११ श्रावण २०८१, शनिबार

शीत लहर बढेसंगै देशैभरी जाडाे बढ्याे ।

२१ पुस, बिहीबार  । तराई मधेशका जिल्लामा शीतलहर सुरु भएको मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको मौसमविद्को भनाइ छ । शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराई मधेशका जिल्लाहरुमा धेरैजसो विद्यालय बन्द गरिएको ।

तराईका जिल्लाहरुमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर एक दशमलव ९ डिग्री सेल्सियससम्म झरेको छ । अधिकतम र न्युनतम तापक्रम औसत पाँच डिग्री सेल्सियसभन्दा कम हुनुलाई शीतलहरको एउटा आधार मानिन्छ । यस्तै दिनभरीमा दुई घण्टाभन्दा कम समयमात्रै घाम लाग्नु अर्को आधार हो ।

अहिले तराई मधेशका धेरै जिल्लामा शीतलहर चलेको र यस्तो अवस्था अझै एक-दुई दिन कायमै रहने पूर्वानुमान गरिएको मौसमविद विनु महर्जनले बताइन् । बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लागे पनि दिउँसोको समयमा केही कम हुने उनले बताइन् ।

अहिले काठमाडौं उपत्यकामा पनि कुहिरो लागेको छ । तर उडान नै प्रभावित हुने खालको भने छैन । मौसमविद् महर्जनका अनुसार बिहान आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी चार किलोमिटर थियो । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु र कुहिरो क्रमशः हट्दै गएको र दिउँसो घाम पनि लाग्ने उनले बताइन् ।

काठमाडौंमा आजको न्यूनतम तापक्रम आज ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस थियो ।

मौसमविदहरुका अनुसार यो वर्षको जाडो भर्खरै सुरु भएको छ । अझै केही दिन जाडो बढ्नसक्ने भएकाले पूर्व सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । कमजोर खालको पश्चिमी न्यून चापीय प्रणाली नेपालमा रहेकाले तत्काल हिउँ पर्ने र पानी पर्ने सम्भावना पनि छैन । जल तथा मौसम विज्ञान विभागले यो वर्षको हिउँदमा गत वर्षको तुलनामा कम पानी पर्ने प्रक्षेपण गरेको छ ।

पानी नपर्दा वायुमण्डलमा धुलोका कण मिसिएको बाक्लो तुवाँलो लागेको छ । प्रदूषणयुक्त तुवाँलो हट्न पानी पर्नुपर्ने वा वायुको गति बढी हुनुपर्ने हुन्छ । तर यी दुवै सम्भावना अहिले तत्काल नरहेकाले प्रदूषण बढेको छ । त्यसैले मास्क लगाएर मात्र घर बाहिर निस्किन पनि मौसमविदले सुझाव दिएका छन् ।

काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६० छ । यो प्रदूषणको हिसाबले निकै खराब अवस्था हो ।