१० असार २०८१, सोमबार

ब्युँझ, अब त ब्युँझ

लेखक : अग्निराज पाैडेल ( अराप )

उद्देश्य देखिएन पटके निर्वाचनको
बदलिएन अनुहार सत्ता र सिंहासनको
कुनै परिवर्तन ल्याउँदैन निर्वाचनले
विद्रोह गर्नैपर्छ भोका–नाङ्गाहरूले
रक्तरञ्जित परिवर्तन माग्दैछ
फेरि एकपटक समयले ।

ब्युँझ, अब त ब्युँझ
कवि, कलाकार, गुरु, विद्यार्थी ब्युँझ
मजदुर, किसान, हरुवा, चरुवा ब्युँझ
पद, पैसा र शक्तिका अगाडि
झुक्न, बिक्न, लम्पसार पर्न होइन
दुर्जनलाई सज्जन देखाउन पनि होइन
गरिब, दुःखीको सारथि हुन ब्युँझ
अझ सशक्त क्रान्तिको ज्वाला दन्काउन ब्युँझ

ब्युँझ, अब ब्युँझ कलमका पण्डित ब्युँझ
सूदखोरको तमसुक लेख्ने
मतियार मात्र होइन कलम
कलम शब्दको दीपशिखा हो
उज्यालो फैलाउने अग्निज्वाला हो
कलमले आगो ओकल्न सक्नुपर्छ
भ्रष्टलाई भ्रष्ट नै लेख्न सक्नुपर्छ
जति लेख्यौ, अपूरो भो
अब पूरा लेख
विद्रोही बन्दुकको कानुन लेख
गाउँगाउँमा दन्किएको आगोको आवाज लेख
छातीमा दागिएको गोलीको चित्कार लेख
छरपस्ट मृत्युको इतिहास लेख ।

बदनामीसँग साटिएको छ
परिवर्तनपछिको अग्रगमन
बीच सडकमा छरपस्ट
सहिदका रगत र अग्रजका आँसु
चौबाटोमा लिलाम गरिँदैछ
परिवर्तनका नायकहरू नै
खलनायकजस्ता देखिएका छन्
गरिब र निमुखाको मुक्ति–सपना पन्छाएर
भरोसाका मालीहरू बगैँचा तहसनहस पारेर
तल्लीन छन् साँचो र कन्तुर लुकाउन ।

जबसम्म निमुखा डरले मौन रहन्छन्
थुनिन्छ बाकसमा मेहनतको पसिना
गरिब मरिरहन्छ सडकको किनारमा
चौबाटोमा गुन्जिरहन्छ त्रासद चित्कार
लागिरहन्छ जताततै आलो लासको हाटबजार
अस्तव्यस्त समाज
असफलताको गोरेटोमा लम्किँदै गरेको राष्ट्र
बीच सडकमा छरपस्ट
सहिदको रगत र अग्रजको आँसु

आफ्नै समाज र राष्ट्रको दुर्गति देखेर
सहिद पनि आफैँलाई धिक्कार्दा हुन्
एकान्तमा तप्प आँसु झार्दा हुन्
लुट र भ्रष्टाचारीहरूको साम्राज्यमा
सबै निर्धक्क निदाएको देखेर ।

ब्युँझ, युवा अब त ब्युँझ
तिम्रो बैँस पनि लिलाम हुँदैछ
इतिहासको पानामा बदनाम हुँदैछ
आफ्नै रगतले इतिहास लेख्न ब्युँझ
बारुद पड्किएको आवाज लेख
अन्धकारमा मसालको प्रकाश लेख
बीचैमा क्रान्ति नरोकिने अठोट लेख
सम्झौताको बर्काे नओढ्ने प्रतिज्ञा लेख
अशान्ति फैलाएको आरोप लाग्न सक्छ
अपराधीको बिल्ला टाँसिन सक्छ छातीमा
भ्रष्ट र राष्ट्रघातीको मृत्यु–सन्देश लेख्न
राँगे खोर्सानी भएर ब्युँझ
दुई–चार कुलङ्गार मारिएर के भो ?
लूट सम्राज्यको पिरामिड हल्लाउन
भ्रष्ट र राष्ट्रघातीको हत्यारा
आफैँ भएको समाचार लेख्न ब्युँझ ।

कुन नैतिकताले चलेको छ सरकार
पटके निर्वाचनको नाटक मञ्चन गर्दै
हत्यारा, भ्रष्ट, दलाल र राष्ट्रघातीहरूको
भीड जम्मा गरेर
मानव–बधशाला चलाइरहेको छ
आफ्नो दलाल सत्ता जोगाउन
यस्तो लाग्छ– संसद् संसद् होइन
मधुशालाले भरिएको दरबार हो
छुट्ट्याउन सकिएन सांसद सांसद हुन् कि
यन्त्रमानवजस्तै देखिने बुख्याँचा मात्र हुन्
त्यसैले
ब्युँझ, अब त ब्युँझ
कवि, कलाकार, गुरु, विद्यार्थी ब्युँझ
मजदुर, किसान, हरुवा, चरुवा ब्युँझ
रक्तरञ्जित परिवर्तन माग्दैछ समयले
फेरि विद्रोह गर्नैपर्छ भोका र नाङ्गाहरूले
राम्रो उद्देश्य देखिएन पटके निर्वाचनको
बदलिएन अनुहार सत्ता र सिंहासनको
बदल्नु छ अनुहार सत्ता र सिंहासनको