११ श्रावण २०८१, शनिबार

न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध : अख्तियार

    काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतप्रति अनास्था फैलाउने विषय कल्पनासमेत गर्न नसकिने प्रस्ट पारेको छ । अख्तियारले मंगलबार पत्रकार सम्मेलन गरेर विशेष अदालतबाट मुद्दाको विपक्षमा भएका फैसलाप्रति असन्तुष्टि जनाएको थियो । त्यसको दुई दिनपछि नेपाल बार एसोसिएसनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अख्तियारको अभिव्यक्तिप्रति स्वतन्त्र न्यायापालिकाविरुद्ध भएको भन्दै ध्यानाकर्षण गराएको थियो ।

बारले विज्ञप्ति जारी गरेलगत्तै अख्तियार स्वतन्त्र न्यायापालिकाप्रति अनास्था फैलाउने कुरा कल्पनासमेत गर्न नसकिने जनाएको हो । ‘यसै सन्दर्भमा चालु आर्थिक वर्षमा हालसम्म सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको बारेमा पुनरावेदन गर्दा लिइएका आधारहरुको सम्बन्धमा आयोगबाट मिति २०७९/०७/२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणका सम्बन्धमा आयोगबाट असल मनसायका साथ गरिएको कार्यलाई सो विपरित सार्वजनिक निकायहरुबीच भ्रम सिर्जना र द्वन्द्व निम्त्याउने प्रकृतिबाट भएको सम्प्रेषणतर्फ आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्ति उल्लेख छ ।

अख्तियारले न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको समेत जनाएको छ । ‘अदालतको निर्णयको सम्मान गर्दै आयोग न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको, सम्मानित अदालतको गरिमाप्रति अनास्था फैलाउने विषय कल्पनासम्म पनि गर्न नसकिने र स्वतन्त्र न्यायपालिकाको अवधारणाप्रति सदाझैँ अविचलित रहने हुँदा आयोगबाट मिति २०७९/०७/२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणलाई सोही रुपमा बुझिदिनुहुन सम्बन्धित सबैमा आयोग हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।