२५ आश्विन २०८१, शुक्रबार

स्वतन्त्र भयो कि पिंजडामा कैद छ ? ट्विटरकाे निलाे चरा !

                 विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटरको निलो चरालाई ४४ अर्ब डलरमा खरिद गरेका छन् । उक्त चरालाई स्वतन्त्रता प्रदान गर्नका लागि आफूले खरिद गरेको मस्कको जिकिर छ । तर अहम् प्रश्न यो छ कि मस्कको स्वामित्वमा आएपछि ट्वीटर वास्तवमा स्वतन्त्र भयो कि एकजना व्यक्तिको पिंजडामा कैद भयो ? अर्को सवाल चाहिँ के एलन मस्कले ट्वीटरका माध्यमबाट संसारलाई बदल्न सक्लान् ?

ट्वीटर सम्झौताको पूरा कहानी

यी प्रश्नहरुको जवाफ जान्नका लागि सबैभन्दा पहिले एलन मस्कको ट्वीटर खरिद सम्झौतालाई विस्तृत रुपमा जान्नु आवश्यक हुन्छ । यसको सुरुवात गत अप्रिल महिनामा भएको थियो जब मस्कले पहिलो पटक ट्वीटर खरिद गर्न चाहेको घोषणा गरे।

त्यसका लागि उनले ट्वीटरका अन्य शेयर होल्डरहरुलाई एक अफर दिएका थिए । र, त्यो अफर निकै सरल थियो । एलन मस्कको चाहना चाहीँ ट्वीटरका सबै शेयर सदस्यहरुले उनीहरुसँग भएको कम्पनीको शेयर आफूलाई बेचून् र आफू कम्पनीको एकल मालिक बनूँ भन्ने थियो । यस प्रकार गत अक्टोबर २३ सम्म ट्वीटरमा पाँचजना ठूला शेयर सदस्य थिए र त्यसमध्ये एलन मस्कसँग कम्पनीको ९.२ प्रतिशत शेयर हिस्सेदारी थियो ।

त्यस्तै अमेरिकाको चर्चित लगानी व्यवस्थापन कम्पनी भानगार्ड ग्रुपसँग १०.३ प्रतिशत, अमेरिकाकै लगानी बैंकिंग कम्पनी मोर्गान स्टेनलेसँग ८.४ प्रतिशत, ब्लाकरकसँग ६.५ प्रतिशत तथा साउदी अरबका राजकुमार अल वलीद बिन तलालसँग ५.२ प्रतिशतको हिस्सेदारी थियो ।

कम्पनीको दोश्रो ठूलो शेयरधनी रहेका मस्क चाहीँ यी सबै शेयरधनीसँग रहेको शेयर खरिद गरी आफू ट्वीटरको एकल मालिक बन्न चाहन्थे । यसका लागि उनले कम्पनीलाई एउटा शानदार अफर दिए, र कूल ४४ अर्ब डलर अर्थात् करीब ५८ खर्ब रुपैयाँमा ट्वीटरको सबै शेयर खरिद गर्ने प्रस्ताव गरे ।

मस्कको उक्त प्रस्ताव ट्वीटर कम्पनीको बोर्डले पनि स्वीकार गर्‍यो । तर जब खरिद बिक्री कार्यले अन्तिम रुप पाउने अपेक्षा गरिएकै बेला गत जुलाई महिनामा एलन मस्कले एकाएक मन बदले । ट्वीटरले आफ्नो प्लाटफर्ममा रहेका फेक तथा बोट अकाउन्टहरुको वास्तविक तथ्यांक लुकाएको आरोप लगाउँदै उनले ट्वीटर खरिदको सम्झौता एकतर्फी रुपमा भंग गरेको घोषणा गरे ।
तर त्यसपछि ट्वीटरले एलन मस्क विरुद्ध करारका शर्तहरुको उल्लंघन गरेको आरोप लगायो र यो मुद्दा अमेरिकाको एक अदालतमा पुग्यो । अदालतले एलन मस्कलाई २८ अक्टोबरसम्म ट्वीटर खरिदको प्रक्रिया पूरा नगरेमा अदालती कारवाही भोग्नुपर्ने गरी समयसीमा सहितको आदेश दियो ।

र, अन्ततः हुन्न हुन्न भन्दाभन्दै पनि मस्कले सोही मितिमै ट्वीटर कम्पनी खरिद गरे । उनले अप्रिल महिनामा गरेको प्रस्तावको रकम अनुसार नै उक्त सम्झौता भयो र मस्क ४४ अर्ब डलर तिरेर ट्वीटरको एकल मालिक बने ।

घाटामा चलिरहेको चरा कसरी स्वतन्त्र होला ?

ट्वीटर कम्पनीको एकल स्वामित्व लिएसँगै मस्कले विभिन्न निर्णयहरु गरेका छन् । उनले एक ट्वीट मार्फत् ट्वीटरको चरा स्वतन्त्र भएको उल्लेख गरेका छन् । तर के वास्तवमा उनले दाबी गरेजस्तो हो त ?

वास्तवमा यो सम्झौतालाई लिएर विश्वका ठूला ठूला कम्पनी तथा उद्योगपतिहरुको सुरुवाती प्रतिक्रिया सकारात्मक छैन । किनकी ट्वीटर यस्तो कम्पनी हो जुन पछिल्ला केही वर्षदेखि लगातार घाटामा चलिरहेको छ । सन् २०१० देखि २०२१ को बीचको अवधिमा ट्वीटर कम्पनी केवल २ वर्ष मात्र नाफामा छ र बाँकी ९ वर्ष यसले जबरजस्त घाटा बेहोरेको छ ।

सन् २०२१ मा ट्वीटरले करीब २९ अर्ब र सन् २०२० मा ३२ अर्ब रुपैयाँभन्दा धेरै घाटा व्यहोरेको छ । यो सबै तथ्यलाई दृष्टिगत गर्दा सबैको मनमा उठ्ने स्वभाविक प्रश्न यो हो कि आखिर सुरुवातदेखि नै घाटामा चलिरहेको कम्पनीलाई मस्कले किन अर्बौँ डलरमा खरिद गरे ? आखिर ट्वीटरमा त्यस्तो के चिज छ, जसका कारण मस्कले ट्वीटर कम्पनीको घाटा देखेनन् ।

आफूले मानवतालाई सबैभन्दा धेरै प्रेम गर्ने भन्दै उनले ट्वीटरलाई आगामी पुस्ताका लागि साझा डिजिटल प्लाटफर्मको रुपमा विकास गर्ने र त्यहाँ फरक फरक विचारधाराका मानिसहरु हिंसा तथा घृणा बिना एक अर्कासँग आफ्ना विचारहरु आदानप्रदान गर्ने उनको चाहना छ ।

ट्वीटर प्रयोग गर्ने मानिसहरुलाई यस प्लाटफर्ममा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्ने प्रतिबद्धता उनको छ । मानिसहरुले ट्वीटरका माध्यमबाट आफ्नो विचार तथा कुराहरु दुनियाभर पूराउन सकून् भनेर आफूले घाटामै रहेको कम्पनी पनि मोटो रकममा खरिद गरेको उनको जिकिर रहेको छ । तर के मस्कको ट्वीटर खरिद सम्झोताका पछाडि केवल मानता वा अभिव्यक्तिको स्वतन्त्रता मात्रै छ त ? यस्तो नितान्त होइन ।

मस्कले बुझेको ट्वीटरको त्यो शक्ति

वास्तवमा एलन मस्कले घाटामा हुनुका बाबजुत ट्वीटर खरिद गर्नुको खास कारण वर्तमान युगमा ट्वीटरमा भएको शक्तिको पहिचान गर्नु हो । उनलाई थाहा छ कि आजको इन्टरनेटको युगमा एउटा बमले पनि गर्न नसक्ने काम एक ट्वीटले गर्न सक्दछ । अर्थात् एलन मस्कले ट्वीटरको क्षमता बुझेका छन् कि यदि ट्वीटर उनको हातमा आयो भने संसारका ठूला ठूला प्रभावशाली तथा ट्वीटरका निलो चिह्नधारी व्यक्तित्वहरुलाई उनले सजिलै प्रभावित पार्न सक्दछन् ।

वास्तवमा उनी ट्वीटरको सफ्ट पावरको उपयोग गर्न चाहन्छन् । ट्वीटर संसारको एकमात्र यस्तो सोसल मिडिया प्लाटफर्म हो जसले विश्वको एक ठूलो हिस्साको विचारधारालाई प्रभावित गर्ने क्षमता राख्दछ । विश्वमा ट्वीटरका कूल प्रयोगकर्ताको संख्या ३३ करोड छ, जुन अमेरिकाको जनसंख्याको बराबर हो ।अर्थात् यदि अहिले ट्वीटर नामको कुनै देश हुन्थ्यो भने त्यसको जनसंख्या अमेरिकाको जत्ति हुन्थ्यो ।

देशगत रुपमा प्रयोगकर्ताको संख्या हेर्दा अमेरिकामा ट्वीटर प्रयोगकर्ता सबैभन्दा धेरै साढे ७ करोड छन् । त्यस्तै जापानमा ५ करोड ९० लाख, भारतमा २ करोड ३६ लाख, ब्राजिलमा १ करोड ९० लाख तथा इण्डोनेसियामा १ करोड ८० लाख छन् ।

यद्यपि फेसबुकको तुलनामा ट्वीटर निकै सानो प्लाटफर्म हो । किनकी विश्वमा फेसबुकका कूल प्रयोगकर्ताको संख्या २ अर्ब ९२ करोड छ । तर अहम् तथ्य के हो भने ट्वीटरको विश्वव्यापी प्रभाव यसको व्यापारको आकार तथा प्रयोगकर्ताको संख्या भन्दा निकै ठूलो छ ।

ट्वीटर प्लाटर्फमले मानिसहरुलाई एउटा यस्तो मञ्च दिन्छ जहाँ समाचारहरु ब्रेक हुन्छन् र अवधारणाहरु पनि निर्माण हुन्छन् । यसले ट्वीटरलाई एक शक्तिशाली हतियारको रुपमा स्थापित गरेको छ ।

ट्वीटर खरिद गरेसँगै अहिले एलन मस्कको हातमा संसारका करोडौँ मानिसको व्यक्तिगत डाटा पुगेको छ, जसमा सेलिब्रेटी देखि लिएर संसारका प्रभावशाली व्यक्तिहरु पनि छन् । अर्थात् अब यदि एलन मस्कले चाहने हो भने उनले विश्वका कुनैपनि देशको सरकार तथा त्यहाँको समाजमा आफ्नो नीतिको हिसाबले प्रभाव पार्न सक्दछन् । यद्यपि उनले यसो गर्दैछन् भन्न खोजिएको होइन । तर उनीसँग यो सामर्थ्य अवश्य पनि प्राप्त भएको छ ।

संसारमा विचारधाराको निर्माण गर्ने ट्वीटर:

ट्वीटरको सफ्ट पावरको आँकलन यस तथ्यबाट पनि लगाउन सकिन्छ कि आज संसारका सबैभन्दा प्रभावशाली १ हजार मानिसहरुमध्ये ९ सय भन्दा धेरै व्यक्तित्वहरु यो प्लाटफर्ममा उपस्थित छन् । अझै सबैभन्दा महत्वपूर्ण त के भने आजकल ट्वीटरमा दिनभर कुनै न कुनै मुद्दा वा समाचार ट्रेन्डिङ भैरहेको हुन्छ । यस्ता ट्रेन्डमा कहिलेकाहीँ त गलत अवधारणा वा समाचारहरु पनि हुने गर्दछन्, जसलाई पहिचान गर्न मुस्किल हुन्छ ।

ट्वीटरका एकजना पूर्व कर्मचारीले कुनैबेला भनेका थिए कि ट्वीटरले विचार सिर्जना गर्ने होइन कथा निर्माण र फैलाउने काम गर्दछ । र, त्यस्तो कथा अर्थात् न्यारेटिभ कहिलेकाहीँ यस्तो शक्तिशाली हुन्छ कि यसबाट संसारका शक्तिशाली सरकारहरु पनि दबाबमा आउँदछन् अनि यस विषयमा विभिन्न अन्तराष्ट्रिय विवाद पनि खडा हुन्छन् ।
एजेन्सीको सहयोगमा