२५ आश्विन २०८१, शुक्रबार

जाजरकोट : शैक्षिक इतिहास

लेखक : जनक के.सि.

पृष्ठभुमि
नेपाल विभिन्न राज्यहरुमा विभाजित भई वाइसे चौविसे राज्यहरु अस्तित्वमा रहेको समयमा जाजरकोट राज्य पश्चिमको एक शक्तिशाली अनि प्रभावशाली राज्य थियो भन्ने कुरा विभिन्न दस्तावेजहरुमा पढ्न पाइन्छ । जाजरकोट राज्य र राजाहरुको इतिहासका धेरै कुराहरु चर्चामा आएको भएपनि यहाँको शैक्षिक इतिहास के हो भन्ने वारे खासै खोजी तथा चर्चा भएको पाइदैन । ६ सय २४ वर्ष अघि विक्रम सम्वत १४५५ अर्थात सन् १३९८ मा स्थापना भएको जाजरकोट राज्यमा शैक्षिक गतिविधिहरु कहिले देखि सुरु भए ?

कसले सुरु ग¥यो ? भन्ने कुराको कुनै एकिन जानकारी छैन । जाजरकोट राज्य र राजाहरुको इतिहास खोज्दै जाने क्रममा यहाँको शैक्षिक गतिविधि औपचारिक रुपमा १ सय २३ वर्ष अघि मात्र सुरु भएको देखिन्छ । भौगोलिक विकटता, गरिवी, अज्ञानता र नेपाल राज्य सँगको प्रत्यक्ष र निरन्तर सम्पर्कको अभावले राज्य स्थापना भएको लामो समय सम्म शैक्षिक गतिविधिमा शून्यता जस्तै देखिन्छ । प्राप्त जानकारी अनुसार जिल्लाको शैक्षिक गतिविधिको इतिहास कहिले देखि सुरु भयो भनेर एकीन गर्न नसकिए पनि विक्रम सम्वत १९५६ सालतिर तिब्बतको मानसरोवरमा तिर्थयात्रा गरि जाजरकोट हुदै फर्किन लागेका साधु महात्मालाई जाजरकोटी राजा उपेन्द्रविक्रम शाह र उनकी जेठी मुमा पटिटका जुजुभाइहरुले खलंगामा वसाली आफुहरुलाई अंग्रेजी र उर्दु पढाउन लगाए ।

त्यसभन्दा अघि पनि जाजरकोटी राजाहरुले नेपालकै अन्य जिल्ला र ठाउँका महात्माहरु, व्राम्हणहरुलाई दरवारमा वोलाई अनौपचारिक रुपले पढाउन लगाउने गरेको पनि पाइन्छ । दरवारमा काम गर्ने विभिन्न थरीका कर्मचारीहरुले दरवारको अनुमति लिएर इच्छुक सर्वसाधारणहरुलाई पढाउन दरवारले अनुमति दिएको पनि पाइन्छ । विक्रम सम्वत १९८२ साल चैत्र २६ गते जाजरकोटे राजाकी राजकुमारी समुद्रकुमारी शाहले आफना भाई नुरविक्रम शाहलाई आफैले हस्त लिखित पत्र पठाएको घटनाले पनि जाजरकोटमा सीमित मात्रामा भएपनि शैक्षिक गतिविधि पहिले देखिनै थियो र राजाका सन्तानले पढाइ गर्ने गरेका थिए भन्ने प्रमाणित हुन्छ ।

जाजरकोटमा औपचारिक शिक्षाको सुरुवात :
जाजरकोटमा विक्रम सम्वत १९७९ सालमा राजा उपेन्द्रविक्रम शाहले सदरमुकाम खलंगामा पहिलो भाषा पाठशाला स्थापना गरेपछि मात्र औपचारिक शिक्षाको सुरुवात भएको मानिन्छ । त्यो समय भन्दा अघि जाजरकोटमा कुनै पाठशाला, विद्यालय वा शैक्षिक संस्था र औपचारिक शैक्षिक गतिविधिहरु सन्चालनमा आएको भेटिदैन् । शिक्षा लिन चाहाने सीमित व्यक्तिहरुले गाउँघरमा घुम्न आएका साधु, महात्मा वावा तथा जान्ने विद्धानहरुलाइ घरमा वोलाइ या उनीहरुलाइ व्यक्तिगत रुपमा भोजन, आवास तथा अन्य सुविधा दिएर खुसी वनाइ आफना छोराछोरीलाइ पढाउन लगाउने गरेको भेटिन्छ । विक्रम सम्वत १९७९ सालमा खलंगाको दरवारमा स्थापना भएको भाषा पाठशाला २००७ साल सम्म कायम रहेको र त्यो पाठ शालामा १० जना शिक्षकहरुले विभिन्न समयमा अध्यापन गरेको पाइन्छ ।

पाल्पाका क्रृषिराज शर्मा , पाल्पाकै थानश्वर शर्मा , सल्यान डाँडागाउँका मेघराज शर्मा, प्युठानका नारायण दत्त शर्मा , प्युठानकै चेतनाथ शर्मा, प्युठानकै रविलाल शर्मा, सल्यान सांकोटका नन्दकुमार शर्मा, दैलेख भुर्तिका भवानीप्रसाद शर्मा, सल्यान डाडाँगाउँका मोहनलाल शर्मा र सल्यान डाँडागाउँका घनस्याम शर्माले उक्त पाठशालामा अध्यापन गरेका थिए । भाषा पाठशालामा पढाउने शिक्षकहरुलाइ उति वेला पण्डित भनिन्थ्यो । पढाउने ठाउँ कतै नभएकोले सुरुमा राजाको दरवारको मुल ढोकामा पढाइन्थ्यो पछि हाल जिल्ला समन्वय समितिको सभाहल रहेको स्थानमा रहेका दुई कोठामा पाठशालाको पढाइ चलेको पाइन्छ ।

उति वेला पाठशालामा पढाउने गुरु पण्डितलाई विद्यार्थीहरुले गोडामा ढोग्ने चलन थियो । पछि २००७ सालतिर उक्त भाषा पाठशाला राजाकै दरवारको दक्षिण ढलानको खुला कोठामा सन्चालन हुने पठनपाठन संगै वन्द भयो । यो भाषा पाठशाला वन्द हुनको प्रमुख कारण राजाहरुले जाजरकोटमा वसाई गर्न छोड्नु थियो । उक्त भाषा पाठशालामा दुइ जना पण्डितको दरवन्दी थियो भने मुख्य पण्डितको तलव मासिक २० रुपैयाँ र सहायक पण्डितको मासिक १७ रुपैया भएको पाइन्छ । पछि विक्रम सम्वत १९९७ सालमा उक्त तलव वढेर मुख्य पण्डितको २३ र सहायक पण्डितको २० रुपैया पुगेको पाइन्छ । त्यतिवेला भाषा पाठशालामा दुइ वटा मात्र कितावहरु पढाइ हुन्थे

एउटा शिषुवोधनी र अर्काे ठुलो वर्णमाला । ती कितावहरु जिल्लामा थोरै आउने भएकोले पण्डित र अलि जान्ने विद्यार्थीहरुले नै नेपाली कागजमा लेखेर उतार गरेको सामाग्री नै अन्य विद्यार्थीहरुलाइ दिएर पढाउने गरिन्थ्यो । उति वेला नेपाली र गणित अनि अंग्रेजी पढाउने चलन थियो । किताव नभएको वेला विद्यार्थीले घरवाट जुन किताव ल्याए त्यहि पढाइ हुने गथ्र्याे । भाषा पाठशालामा १९९६ साल देखि मात्र छात्राहरुले पढेको देखिन्छ भने त्यो भन्दा अघि कुनै छात्राले पढेको देखिदैन ।

१९९६ सालमा राजा स्वयमप्रकाश विक्रम शाहले काठमाडौंवाट जाजरकोट फर्केपछि उनका छोरीहरुलाइ भाषा पाठशालामा पढन् लगाएपछि जिल्लामा छात्राहरुको पढाइको वाटो खुलेको हो । पछि राजाका भाइ भारदार र अन्यका छोरीहरुलाइ पनि पढाउन थालिएको पाइन्छ । यो भाषाा पाठशालामा दलितहरुले पढन भने १९९७ साल देखि मात्रै पाएको देखिन्छ । राजा स्वयम प्रकाशसंग खलंगाकै लाटो कटुवालले आफनो छोरा डिल्लो कामीले दरवारमा आइ पढ्ने इच्छा गरेको भनी विन्ति गरेपछि राजाले पढ्न दिएका थिए ।

जाजरकोटमा सवै भन्दा पहिलो अंग्रेजी जान्ने व्यक्ति राजा जंगवहादुर शाहका साइला छोरा राजकुमार नरजंग शाहका नाति अर्थात शम्शेरजंग शाहका छोरा नीरजंग शाह हुन । उनी जाजरकोटमा सवै भन्दा पहिले एसएलसी पास गर्ने व्यक्ति पनि हुन् । राणा प्रधानमन्त्री वीरसम्सेर राणाका छोरा प्रताप सम्शेर राणाले विहे गरेकी नरजंग शाहकी छोरी नारायण दिव्यस्वरी शाहले आफना भतिजा नीरजंग शाहलाइ आफैसंग राखेर पढाएको र उनलाइ वनारसमा लिएर पढाएका कारण अंग्रेजी जान्ने र सवै भन्दा पहिलो एसएलसी पास गर्ने जाजरकोटी भएका हुने । नीरजंग शाह पछि दोस्रो एसएलसी पास गर्ने जाजरकोटी नरजंगकै जेठा छोरा प्रेमजंग शाह हुन् ।

नीरजंग पछि अंग्रेजी जान्ने जाजरकोटीहरुमा राजा स्वयमप्रकाश शाह, वालजंग शाह हुन् । नीरजंग शाहले वनारसवाट फर्किएपछि दुइ वर्ष सम्म जाजरकोटका युवाहरुलाइ निशुल्क अंग्रेजी पढाए । उनले निशुल्क अंग्रेजी पढाएका युवाहरुमा कृष्णप्रसाद भन्डारी, यज्ञस्वर कार्की, चित्रवहादुर कार्की लगाएत हुन् । विक्रम सम्वत १९७९ सालमा स्थापना भएको भाषा पाठशाला २००७ माघ ५ गते वन्द भएपछि फेरि खुल्न सकेन । २००८ सालमा राजा स्वयमप्रकास काठमाडौं छोडेर फेरि जाजरकोटमा आए ।

जिल्लामा भाषा पाठशाला वन्द भएपछि जाजरकोटका वालवालिकाहरु पढ्नवाट वन्चित भएको भन्दै स्थानीय युवाहरु नीरजंग शाह, इस्वरीवहादुर शाह र भक्तवहादुर कार्कीले राजासंग विद्यालय खोल्नका लागि विन्ति गरे । यसै अनुसार राजाले अहिले जिल्ला समन्वय समितिका समन्वय अधिकारीको कार्यकक्ष रहेको भवन रहेको क्षेत्रमै रहेको खुला चौरमा पढाउने गरि प्राथमिक तहको पढाइ हुने भाषा पाठशालामा वालवालिकाहरु पढाउन स्थानीय योगेस्वर कार्कीलाइ राज्यमालवाट मासिक २३ रुपैया तलव पाउने गरि शिक्षक नियुक्त गरियो । उक्त पाठशालामा चालिस पचास जना विद्यार्थीहरु भर्ना भएर पढ्न आउन थाले ।चार वर्ष देखि १२ वर्ष सम्मका विद्यार्थीहरुलाइ पढाउने गरिएको उक्त पाठशालामा निशुल्क पढाउने गरिएको थियो भने त्यहा १ कक्षाका विद्यार्थीहरुलाइ अक्षर चिन्न र लेख्न सिकाउने र २ र ३ कक्षाका विद्यार्थीहरुलाइ नेपाली लेख्न र पढ्न तथा अँग्रेजीका चारै प्रकारका अक्षरहरु पढ्न र लेख्न सिकाउने गरिन्थयो।

त्रिभुवन मिडिल स्कुलको स्थापना :
२००७ सालमा ठुलो राजनैतिक परिवर्तन आएपछि सवैतिर यसको असर परयो । प्रजातन्त्र स्थापनापछि वनेको सरकारले शिक्षा नीति फेर्ने काम गरेपछि जताततै विभिन्न स्कुलहरु खोलिन थाले । शिक्षाको राम्रो पहुच नभएको जाजरकोटमा भाषा पाठशाला स्थापना भएको ३० वर्ष पछि २००९ साल फागुन १९ गते स्थानीय समाजसेवीहरु नीरजंग शाह, इस्वरीवहादुर शाह र भक्तवहादुर कार्कीको विशेष पहलमा खलंगामा एउटा मिडिल स्कुल र अन्य नौ स्थानहरु पैंक, लिम्सा, खगेनकोट, डाँडागाउँ, विजयस्वरी, दार्माकोट,आठवीसकोट, अन्तरकोट र सिलांगी भन्ने ठाउँमा प्राथमिक तहका विद्यालयहरु खोल्न शिक्षा मन्त्रालयवाट अनुमति प्राप्त भयो ।

त्यतिवेला लिम्साका खड्गवहादु रोकाय, खलंगाका कर्णवहादुर भडेल, काठमाडौंवाट जाजरकोट दरवारमा खरिदारको जागिर गरि अवकास पाएका सालिग्राम वाग्ले र जिल्ला वाहिरका केहि व्यक्तिहरुलाइ शिक्षक नियुक्त गरिएको थियो । जाजरकोटी राजाको दरवारमा सन्चालन भइरहेको भाषा पाठशालालाइ नै २००९ साल फागुन १९ गते विद्यालयको रुपमा स्वीकृति गराइ २०१० साल वैशाख १४ गते देखि पठनपाठन सुरु गराइएको थियो । उक्त मिडिल स्कुलको पठन पाठन २०२२ साल सम्म हाल जिल्ला समन्व्य समिति रहेको रातो दरवारमा सन्चालन भयो । यहि अनुसार सो रातो दरवारलाइ राजा स्वयमप्रकाश विक्रम शाहले आफु जाजरकोट आएको वेला २०१० सालमा यसै विद्यालयको नाउँमा दिने मौखिक घोषणा गरे ।

पछि राजा स्व्यम प्रकाशका छोरा प्रकाशविक्रम शाहले विक्रम सम्वत २०४१ सालमा जिल्ला पन्चायतलाइ सो भवन दुइ लाख ५० हजारमा विक्रि गरि २ लाख रकम विद्यालयलाइ हस्तान्तरण गरेका थिए ।काठमाडौं निवासी मानिकराज शाक्यलाइ पहिलो प्रधानाध्यापकको रुपमा नियुक्ति गर्दै औपचारिक रुपमा सन्चालन भएको त्रिभुवन मिडिल स्कुललाइ व्यवस्थित वनाउने काम गरियो । सुरुमा यस स्कुलमा मानिकराज शाक्य,योगेस्वर कार्की, चित्रवहादुर कार्की, गणेशप्रसाद भण्डारी, कृष्णप्रसाद भण्डारी, गणेशराज शर्मा अनि पछि सल्यान निवासी द्धारीका प्रसाद प्रधान जाजरकोट निवासी केशवजंग शाह लगाएतका व्यक्तिहरुले यस विद्यालयको शिक्षक भएर काम गरे ।

त्रिभुवन माध्यमिक विद्यालय :
२००९ सालमा त्रिभुवन मिडिल स्कुलको नामले स्थापित भएको विद्यालयलाइ जिल्लामा माध्यमिक तहको पढाइ हुने विद्यालय नभएको महसुस गरि विक्रम सम्वत २०२२ साल फागुन महिनामा जिल्लाका भद्रभलाद्मीहरुको वैठकले माध्यमिक विद्यालय स्थापना गर्ने निर्णय गर्यो । यसै अनुसार २०२३ साल वैशाख १४ गते त्रिभुवन हिमालय मिडिल स्कुललाइ त्रिभुवन माध्यमिक विद्यालयको रुपमा परिणत गर्ने निर्णय गरियो । यस पछि यहि त्रिभुवन माध्यमिक विद्यालय जिल्लाको पहिलो माध्यमिक विद्यालय वन्यो ।

उक्त माविको पठनपाठन २०२३ साल देखि २०२६ साल सम्म जिल्ला समन्व्य समिति रहेको रातो दरवारमा सन्चालन भयो । त्यसपछि उक्त विद्यालयको पठन पाठन केहि समय गैरीखालीमा पनि भएको थियो भने २०३१ साल देखि यो विद्यालयको पठनपाठन हालको स्थान अर्थात थाप्लेचौरमा सरेको हो । हालको थाप्लेचौरमा रहेको यस विद्यालयलाइ यस स्थान उपलव्ध गराउन तत्कालिन खलंगा गाउँपन्चायतलाइ निर्णय गर्ने काममा पुर्व आपुर्ति सहायक मन्त्री तथा जिल्ला पन्चायत सभापति स्वर्गिय तेजविक्रम शाह लगाएतका व्यक्तिहरुले सहजीकरण गरेका थिए ।

त्रिभुवन उच्च माद्यमिक विद्यालय :
यो विद्यालय जाजरकोट जिल्लाको पहिलो माध्यमिक विद्यालय मात्र होइन जाजरकोटमा सवै भन्दा पहिलो कक्षा ११ र १२ को पठनपाठन गराउने पहिलो विद्यालय पनि हो । जिल्लामा उति वेला उच्च माध्यमिक तह कक्षा ११ र १२ को पठनपाठनको आवस्यकतालाइ मध्यनजर गरि तत्कालीन प्रधानाध्यापक तथा हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारवहादुर शाहको पहलमा २०५२ साउन १८ गते तत्कालीन उच्च माध्यमिक शिक्षा परिषदको स्वीकृति प्राप्त भयो ।

यस स्वीकृति अनुसार २०५२ भदौ ५ गते देखि जिल्लाकै पहिलो उच्च माध्यमिक विद्यालयमा शिक्षा शास्त्र तर्फको कक्षा ११ र १२ को पठनपाठन पनि सुरु भयो । विद्यालयको क्षमता विकास गर्ने क्रममा कक्षा ११ र १२ पढ्ने विद्यार्थीहरुका लागि २०६२÷६३ सालमा व्यवस्थापन संकाय र २०६८÷६९ सालमा विज्ञान संकायको पढाइ सुरु भयो । यसै गरि जिल्लाका जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समिति र तत्कालीन प्रधानाध्यापक हेरम्वहादुर शाहको पहलमा यस विद्यालय गत दुइ वर्ष देखि संघीय सरकारको लगानीमा नमुना विद्यालय वन्ने अभ्यासमा छ ।

विद्यालयका लागि पुर्व विद्यार्थी र अन्य व्यक्तिहरुको प्रत्यक्ष योगदान :
जिल्ला र मुलुककै परिवर्तन र विकासमा महत्वपुर्ण योगदान दिन सक्ने सवल जनजक्ति उत्पादन गरेको यस विद्यालयको हित र उन्नतिमा धेरै व्यक्तिहरुले सँस्थागत र व्यक्तिगत रुपले साथ र सहयोग गरेका छन् । विद्यालयको हितमा भुमिका गरेकाहरुलाइ विद्यालयले उचित सम्मान र सम्झना गर्न सकेको छ कि छैन त्यो एउटा पाटो हो तर निस्वार्थ रुपले जाजरकोटी विद्यार्थी र विद्यालयका लागि उनीहरुले गरेको सहयोग र योगदान भावि पुस्ताका लागि प्रेरणाको श्रोत वनेको छ ।

विद्यालय स्थापनाको ६८ वर्ष सम्म गतिलो खानेपानीको सुविधा नहुदा विद्यार्थीलाइ समस्या परेको कुरा महसुस गरि मेरो पहल र नेतृत्वमा एक सय वढी विद्यालयका पुर्व विद्यार्थीहरुले आफनो क्षमता अनुसारको सहयोग गरेर २०७७ पुस २१ देखि सुरु भएको त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरुलाइ खानपानी दिऔं अभियान मार्फत २० दिनमा २०७७ माघ विद्यालयमा पानी पुरयाए । पाँच किलोमिटर टाढा वुदवुदी तलको कोटखोलीवाट ल्याएको पानी विद्यार्थीहरुलाइ दिनका लागि विद्यालयमा खानेपानीको टंकी धारा निर्माण गरि आफुले शिक्षा प्राप्त गरेको विद्यालय प्रति उनीहरुले एउटा सानो कर्तव्य पुरा गरे ।

२०७७ फागुन १९ गते विद्यालयको वार्षिक उत्सवका दिन पुर्व विद्यार्थीहरुको तर्फवाट उपहार स्वरुप विद्यालयलाइ प्रदान गरिएको खानेपानीले विद्यालय लगाएत वरिपरिको समुदायलाइ समेत ठुलो राहत मिलेको छ । विद्यालयमा पुर्व विद्यार्थीहरुले व्यक्तिगत सहयोगमा खानेपानी ल्याइदिएपनि अहिले सम्म विद्यालय व्यवस्थापन समितिले औपचारिक रुपमा निर्णय गरेर धन्यवाद दिएको छैन।विद्यालयप्रति योगदान गरेकाहरुलाइ धन्यवाद दिने नदिने , सम्झना गर्ने नगर्ने विद्यालयको आफनो कुरा हो ।

यसै गरि विद्यालय र यहाँ पढ्ने विद्यार्थीहरुको पढाइमा सहयोग गर्न आफना छोराको नाम र सम्झनामा सुवोध प्रधान छात्रवृत्ति स्थापना गर्ने पुर्व प्रधानाध्यापक द्धारीका प्रसाद प्रधान, वुवाको नाउँमा टीकाप्रसाद भण्डारी छात्रवृत्ति स्थापना गर्ने सीता भन्डारी, आफना वुवा हिरालाल खनालको सम्झनामा छात्रवृत्ति स्थापना गर्ने छोराहरु वालकृष्ण खनाल, वेदराज खनाल, गणेश खनाल र भरत खनाल तथा आफनो वुवाको नाउँमा प्रत्यक वर्ष सानै भएपनि विद्यार्थीहरुलाइ पढाइ सहयोग दिने प्रभाकर शर्मा, लगाएतको योगदान र भुमिका सवैका लागि प्रेरणादायी छ ।आफु जन्मेको माटो र आफुले शिक्षा आर्जन गरेको विद्यालय प्रति उनीहरुले गरेको सहयोग र योगदानले भोलिका पुस्तालाइ पनि केहि गर्नु पर्छ भन्ने सन्देश दिएको छ ।
अन्त्यमा :
जिल्लाको पहिलो विद्यालय मात्र नभएर शैक्षिक अभियानको नेतृत्वकर्ता विद्यालय भएको हुनाले समय परिस्थिति र अवसरहरुलाइ तर्कपुर्ण ढंगले वुझदै विश्लेषण गर्दै अगाडिको यात्रा तय गर्न जरुरी छ । त्रिभुवन माध्यमिक विद्यालय जाजरकोटको एउटा विद्यालय मात्र नभएर एउटा शैक्षिक आन्दोलन हो । जिल्लाको एउटा गौरवपुर्ण इतिहास हो यसलाइ जोगाउने, सिंगार्ने र जिल्लाको गर्व गर्न लायक शैक्षिक धरोहर वनाउने जिम्मेवारी हामी सवैको हो ।

विद्यालय सन्चालनको प्रत्यक्ष नेतृत्व लिएकाहरुको सकरात्मक तथा सिर्जनात्मक खुला सोच र अप्रत्यक्ष रुपमा जोडिएका सवैले विद्यालयप्रति नकरात्मक टिकाटिप्पणीहरुको मात्रा घटाउदै जिम्मेवारीवोधको दायित्व निर्वाह गर्नु अहिलेको मुर्त आवस्यकता हो । यस तर्फ सवैमा सकरात्मक तथा सिर्जनात्मक उर्जा र इच्छा शक्ति प्राप्त होस विद्यालयको ७० औं वार्षिक उत्सवको अवसरमा शुभकामना ।।। धन्यवाद  ।