११ श्रावण २०८१, शनिबार

माओवादी केन्द्र का पाेलिटब्युराे सदस्य रामदिप काे चुनावी अपिल , सार्वजनिक

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार रामदिप आचार्यले चुवानी अपिल सार्वजनिक गरेका छन् । अपिलमा आर्चायले जाजरकोट विकासका लागि चुनावी एजेण्डाहरु समेत सार्वजनिक गरेका छन् ।
यस्ताे  छ अपिलकाे पूर्णपाठ :

हार्दिक अपिल ! आदरणीय जाजरकोटबासी जनसमुदाय !
मैले प्रतिनिधिसभा समानुपातिक तर्फको उम्मेद्वारको रूपमा आफ्ना विचारहरू, धारणाहरू र प्रतिवद्धताहरू संक्षेपमा व्यक्त गर्न यो अपिल जारी गरेको छु ।

१. हाम्रो अवलोकन योग्य ब्रह्माण्ड बनेको १३.८ अर्ब वर्ष र हाम्रो पृथ्वी बनेको ४.५ अर्ब वर्षको इतिहासमा एउटा साधारण धुलोको कण बौद्धिक प्राणीको रूपमा विकसित भयो । हाम्रो प्रजाति होमो सेपियन्स निर्जीव वस्तुबाट एक कोषीय जीव, बहुकोषीय जीव, सरिसृप, स्तनधारी जनावर र अन्तमा पशुजगतबाट अलग भएर मान्छे बन्यो । यो मान्छे निरन्तर परिवर्तन र विकासको प्रक्रियामा छ ।
२. आउनुहोस् जाजरकोट, कर्णाली र समग्र नेपाल निर्माण गर्न आजको ब्रह्माण्डीय दृष्टिकोणका साथ अगाडि बढौँ ।
३. उर्जामा क्रान्ति
पशु जगतबाट अलग भएको लगभग साठी लाख वर्ष, अफ्रिकाबाट संसार यात्रामा हिँडेको सत्तरी हजार वर्ष र कृषि युगमा प्रवेश गरेको दश हजार वर्षमा मानवजातिको विकासको गति मन्द थियो । जब वाष्प इञ्जिनको आविष्कारका साथ उर्जाको प्रयोग गर्न थालेपछि विकासको गतिले तीव्रता लियो । मानवजातिको तीव्र विकासको कुञ्जी भनेको उर्जाको प्रयोगको स्तर हो ।

यातायात, उद्योग र सञ्चार लगायत समग्र मानव जीवनमा अकल्पनीय परिवर्तन भयो । यो उथलपुथलको केन्द्रमा रहेको जीवाश्मा इन्धन (पेट्रोलियम पदार्थ) को युग एक सय वर्ष नपुग्दै सकिदैछ र यसको स्थान नविकरणीय उर्जाले लिदैँछ । उर्जा सम्बन्धी नीतिको हाम्रो उच्च प्राथमिकतामा जल विद्युत, सौर्य उर्जा, हवाई उर्जा र बायोग्याँस आदि पर्दछन् । वैज्ञानिकहरू र योजनाविद्हरूले भविष्यवाणी गरेका छन् कि मानव जाति निःशुल्क उर्जाको युगतर्फ प्रवेश गर्दैछ ।

हाम्रो सन्दर्भमा तत्काल गर्नुपर्ने काम हो केन्द्रीय प्रशारणबाट वितरित बिजुली सबै घरमा पाँच वर्ष भित्र पु¥याइसक्ने, नलगाड जलाशययुक्त राष्ट्रिय आयोजनाको काम अगाडि बढाउने, सौर्य उर्जा र साना जलविद्युतको काम पनि वैकल्पिक रूपमा अगाडि बढाउने ।
४. यातायातमा क्रान्ति
उर्जामा क्रान्तिले यातायातमा क्रान्ति लिएर आयो । यसले औद्योगिक क्रान्ति र विश्व बजारलाई जन्म दियो । विश्व बजारले पूँजीवाद भनेर चिनिने राजनैतिक र आर्थिक प्रणालीलाई जन्मायो । अनुमान गराँै कि निःशुल्क उर्जाले निःशुल्क यातायात बनाउने छ । निःशुल्क यातायातले विद्यमान बजार प्रणालीलाई समाप्त पार्नेछ र वैकल्पिक बजार प्रणालीको विकास हुनेछ । जुन बजार प्रणालीले पूँजीवादलाई जन्म दिएको थियो त्यसको अन्त्यसँगै पूँजीवादको पनि अन्त्य हुनेछ र नयाँ वैकल्पिक प्रणाली समाजवादले त्यसको ठाउँ लिनेछ ।

युरोपमा दुई सय वर्ष अघि विकसित भएको यातायात प्रणालीको काम हामी अहिले गर्दैछौँ । दुई सय वर्षसम्म हामीले अवलम्बन गरेको आर्थिक, राजनैतिक प्रणाली हाम्रो विकासको बाधक रह्यो । विकसित भनेर चिनिएका देशहरू विद्युतीय गाडी, चालकरहित स्वचालित यातायात र उड्ने कारहरू बनाइरहेका छन् । हामी भने भर्खरै बाटो खनिरहेका छाँै ।
जाजरकोटको सन्दर्भमा यातायातमा क्रान्ति भइरहेको छ । देशकै जीवनरेखा मानिने पुष्पलाल लोकमार्गले बयासी किलोमिटर छिचोलेको छ । संसारका बन्दै गरेका दुई महाशक्ति देशहरू चीन र भारत जोड्ने भेरी करिडोर जाजरकोटबाटै अगाडि बढिरहेको छ । अन्तर्राष्ट्रिय स्तरका प्रख्यात दुई पर्यटकीय स्थलहरू लुम्बिनी र रारा जोड्ने राष्ट्रिय राजमार्ग जाजरकोट हुँदै अगाडि बढेको छ । यी तीन वटा सडकहरूले समग्र यातायात प्रणालीमा क्रान्ति ल्याउनेछ । यसको साथमा अन्तर जिल्ला, अन्तर पालिका र सबै वडाहरू जोड्नुछ । हाम्रो विकास आजसम्म खडा भएका भव्य आधारहरूमा टेकेर नै हुनेछ न कि शून्यबाट । यसपछिको हाम्रो काम सडकलाई अन्तर्राष्ट्रिय मापदण्डमा विकसित गर्नुहुनेछ ।
५. सञ्चारमा क्रान्ति
क) अहिलेको युग सञ्चार क्रान्तिको युग हो ।
ख) अहिले आठ अर्ब मान्छेहरू र खरबौँ वस्तुहरू इन्टरनेटमा जोडिएका छन् ।
ग) अबको विश्व बजार इन्टरनेट बजार हुन गएको छ ।
घ) हामीले सोचेभन्दा हाम्रो जीवन तीब्रतामा परिवर्तन भइरहेको छ प्रविधिमा घातांकीय वृद्धि भइरहेको छ । उर्जामा क्रान्ति, यातायातमा क्रान्ति र सञ्चारमा क्रान्ति एकअर्कामा अन्तर सम्बन्धित रहेका छन् । अहिलेको हाम्रो लक्ष्य सबैको पहुँचमा इन्टरनेट सुविधा उपलब्ध गराउनु हो । यसको लागि चाहिने सबै पूर्वाधारहरू पाँच वर्षभित्र पुरा गरिसक्नुपर्नेछ । सबैलाई फोर जी उपलब्ध गराउँदै पाइभ जीको पूर्वाधार निर्माण गर्नुपर्ने भएको छ ।
६. विज्ञान प्रविधिमा क्रान्ति
क) सञ्चार प्रविधि एक अंश हो भने विज्ञान प्रविधि समग्र हो । प्राचीन युग प्राकृतिक दार्शनिक युग, मध्य युग धार्मिक युग र अहिलेको युग विज्ञान प्रविधिको युग हो । आज प्रविधि मानव जीवनको अभिन्न वस्तु बन्न गएको छ । प्रविधिले हाम्रो दैनिकी र समग्र जीवनशैलीलाई अकल्पनीय रूपमा परिवर्तन गरिरहेको छ ।

ख) आजका वैज्ञानिकहरूको सर्वोच्च सवाल प्रकृतिका चार शक्तिहरू गुरूत्वबल, विद्युत चुम्बकीय बल, कमजोर र बलियो आणविक बललाई एउटै सिद्धान्तमा एकीकृत गर्ने प्रयास हो । अर्को शब्दमा, आजको युग विज्ञान प्रविधिको युग हो र आजको विज्ञान प्रविधिको आधार क्वान्टम भौतिकी हो । हामीले स्थुल जगतको अध्ययन गर्ने सापेक्षताको सिद्धान्त र सुक्ष्म वस्तुको अध्ययन गर्ने क्वान्टम सिद्धान्तलाई एकीकृत गर्नुपरेको छ । किनकी प्रत्येक वैज्ञानिक क्रान्तिपछि नयाँ उथलपुथल आउने गरेको छ ।
ग) आजको संसारमा विज्ञान र प्रविधिको विकासले मात्रै देशको विकास सम्भव हुन्छ । अतः हाम्रो देश र समाजलाई विकसित गर्न हामीले विज्ञान र प्रविधिमा विशेष जोड दिनैपर्दछ । हाम्रा विश्वविद्यालयहरूले बायोटेक्नोलोजी, कम्प्युटेस्नल प्रणाली, नेटवर्क र सेन्सरहरू, कृत्रिम बौद्धिकता, रोबोटिक्स, डिजिटल उत्पादन र नानो टेक्नोलोजी लगायतका विषयहरू समावेश गरेर पढाउनुपर्नेछ । मानव जाती क्वान्टम कम्प्युटर निर्माणको लक्ष्यमा छ । क्वान्टम कम्प्युटर आजको सुपर कम्प्युटर भन्दा एक अर्ब गुणा शक्तिशाली हुनेछ भन्ने अनुमान छ ।

समाजवादको मन्त्र हो प्रत्येकबाट उसको क्षमता अनुसार, प्रत्येकलाई उसको योग्यता अनुसार । साम्यवादको मन्त्र हो प्रत्येकबाट उसको क्षमता अनुसार, प्रत्येकलाई उसको आवश्यकता अनुसार । यदि क्वान्टम कम्प्युटरमा प्रतिकृतिहरू सफल भए भने हाम्रो मन्त्र हुनेछ प्रत्येकलाई उसको इच्छा अनुसार । मेरो एउटा संकल्प छ म प्रतिनिधि सभाको सदस्य निर्वाचित भएपछि जाजरकोटमा राष्ट्रिय विज्ञान सम्मेलनको आयोजना गरिनेछ । विज्ञान प्रविधिमा लगानीलाई उच्च प्राथमिकतामा राखिनेछ । शिक्षण संस्थाहरूमा आजको मानव जातीले आर्जन गरेको सर्वोच्च ज्ञानलाई साझा गर्ने संयन्त्रको विकास गरिनेछ ।
७. सामाजिक समानतावादी क्रान्ति
मानव जातिले विगतमा असमानतावादी समाज व्यवस्थाहरूको क्रुरताहरू व्यहोरेको छ । दास युग, सती प्रथा र अछुत प्रणाली ती कलंकहरू हुन् जसको टिका मानव जातिले निधारमा लगाएको छ । रंगभेद, जातीय श्रेष्ठता, धनीहरूको हैकम र उपनिवेशहरू बर्बरताका थप परिचयहरू हुन् । यसको विपरित समानतावादी आन्दोलनको लहरले मानव जातिलाई सून्दर युगतर्फ डो¥याइरहेको छ ।

फ्रान्सेली क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम र गृहयुद्ध, रूसी समाजवादी क्रान्ति, चिनियाँ जनवादी क्रान्ति, भारतको उपनिवेश विरोधी स्वतन्त्रता आन्दोलन, हामी आफैले गरेको जनयुद्ध र जनआन्दोलनहरू समानतावादी आन्दोलनका उदाहरणहरू हुन् । समानतावादी आन्दोलनका तीन आयामहरू छन् न्याय, समानता र स्वतन्त्रता । हामीले निर्माण गरेको संघीय लोकतान्त्रीक गणतन्त्र तीनै तीन आयामहरूमा आधारित रहेकोे छ । अहिले भने हामी उपलब्धीहरूको रक्षा गर्दै पूर्ण समानतावादी आन्दोलनलाई जारी राख्नेछौँ ।

मानव जातीको कलंकको रूपमा रहेको अछुत प्रथाको पूर्ण अन्त्य, पृतिसत्तावादको स्थानमा महिला पुरूष समान अधिकारको व्यवस्था, सबै जातजातिहरूको न्यायपूर्ण सहभागिता, वर्गीय खाडल पुरिएको समाज निर्माण गर्नुछ । हामीले आजको जमाना अनुसार नविकृत र उत्तरदायी कर्मचारी संयन्त्र, साधन श्रोत, प्रविधि, ज्ञान र जिम्मेवारीले लैस पत्रकारीता, आजको प्रविधि, चेतना र तालिमले लैस सुरक्षा संयन्त्र विकास गर्नुपरेको छ ।

विश्व मानव जातिको इतिहासमा माक्र्सवादी वैज्ञानिक विचारले समानतावादी आन्दोलनमा अतुलनीय योगदान र मार्गनिर्देशन गरेको छ । जनयुद्ध, जनआन्दोलन र अन्य न्यायपूर्ण आन्दोलनमा शहादत प्राप्त गर्ने महान शहिद परिवारहरू, वेपत्ता योद्धा परिवारहरू, घाइते अपाङ्गता भएका योद्धाहरू र आन्दोलनमा अतुलनीय योगदान गरेकाहरूलाई विशेष सम्मान र समस्याहरू समाधान गर्न राज्यलाई जिम्मेवार बनाउनेछौँ ।
८. रोजगारीमा क्रान्ति
क) बेरोजगारी आजको एक विकराल समस्या हो ।
ख) हामीले आज काम र काम गर्ने सीप विकास गर्नुपरेको छ ।
ग) काम नपाएका युुवा र संसारभर कष्टसाध्य जीवन बाँच्न विवश मजदूरहरूलाई स्वदेशमै काम उपलब्ध गराउनुपरेको छ ।
घ) डिजिटल क्रान्तिले विश्वव्यापी रूपमा हाम्रो मानसिक र शारीरिक पेशाहरूलाई संकटमा धकेलिरहेको छ ।
कृषिको आधुनिकीकरण, औद्योगिकरण, पर्यटन उद्योग र सेवा क्षेत्रको विस्तराद्वारा रोजगारीका अवसर सृजना गर्नुछ । रोजगारीका सन्दर्भमा एउटा भनाईलाई मनन गर्नुपर्नेछ । मलाई माछा दिनुहोस् म एक दिनको लागि खानेछु, मलाई माछा मार्ने तरिका सिकाउनुहोस्, म सँधैभरी खानेछु ।
९. शिक्षामा क्रान्ति
क) प्रथम औद्योगिक क्रान्तिकालमा निर्माण गरिएको विश्व शिक्षा प्रणाली संक्रमणकालबाट गुज्रिरहेको छ ।
ख) श्रेणीबद्ध संरचनामा विभाजित गरिएको र बजारमा बिकाउ उद्देश्यले तयार पारिएको शिक्षा प्रणालीको स्थानमा साझा गरिएको ज्ञानमा आधारित र वर्गीय श्रेणीविहीन शिक्षा आजको वस्तुगत आवश्यकता बन्न गएको छ ।
ग) अरबाैं विद्यार्थीहरूलाई एउटै संयन्त्रमार्फत् पढाउन सकिने भौतिक वातावरण तयार भएको छ । पुराना ढुंगा र इट्टाले बनेका कक्षाकोठाको स्थान भर्चुअल कक्षाकोठाहरूले लिईरहेका छन् ।
घ) हामीले डिजिटल युगको शिक्षा दर्शन, सिद्धान्त र संरचना विकास गर्नुछ । भोलि रोबोर्टले शिक्षकहरूलाई विस्थापित गर्न सक्ने अवस्थाप्रति सजग हुँदै आजै तयारी गर्नुपरेको छ ।
१०. स्वास्थ्यमा क्रान्ति
क) मानव जातिले रोगका विरूद्ध दीर्घकालीन लडाईँ जारी राखेको छ । आज मान्छे हिजो भन्दा स्वस्थ र दीर्घायु भएको छ । बाल मृत्युदर र मातृ मृत्यु दरमा नाटकीय कमी आएको छ । हुन सक्छ आज मान्छेले रोगको उपचार गरिरहेको छ भोलि मृत्युको उपचार गरेर अमरत्व प्राप्त गर्नेछ ।

तत्काल जिल्लामा निर्माणाधिन पचास शैयाको अस्पताललाई सुविधा सम्पन्न र गुणस्तरीय बनाउने, सबै पालिकाहरूमा पन्ध्र शैयाको अस्पताल निर्माण गर्ने, स्वास्थ्य चौकीहरूलाई साधन श्रोत सम्पन्न बनाउने, प्राकृतिक उपचार पद्धतिलाई जनस्तरमा वृद्धि गर्ने, पौष्टिक आहारमा विशेष ध्यान दिने गर्नुपर्नेछ । सबै नागरिकको उपचारको जिम्मा राज्यले लिनुपर्नेछ र उपचारमा देखिएको चर्को वर्गीय खाडल पुर्नुपर्नेछ । अन्तर्राष्ट्रिय स्तरको उपचार हामीले देशभित्रै दिन पर्नेछ । भोलि रोबोर्टले डाक्टर र नर्सलाई विस्थापित गर्न सक्छ । आजै तयारी गराँै ।
११. पानीमा क्रान्ति
पृथ्वीमा पानी हुनु नै हाम्रो जीवनको आधार हो । पृथ्वी एक पानी ग्रह हो जहाँ सत्तरी प्रतिशत भाग पानीले ओगटेको छ । जुन पानीको अन्ठानब्बे प्रतिशत नुनिलो पानी छ पिउन योग्य छैन । पिउन, सरसफाई गर्न, घर बनाउन, खेतिपाती गर्न, वस्तुभाउ पाल्न, बिजुली निकाल्न, उद्योग चलाउन हामी पानी प्रयोग गर्दछौँ । यही पानीको संकटले पृथ्वीमा हाम्रो अस्तित्व संकटमा धकेलिदैछ । पानीको संरक्षण गर्नु हाम्रो अस्तित्वको पहिलो शर्त बन्न गएको छ ।
तत्काल एक घर एक धारा निर्माणको अभियानलाई तीव्रता दिइनेछ । सिंचाईलाई उच्च प्राथमितामा राखिनेछ ।
१२. आर्थिक क्रान्ति
माथि उल्लेखित क्रान्तिहरूकोे समग्रता नै आर्थिक क्रान्ति हो । जसको मूल उद्देश्य सबैको लागि मानवीय आश्यकताका वस्तुहरू प्रशस्त उपलब्ध गराउनु हो । हामीले कृषि, उद्योग र पर्यटनलाई आधार र सडक, बिजुली र सञ्चारलाई पूर्वाधार मानेर अर्थतन्त्रको विकास गर्नुपरेको छ । दुःखद् कुरा धनी र गरिबका विचमा अकल्पनीय गहिरो खाडल छ । भनिन्छ यो पृथ्वीका सबैभन्दा धनाढ्य आठ जनासँग जति सम्पति छ चार अर्ब मान्छेहरूसँग त्यति नै सम्पति छ । तीनै धनीहरू हुन् धनको लालसाले यो पृथ्वीलाई मान्छे बस्नै नमिल्ने ग्रह बनाउने ।

वातावरण विनासको केन्द्रमा तिनै छन् । हाम्रो घर पृथ्वी हामी सबैको लागि बस्न योग्य बनाउनुछ । नयाँ समाजवाद जुन विगतका असफल अनुभवबाट मुक्त होओस्, बढी सहभागितामूलक, लोकतान्त्रिक, समावेशी, समानुपातिक, संघीय र गणतन्त्रामक होस् । त्यस्तो समाजवाद नेताहरूको आदेश र प्रतिबद्धताले मात्रै स्थापित हुँदैन, सबै मतदाताको सक्रिय सहभागिता चाहिन्छ । आउनुहोस् एक्काइसौँ शताब्दीको नयाँ समाजवाद निर्माणको लागि हातेमालो गराँै ।

मंसिर चार गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार प्रतिनिधि सभातर्फ गोलाकार भित्रको ह“सिया हथौडामा शक्ति बस्नेतलाई र प्रदेश सभा (क) मा बेदराज सिंह र (ख) मा राजीव विक्रम शाहलाई रूख चिन्हमा मतदान गर्न र प्रतिनिधि सभामा मेरो उपस्थितिलाई मन पराउनुहुने सबैलाई समानुपातिक तर्फ गोलाकार भित्रको ह“सिया हथौडामा मतदान गरी अमूल्य योगदान गरिदिनुहुन विनम्र अपिल गर्दछु । तपाईको मतप्रति सदैव उत्तरदायी र नतमस्तक भइरहनेछु ।

रामदिप आचार्य

प्रतिनिधि सभा समानुपातिक उम्मेदवार : जाजरकोट