२ कार्तिक २०८१, शुक्रबार

प्रधानमन्त्री : प्रचण्डद्वारा चिडियाखाना अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहालले सोमबार ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको अवलोकन तथा निरीक्षण गरेका छन् । दाहाल आफ्ना छोरीहरु रेणु र गंगा दाहाल साथै सचिवालयका सदस्यहरूसहित यहाँ आइपुगेका हुन् ।

दाहालले चिडियाखाना अवलोकन गर्दा कुनै रमझम नै नगरी सामान्य नागरिक सरह भ्रमण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा. नरेश सुवेदीले जानकारी दिए । यस क्रममा प्रधानमन्त्री दाहालले यसअघि आफू ३० वर्षअघि चिडियाखाना घुमेको स्मरण गरेका थिए ।

चिडियाखानामा वन्यजन्तुको व्यवस्थापनप्रति प्रधानमन्त्री दाहालले खुसी प्रकट गरेको डा. सुवेदीले जानकारी दिए ।

अवलोकनका क्रममा उनले बाघ र गैंडा धेरै मनपर्ने उल्लेख गर्दै तिनको बारेमा कर्मचारीहरूसँग सोधखोज गरेका थिए । चिडियाखानामा राखिएका हरेक वन्यजन्तुको बारेमा पनि उनले सोधेका थिए । चिडियाखानामा हाल पाँचवटा बाघ र तीनवटा भाले गैंडा रहेको डा. सुवेदीले जानकारी दिए ।

उनीहरुले चिडियाखाना सानो भएको र अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा प्रधानमन्त्री दाहालले यसबारे आफूले बुझ्ने र थप जानकारीका लागि कार्यालयमा बोलाउने आश्वासन दिएका छन् ।

सदर चिडियाखानामा एक सय दुई प्रजातिका एक हजारभन्दा बढी वन्यजन्तुहरू छन् । प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारी, निर्देशक डा. चिरन्जिवी पोखरेल, चिडियाखाना प्रमुख रचना शाहलगायत कोषका कर्मचारीहरूले प्रधानमन्त्री दाहाललाई स्वागत गरेका थिए ।