११ श्रावण २०८१, शनिबार

चिसो बढ्दै, काठमाडौं उपत्यकाको तापक्रम १० डिग्रीबाट पनि तल झर्‍यो

        देशभर दिनप्रतिदिन चिसो बढ्ने तथा तापक्रम घट्ने क्रम जारी छ। यसै क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्रीबाट पनि तल झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहानको मापनमा काठमाडौं उपत्यकको तापक्रम ९.७ डिग्री देखिएको हो। हिजो शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री थियो। केही दिनयता काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हरेक दिन लगभग १ डिग्रीका दरले ओरालो लागिरहेको छ ।

मौसमविद् अधिकारीका अनुसार अस्ति बिहीबार उपत्यकाको न्यूनतम तापक्रम ११.४ डिग्री थियो भने चार दिनअघि (नोभेम्बर ८ तारिखमा) १२.५ डिग्री सेल्सियस थियो। तर यस अगाडि नोभेम्बर ३ तारिखमा भने काठमाडौं उपत्यकाको तापक्रम १० डिग्री सेल्सियस थियो। मौसमविद्का अनुसार तापक्रम घटीबढी हुने भए पनि मूलतः घट्दो क्रममै छ।

देशका अन्य स्थानका न्यूनतम तापक्रम भने मौसम महाशाखाले अहिले बिहान ८:४५ बजे प्रकाशन गर्नेछ।