११ श्रावण २०८१, शनिबार

केकी अधिकारी र राजदूत नोनाले शुभारम्भ गरे नेपाल-ईयू फिल्म फेस्टिभल

१३ कार्तिक   काठमाडौं । नेपाल युरोपेली युनियन फिल्म फेस्टिभलको ११ औँ संस्करण काठमाडौंमा सुरु भएको छ । युरोपेली युनियनकी राजदूत नोना डेप्रेज र अभिनेत्री केकी अधिकारीले फेस्टिभल शुभारम्भ गरे ।

चलचित्र विकास बोर्डमा आयोजित समारोहमा राजदूत डेप्रेजले मन्तव्य राख्दै फेस्टिभल समुद्घाटन गरिन् । फेस्टिभल संस्कृति आदानप्रदानका लागि उपयुक्त माध्यम भएको बताउँदै उनले यहाँ देखाइने फिल्मले युरोपलाई बुझ्ने अवसर प्रदान गर्ने बताइन् ।

यसपटकको महोत्सव हाइब्रिड मोडलमा सञ्चालन हुने जानकारी गराउँदै उनले दर्शकले बोर्डको हल र अनलाइनमा पनि हेर्न सक्ने जानकारी दिइन् । राजदूत नोनाले पहिलोपल्ट काठमाडौँबाहिर सुर्खेतमा पनि गर्न लागिएको जानकारी गराएकी थिइन् ।

फेस्टिभलकी सद्भावना दूत रहेकी अभिनेत्री केकी अधिकारीले दसैँ र तिहार सकिएपछि फिल्म महोत्सवको रुपमा सिर्जनाको पर्व सुरु भएको धारणा राखेकी थिइन् । केकीले युरोपियन फिल्म महोत्सवले फिल्मकर्मीमा शिल्प निर्माणको अवसर प्रदान गर्नुका साथै दर्शकमा सिनेमा साक्षरता वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

राजदुत नाेना डेप्रेज

उद्घाटनसँगै १ घन्टा समयावधिको रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’ शीर्षकको फिल्म देखाइएको थियो । डकुमेन्ट्री श्रेणीको फिल्ममा ब्रसेल्सको मोलेनबिक क्षेत्रमा हुर्किरहेका बच्चाहरूको आँखाबाट त्यो क्षेत्रमा बसोबास गरिरहेका मुसलमान समुदायको संकटलाई देखाइएको थियो । ब्रसेल्सको सो ठाउँलाई जिहादी उत्पादन गर्ने कारखानाको रुपमा लिने गरिएको कथा फिल्मले प्रस्तुत गरेको छ ।