२३ भाद्र २०८१, आईतवार

भूकम्पबाट निधन भएकाहरूप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली, घाइतेको उपचार र पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग

     काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मङ्गलबार राती डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा भूकम्पले घर भत्किँदा दुःखद् निधन भएका ठाडागाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुका साथै भूकम्पमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको अपेक्षा गरेका छन् । प्रवक्ता सुदर्शनले घाइतेहरूको शीघ्रातिशीघ्र उपचार गराउन र भूकम्पले घर भत्काएपछि जाडोमा आगो तापेर रात बिताउन बाध्य पीडितको बसोबास र खानपिनको व्यवस्था मिलाउन सरकारसँग माग पनि गरेका छन् ।

प्रवक्ता सुदर्शनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘डोटी जिल्लामा रहेको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर मङ्गलबार राती ६.६ म्याग्निच्युडको भूकम्प गएको र जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं ३ गैरागाउँमा घर भत्किँदा घरमा च्यापिएर ठाडागाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको दुःखद् निधन भएको खबरले हाम्रो पार्टीलाई दुःखी बनाएको छ । हाम्रो पार्टी भूकम्पबाट निधन भएका सबैमा हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुका साथै भूकम्पमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको अपेक्षा गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी भूकम्पमा परी निधन भएकाहरूको परिवारलाई अविलम्ब राहत उपलब्ध गराउन, घाइतेहरूको उपचार गर्न र भूकम्पले क्षति पुर्याएका सम्पूर्ण घर पुनर्निर्माण गर्न सरकारसँग माग पनि गर्दछ । जाडोको मौसममा भूकम्पले बस्ने घर नै भत्काएपछि आगो तापेर रात कटाउन विवश पीडित परिवारलाई शीघ्रातिशीघ्र बसोबास र खाद्यान्न उपलब्ध गराउन पनि हाम्रो पार्टी सरकारलाई आग्रह गर्दछ ।’