँपालिकाले यसलाई अझै प्रभावकारी रुपमा कार्यान्वयनका लागि पहल गरिरहेको गाउँपालिका अध्यक्ष हरिचन्द बस्नेतले जानकारी दिए । घरेलु मदिरा वितरण गरेर छोराछोरी पढाउने र परिवार पाल्ने परिवारहरुको संख्या निर्धारण गरी अनुदानमा आधारित रोजगारीमा लगाउने बारे छलफल भईरहेको अध्यक्ष बस्नेतले बताए । गाउँपालिकालाई पूर्ण रुपमा मदिरा निषेधित गाउँपालिका घोषणा गरिएको छ । निर्णय विपरित उक्त कार्य कसैले गरे कानुन बमोजिम कार्वाही हुने प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाहीले जानकारी दिए ।