२३ भाद्र २०८१, आईतवार

काठमाडौं महानगरका मेयर बालेनले भने: हामी हाम्रो ठाउँ र नगरप्रति बफादार बनौँ

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले स्थानीय तहमा जनप्रतिनिधि आफ्नो ठाउँ तथा नगर र पालिका प्रति इमान्दार र बफादार बन्नुपर्ने बताएका छन् । जुनसुकै कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उनको भनाइ छ ।

काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालन सम्बन्धि छलफल कार्यक्रममा सहभागी मेयर साहले इमान्दारीताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिएका छन् ।

मेयर साहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई कम हुने बताए ।

समाजमा जघन्य अपराधका घटना बढेको भन्दै उनले स्थानीय स्तरबाटै जघन्य घटनाका मुद्दाको मेलमिलाप गर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन हुँदैन । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाहरुले बाधा अवरोध पुर्‍याउने गरेको पाइएको छ । त्यसतर्फ सबै सचेत हुनुपर्छ ।’

मेयर साहले नेपालमा विगतदेखिनै ठूला घटना मेलमिलापमै समाधान हुने र साना विषय मात्र अदालत पुग्ने र ती पनि विभिन्न बहानामा ५/१० वर्ष अल्झने गर्दा पीडितले न्याय नपाएको बताए ।

उनले आफैँ इमान्दार नभएसम्म केही सुधार गर्न नसक्ने भएकाले इमान्दारिताका साथ काम गर्न आग्रह गरेका छन् ।