११ श्रावण २०८१, शनिबार

एम्सको सदस्यता नेपालगन्ज म्याराथनलाई

१३ कात्तिक, काठमाडौं । नेपालगञ्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को सदस्यता प्राप्त गरेको छ ।

विश्वका आधिकारिक म्याराथन आयोजकहरुको सर्वोच्च साझा संस्था एम्समा नेपालगञ्ज म्याराथनले सदस्यता पाएको म्याराथन आयोजकले विज्ञप्तिमार्फत जनाएको छ ।

गत महिना मात्र एम्सबाट नेपालगञ्ज म्याराथनको रुट प्रमाणीकरण भएको थियो । नेपालगञ्ज म्याराथनअन्तर्गत ४२.१९५ किमी, २१.०९७५ किमी, १० किमी र ५ किमी गरी चार वटा दूरीको अलगअलग प्रमाणपत्र रहेको पनि आयोजकले जनाएको छ ।

सदस्यता प्राप्त गर्न सफल भएकोमा नेपालगञ्ज म्याराथन आयोजकलाई एम्स प्रेसिडेन्ट पाका बोराओले स्वागत गरेका छन् । उनले नेपालगञ्ज म्याराथन पूर्ण सफलताको कामना गरेका छन् ।

‘म तपाईं र तपाईंको टिमलाई तपाईको रेशको पुर्ण सफलताको कामना गर्दछु’, पाका बोराओले नेपालगञ्ज म्यारथनका अध्यक्ष ठकुरीलाई पत्र लेखेका छन्, ‘तपाईहरुको यात्रामा हाम्रो एसोसियसन एक महत्वपूर्ण योगदानकर्ता हुनेछ ।’

वर्ल्ड एथ्लेटिक्स अन्तर्गत म्याराथनको नियमनकारी निकाय एम्समा ११५ देशका ४५३ रेश आयोजक सदस्य छन् ।

नेपालगञ्ज म्याराथन आयोजना एवं स्तरीयता सम्बन्धी आवश्यक कागजातसहित सम्पुर्ण प्रक्रिया पुरा गरेपछि एम्सले सदस्यता दिने निर्णय गरेको हो । यससँगै नेपालगञ्ज म्याराथन विश्वव्यापी सञ्जालभित्र प्रवेश गरेको छ ।

अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालगञ्ज म्याराथनको बजारीकरण एवं प्रवर्द्धन गर्न एम्सले सघाउने नेपालन्ज म्याराथनका संस्थापक/अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

नेपालगञ्ज म्याराथन आगामी दिनमा नेपाल घुम्न आउने विदेशी पर्यटक तथा अन्तर्राष्ट्रिय म्याराथनमा भाग लिन जाने नेपाली धावकका लागि प्रवेशद्वार बन्न सक्ने अध्यक्ष ठकुरीले बताए ।

नेपाल सरकार र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शानिबार हुँदै आएको धारा नेपालगञ्ज म्याराथन यस वर्ष मंसिर २४ गते शनिबार हुनेछ । पुरुष म्याराथन, महिला हाफ म्याराथन लगायत विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।