११ श्रावण २०८१, शनिबार

राष्ट्रपतिमा दुई सभामुख बिच प्रतिस्पर्धा हुने

facebook sharing button१३ फागुन, काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गराएका हुन् ।

पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ रहेका छन् ।

त्यस्तै समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् । पौडेललाई नेपाली कांग्रेससँगै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेपछि पौडेलले चुनाव हुने दिन २५ फागुनसम्म आफूलाई एमालेले पनि समर्थन गर्ने विश्वास व्यक्त गरे । ‘एमाले अध्यक्ष पनि म सँगै जेल बस्नुभएको हो, पुरानो साथी हो, यो पदलाई राष्ट्रको साझा पद बनाउन उहाँले योगदान गर्नुहोला भन्ने अपेक्षा गरेको छु’ उम्मेदवारी मनोनयन दर्तापछि उनले पत्रकारहरुसँग भने ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रस्तावकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन् । समर्थकमा एमालेकै नेताहरु योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी थापा (रावल) र अमनकुमार मास्के रहेका छन् ।

उम्मेदवारी दर्तापछि नेता नेम्वाङले पनि आफू नै राष्ट्रिय सहमतिको उम्मेदवार बन्न सक्ने बताए । विगतमा संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको र त्यही संविधानको संरक्षक हुने अवसरका लागि हिंडेको भन्दै उनले भने, ‘राष्ट्रिय सहमति मेरो हकमा पनि हुनसक्छ ।’

messenger sharing button