११ श्रावण २०८१, शनिबार

गिरफ्तारी परेका कार्यकर्तालाई रिहा गर्न वैद्य माओवादीको माग

 काठमाडौँ-  चुनाव वहिस्कार अभियान खटिएका कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै मोहन वैद्य निकट नेकपा (क्रान्तिकारी माओवादी)ले आपत्ति जनाएको छ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको वहिस्कारको माग गर्दै पर्चासहित खटिएका कार्यकर्तालाई पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ। माओवादीले विज्ञप्तीमार्फत आउँदो निर्वाचन ‘प्रतिक्रिया शक्तिद्वारा मञ्चन गरिएको नाटक’ भएको आरोप लगाएको छ।

माओवादीका ३ नंं. प्रदेश समितिका सेक्रेटरी प्रवेशको हस्ताक्षरित विज्ञप्तीमा पार्टीका केन्द्रीय सल्लाहकार गोर्की श्रेष्ठ, प्रदेश सल्लाहकार ज्ञानेन्द्र प्रजापति, जिल्ला सदस्यहरू गोपाल कार्की, बद्रीहरि नेपाल र वेदराज दियालीलाई टोखा नगरपालिकास्थित वसुन्धराबाट पक्राउ गरेको हो।

पार्टीले विज्ञप्तीमा चुनाव बहिष्कार तथा सहभागी हुने अधिकार लोकतन्त्रमा रहेको भन्दै वर्तमान सरकारले कुण्ठित गर्न खोजेको आरोप लगाएको छ। पार्टीले कार्यकर्तामाथि आक्रमण गर्ने प्रहरीलाई कारवाही गर्न र घाइते कार्यकर्ता बेदराज दियालीको तुरुन्त उपचार गर्न माग गरेको छ।