२२ भाद्र २०८१, शनिबार

चलचित्र बिकास बाेर्डले गर्याे आन्दोलनका कार्यक्रम घाेषणा ।

काठमाडौं । चलचित्र विकास बोर्ड खारेजीको माग गर्दै चलचित्र संघले विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा भएको देशभरका सयभन्दा बढी हल व्यवसायीको भेलाले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग्ने, हल बन्द गर्नेदेखि बोर्डमा ताला लगाउने सम्मका कार्यक्रम तय गरेका छन्।

जसअनुसार पुस १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, १४, १५ र १६ गते हलमा कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम तय गरिएका छन् । उक्त मितिसम्म पनि मन्त्रालयले ठोस सम्बोधन नगरे हल बन्द गर्ने र बोर्डमा ताला लगाउनेसम्मका कार्यक्रम घोषणा गरेका छन् ।

चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले अध्यक्ष भुवन केसीसँग वार्ता नगर्ने निष्कर्षमा आफूहरु पुगेको बताए । ‘अब हामीहरु मन्त्रालयस्तरमै वार्ता गर्छौं,’ उनले भने, ‘हामी क्रमशः कडा आन्दोलनसहित अघि बढ्छौं ।’

एक साताअघि नै फिल्म सेन्सर हुनुपर्ने, राति १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने र विश्वकप फुटबलजस्ता कार्यक्रम देखाउन नपाइने भन्ने बोर्डको नियमलाई लिएर चलचित्र संघ आक्रोशित छ । साथै, प्रदर्शकको भेलाले सिंगल स्क्रिन हलका मुद्दामा समेत बोर्ड गम्भीर नभएको बताएको छ ।

कोरोना महामारीले थलिएका फिल्म हललाई राहत दिने काममा बोर्ड गम्भीर भएन । सहजीकरण गर्ने भन्दा पनि शासन लाद्ने काम भयो । देशभरका सबै साथीहरुको सहमतिमै हामी आन्दोलनमा होमिने निर्णय गरेका हौं,’ महर्जनले भने ।

यसैबीच, चलचित्र संघको राष्ट्रिय भेलाले चलचित्र विकास बोर्डको नेतृत्वसँग वार्ता नगर्ने निर्णय गरेको छ । ‘बोर्डसँग वार्ता नगर्ने हाम्रो निर्णय भएको छ । अब मन्त्रालयस्तरमै वार्ता हुन्छ । सोहीअनुसार १२ गते ज्ञापनपत्र बुझाउँछौं,’ उनले भने ।

भेलाको पूर्वसन्ध्यामा मंगलबार बोर्डले वार्तामा बस्न आग्रह गर्दै संघलाई पत्र लेखेको थियो । तर वार्तामा नबस्ने जवाफ आफूहरुले दिएको महासचिव महर्जनले बताए ।